काठमाडौं ।
विश्वकै ठूलो सवारीसाधन बजार चीनमा तीव्र प्रतिस्पर्धा र घट्दो मागका कारण तेस्रो त्रैमासिक नाफामा गिरावट आएपछि जर्मन कार निर्माता कम्पनी बीएमडब्लूले योजनाअनुसारको रोजगारी कटौतीलाई थप तीव्र बनाउने जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी मिलान नेदेल्कोभिकले बुधबार नयाँ योजनाअन्तर्गत कति रोजगारी कटौती गरिने भन्ने यकिन नभए पनि आवश्यकताअनुसार कटौती गर्न तयार रहेको बताए।
‘हामी सम्भव भएसम्म अघि बढ्नेछौं र कम्पनीका लागि उपयुक्त हुने हदसम्म कटौती गर्नेछौं,’ उनले पत्रकार सम्मेलनमा भने।
चीनमा बिक्रीमा आएको तीव्र गिरावटले जर्मनीको अटोमोबाइल उद्योगलाई कठिन पुनर्संरचना गर्न बाध्य बनाएको छ। मर्सिडिज–बेन्जले पनि कर्मचारी कटौती कार्यक्रम पुनः सुरु गर्ने भएको छ भने फोक्सवागनले सन् २०३० सम्ममा आफ्ना १० ब्रान्डअन्तर्गत विश्वभर एक लाख २० हजार रोजगारी कटौती गर्ने योजना बनाएको छ।
बीएमडब्लूका एक स्रोतले गत जुलाईमा एएफपीलाई बताएअनुसार कम्पनीले त्यसबेला सुरु गरेको कार्यक्रमअन्तर्गत सन् २०२७ को अन्त्यसम्ममा आठ हजार रोजगारी कटौती गर्ने लक्ष्य राखेको थियो।
नेदेल्कोभिकका अनुसार कर्मचारी कटौती योजनाप्रति देखिएको उच्च सहभागिताका कारण निर्धारित समयभन्दा अगावै थप कटौती गर्न सकिने अवस्था बनेको छ।
‘हामी यो कार्यक्रम छोटो समयमै पूरा गर्न सक्षम हुनेछौं,’ उनले भने। कार्यक्रमप्रति कर्मचारीबाट देखिएको सकारात्मक प्रतिक्रियाले कम्पनीको संगठनात्मक संरचनालाई अझ छरितो र प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
सेप्टेम्बरमा समाप्त भएको तीन महिनाको अवधिमा बीएमडब्लूको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १५ प्रतिशतले घटेर एक अर्ब ४५ करोड युरोमा झरेको छ । यस अवधिमा कम्पनीको बिक्री पनि करिब छ प्रतिशतले घटेर ३० अर्ब ५० करोड युरोमा सीमित भएको छ।
यस अवधिमा विश्वभर कम्पनीका सवारीसाधनको आपूर्ति छ दशमलव तीन प्रतिशतले घटेको छ। चीनमा मात्रै सवारीसाधनको आपूर्ति २४ दशमलव आठ प्रतिशतले खस्किएको छ।
बीएमडब्लू, मिनी र रोल्स–रोयस ब्रान्ड समेटिएको कम्पनीले चीनको बजार हिस्सा पुनः प्राप्त गर्ने प्रयासस्वरूप त्यहाँ बिक्री गरिने आफ्ना सवारीसाधनको आपूर्ति शृङ्खलाको ठूलो हिस्सा चीनमै स्थानान्तरण गर्ने प्रतिबद्धता जनाएको छ।
नेदेल्कोभिकका अनुसार चीनमा सञ्चालन भइरहेको व्यवसायबाट कम्पनीले अन्य देशमा पनि उपयोग गर्न सकिने अनुभव र प्रविधि सिकिरहेको छ। उनले स्थानीय साझेदार मोमेन्टासँगको सहकार्यमा विकसित गरिएको चालक सहायता सफ्टवेयरलाई यसको उदाहरणका रूपमा प्रस्तुत गरे।
‘चीनमा रहेको हाम्रो व्यवसायसँग हाम्रो गहन अनुभव आदानप्रदान हुन्छ। कानुनी रूपमा सम्भव भएसम्म प्रविधि र ज्ञानको हस्तान्तरण दुवैतर्फ हुन्छ,’ उनले भने।–रासस
प्रकाशित: १९ कार्तिक २०८३, बिहीबार