काठमाडौं ।
गुगलले भारतमा गुगल स्टोर सुरु गर्ने घोषणा गरेको छ। भारतमा अहिलेसम्म गुगलका उत्पादनहरूमा विशेष गरी स्मार्टफोनहरू अनलाइन रिटेलर फ्लिपकार्ट र क्रोमा, विजय सेल्स र रिलायन्स लगायतका साझेदार अफलाइन रिटेल आउटलेटहरू मार्फत मात्र बिक्री हुँदै आएका छन्। गुगलले बिहीबारदेखि भारतमा आफ्नो अनलाइन स्टोरबाट उत्पादनहरू प्रत्यक्ष रूपमा खरिद गर्न सकिने घोषणा गरेको छ।
गुगल स्टोरबाट गुगल उत्पादनहरू खरिद गर्ने फाइदाहरूमा नो–कस्ट ईएमआई विकल्पहरू, इन्स्ट्याण्ट क्यासब्याक, डिभाइस एक्सचेन्ज बोनस, यूपीआई पेमेण्ट विकल्प, गुगल स्टोर छुट र गुगल स्टोर क्रेडिटहरू समावेश छन् (केही अफरहरू सन् २०२५ को जुन ३० तारिखमा समाप्त हुन्छन्)।
गुगल स्टोर मार्फत खरिद गरिएका उत्पादनहरूमा पिक्सेल प्राइस प्रमिस (मूल्य प्रतिज्ञा) पनि उपलब्ध हुने बताइएको छ। गुगलले आफ्ना ग्राहकहरूका लागि “प्रत्येक डिभाइस १०० प्रतिशत अथेन्टिक” र “यदि तपाईंले फिर्ता अवधि भित्र चयन गरिएको खुद्रा साझेदार वा गुगल स्टोरमा राम्रो मूल्य फेला पार्नुभयो भने, तपाईं कम मूल्यसँग मेल खाने पिक्सेल प्राइस प्रमिस (मूल्य प्रतिज्ञा) बाट आंशिक फिर्ताको लागि योग्य हुन सक्नुहुन्छ” भन्ने अफर पनि उपलब्ध गराएको छ।
यस बाहेक, गुगल स्टोरबाट उत्पादनहरू खरिद गर्ने ग्राहकहरूले पिक्सेल–प्रशिक्षित विशेषज्ञहरूबाट २४/७ समर्थन र भारतमा आधिकारिक वारेन्टीहरू र अधिकृत मर्मत केन्द्रहरू मार्फत कभरेज प्राप्त गर्नेछन्। केही केन्द्रहरूले सोही दिनमा सेवा प्रदान गर्ने उल्लेख गरिएको छ।
गुगलले आफ्नो आधिकारिक ब्लगमा ग्राहकहरूले मर्मत अनुरोधहरू सुरु गर्न र वेबसाइटबाट सिधै फ्रि डोरस्टेप पिकअप तालिका बनाउन सक्नेछन् भनि उल्लेख गरेको छ। ग्राहकहरूले मेल सेवा मार्फत मर्मत पछि आफ्नो डिभाइस तिनीहरुको आफ्नो ठेगानामा निःशुल्क डेलिभर गर्नका लागि अनुरोधहरू गर्न सक्नेछन् भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार