गुगल फोटोजले अब फोटो एआईद्वारा सिर्जना गरिएको हो वा होइन भनेर बताउने

Technology Khabar २ भाद्र २०८२, सोमबार

काठमाडौं ।

गुगल फोटोजले चाँडै नै आर्टिफिसियल इन्टेलिजेन्स टुल्स प्रयोग गरेर फोटो वा भिडियो परिवर्तन गरिएको छ कि छैन भनेर हेर्न सजिलो बनाउने भएको छ।

एप्लिकेसनको कोडको विश्लेषणको सन्दर्भहरू मार्फत पत्ता लागेको र सार्वजनिक नगरिएको यो सुविधाले फोटो वा भिडियो वास्तविक हो वा डीपफेक हो भनेर राम्ररी पहिचान गर्न नसक्ने समस्यालाई कम गर्ने प्रयास गर्नेछ भनि विदेशी मिडियाले उल्लेख गरेको छ।

यो खोज एप्लिकेसनको ७.४१ संस्करणमा पत्ता लागेको र कोडले “थ्रीपियो” भनिने सुविधालाई जनाउने उल्लेख गरिएको छ। तर यो विचार गुगलको लागि पूर्ण रूपमा नयाँ नभएको टेलीग्राफले रिपोर्ट गरेको छ।

कम्पनीले यस अघि सिन्थआईडी विकास गरिसकेको छ जुन एक डिपमाइन्ड परियोजना हो र जसले अदृश्य रूपमा एआई–उत्पन्न तस्बिरहरू पत्ता लाउने बताइएको छ।

यस नयाँ सुविधामा सिन्थआईडी प्रयोग भइरहेको छ कि छैन भने बारेमा कुनै स्पष्ट जानकारी उपलब्ध नभएको उल्लेख गरिएको छ। यद्यपि दुवै सुविधाहरूले मानिसहरूलाई भिजुअल कन्टेण्टको उत्पत्तिको बारेमा थप सन्दर्भ दिने लक्ष्य राखेको रिपोर्ट गरिएको छ।

प्रकाशित: २ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया