
काठमाडौं ।
विद्युतीय हुन्डाई आयोनिक ५ ले प्रभावशालीरुपमा ६ लाख ६६ हजार २५५ किलोमिटर यात्रा गर्न सफल भएको छ।
“माइलेज इम्पोसिबल” नामक फेसबुक ग्रुप (समूह)मा गरिएको एक पोस्टका अनुसार, दक्षिण कोरियाका एक कार मालिकले २०२३ मोडेलमा लगभग साढे तीन वर्षको अवधिमा यो अविश्वसनीय माइलेज रेकर्ड गरेको बताइएको छ।
यसको अर्थ हप्ताको सातै दिन यात्रा गरेको मान्दा पनि गाडीले प्रति दिन ५०० किलोमिटर भन्दा बढी यात्रा गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।
गाडीका चालकले ५८० हजार किलोमिटर यात्रा गरेपछि गाडीको ब्याट्री प्रतिस्थापन गरेको बताएका छन्। हुन्डाईले निःशुल्क ब्याट्री प्रतिस्थापन गरेको मानिएको छ।
धेरैजसो बजारहरूमा, हुन्डाईले आयोनिक ५ को ब्याट्रीमा १० वर्ष वा १ लाख माइलको वारेन्टी प्रदान गर्दछ। साथै ब्रान्डले यस विशेष अवस्थामा स्मार्ट मार्केटिङ कदमको लागि अवसरको फाइदा उठाउन सकियोस् भनेर ब्याट्री बदल्ने निर्णय गरेको हुन सक्ने उल्लेख गरिएको छ।
कारको फोटो हेर्दा यसको सफा सेतो रङ्ग चम्किरहेको र यो आश्चर्यजनक रूपमा राम्रोसँग जतन गरिएको देखिने रिपोर्टमा भनिएको छ।
प्रकाशित: २२ चैत्र २०८१, शुक्रबार