टर्कीको भूकम्पमा आफ्नो पूर्वसूचना प्रणालीमार्फत् १ करोड सर्वसाधारणलाई सूचित गर्न नसकिएको गुगलद्वारा स्वीकार

Technology Khabar १२ श्रावण २०८२, सोमबार

काठमाडौं ।

गुगलले सन् २०२३ मा टर्कीमा गएको विनाशकारी भूकम्पका बेला आफ्ना भूकम्प पूर्वसूचना प्रणालीले प्रभावकारी रूपमा चेतावनी दिन नसकेको स्वीकार गरेको छ।

भूकम्पको केन्द्रविन्दुबाट १५८ किलोमिटरभित्र रहेका १ करोड मानिसलाई गुगलले सबैभन्दा उच्च तहको चेतावनी पठाउन सक्ने अवस्था थियो – जसले उनीहरूलाई सुरक्षा खोज्न करिब ३५ सेकेन्डको समय दिन सक्थ्यो।

तर पहिलो ७.८ म्याग्निच्युडको भूकम्पका लागि मात्र ४६९ वटा “टेक एक्शन” नामक गम्भीर चेतावनीहरू पठाइयो। गुगलले बीबीसीलाई दिएको जानकारी अनुसार झन्डै ५ लाख मानिसलाई “हल्का कम्पनको सम्भावना” भन्दै कम प्राथमिकताको चेतावनी पठाइएको थियो, जुन प्रयोगकर्ताको मोबाइलमा स्पष्ट रूपमा देखिने गरी नआउने किसिमको हो।

यसअघि गुगलले बीबीसीलाई प्रणालीले “राम्रो काम गरेको” दावी गरेको थियो। यो प्रणाली एन्ड्रोइड उपकरणहरूमा आधारित छ, जुन टर्कीमा प्रयोग भइरहेका ७० प्रतिशत भन्दा धेरै मोबाइल फोनमा छ।

२०२३ फेब्रुअरी ६ मा दक्षिणपूर्व टर्कीमा दुईवटा ठूलो भूकम्प जाँदा ५५ हजारभन्दा धेरैको मृत्यु भएको थियो र एक लाखभन्दा धेरै घाइते भएका थिए। धेरै मानिसहरू निदाइरहेका बेला भवनहरू भत्किएर उनीहरू मुनि च्यापिएका थिए।

गुगलको पूर्वसूचना प्रणाली त्यो दिन पनि सक्रिय थियो तर प्रणालीले भूकम्पको तीव्रता कम आँक्यो। “प्रत्येक भूकम्पबाट केही सिक्दै प्रणाली सुधार गरिरहेकै छौं”, गुगलका एक प्रवक्ताले भने।

यसले कसरी काम गर्छ?

गुगलको प्रणालीको नाम एन्ड्रोइड अर्थक्वेक अलर्ट्स (एईए) हो। यसले एन्ड्रोइड अपरेटिङ सिस्टम भएका मोबाइल फोनहरूको कम्पनबाट भूकम्पको संकेत पत्ता लगाउँछ।

भूकम्पको कम्पन जमिनमा केही ढिलो गतिमा फैलिने भएकाले, प्रणालीले तुरुन्तै चेतावनी पठाउन सक्छ। गुगलको सबैभन्दा गम्भीर चेतावनी “टेक एक्शन एक्शन” हो – जसले प्रयोगकर्ताको फोनमा ठूलो आवाजमा अलार्म बजाउँछ, ‘डु नट डिस्टर्ब’ मोडमा भए पनि चेतावनी देखिन्छ, र पूरै स्क्रिन ओगट्छ।

यो चेतावनी गम्भीर कम्पन आउँदैछ भन्ने पत्ता लागेपछि मात्र पठाइन्छ, र यसले मानव जीवनमा खतरा हुन सक्ने सम्भावनालाई संकेत गर्छ। यस प्रणालीमा अर्को कम गम्भीर चेतावनी “बी अवेर” पनि छ, जुन हल्का कम्पनको जानकारी दिनका लागि मात्र हो – यो चेतावनीले फोनको ‘डु नट डिस्टर्ब’ मोडलाई ओभरराइड गर्दैन।

टर्कीमा पहिलो भूकम्प बिहान ४:१७ मा गएको थियो, जब धेरै मानिस निदाइरहेका थिए, त्यसकारण टेक एक्शन चेतावनी अत्यन्तै महत्त्वपूर्ण हुने थियो। तर गम्भीर चेतावनी आउने सम्भावित क्षेत्रका कसैले पनि त्यो चेतावनी प्राप्त गरेको भेटिएन।

प्रकाशित: १२ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया