Technology Khabar २२ पुष २०८१, सोमबार
काठमाडौं ।
उपभोक्ता इलेक्ट्रोनिक्सको कुम्भ मेला सीईएस अर्थात् कञ्जुमर इलेक्ट्रोनिक्स शो को २०२५ संस्करण ७ जनवरी अर्थात् भोलि मंगलबारदेखि अमेरिकाको लस भेगसमा औपचारिक रुपमा शुरु हुँदैछ।
उक्त इभेन्टमा विश्वभरका उपभोक्ता इलेक्ट्रोनिक्स निर्माताहरुले आफ्ना नयाँ र प्रविधियुक्त सामानहरु प्रदर्शन गर्ने गर्दछन्।
सीईएस २०२५ को पूर्वसन्ध्यामा रोबोरक कम्पनीले सारोस जेड७० नामक रोबोट भ्याकुम सार्वजनिक गरेको छ। यो डिभाइस ब्याटलबट जस्तो देखिने तर यसले रुम्बाजस्तै सफा गर्ने बताइएको छ। यो रोबोटले आफ्नो मार्ग सफा गर्न र हल्का कपडाहरू उठाउन सहायता गर्ने हात समावेश गरेको टेकक्रञ्चले उल्लेख गरेको छ।
सामसङले आफ्ना ठूला घोषणाहरू भोलिका लागि राखेको भए पनि कम्पनीले २०२५ को टीभी लाइनअपमा लाईभ ट्रान्सलेसन सुविधा ल्याउने जानकारी दिएको छ। सुरुमा सात भाषामा प्रत्यक्ष प्रसारणको अनुवाद गर्ने सुविधा उपलब्ध हुनेछ।
अनुवाद सम्बन्धी सुविधाहरूमा टाइमकेटल कम्पनीले ४० विभिन्न भाषाहरूमा फोन र भिडियो कलहरू अनुवाद गर्न सक्ने नयाँ इयरबड्स प्रस्तुत गरेको छ। यसमा अनुवादमा सामान्य ढिलाइ हुनेछ।
अर्को कम्पनी विथिङ्सले पूर्ण-आकारको स्वास्थ्य स्क्यान गर्ने मिररको प्रारम्भिक झलक प्रस्तुत गरेको छ। सीईएसमा यस्ता उत्पादनहरू प्रस्तुत गरिएको पहिलो पटक भने होइन। ओम्निया मिरर नामको यो डिभाइसई कम्पनीले हालसम्म एउटा अवधारणात्मक हार्डवेयरको रूपमा मात्र प्रस्तुत गरेको टेकक्रञ्चले उल्लेख गरेको छ।
यसअघिको सीईएसमा पक्षीलाई आहारा दिने स्मार्ट उपकरणहरू चर्चामा रहेजस्तै यसपटक बर्डिफाइले स्मार्ट पक्षी स्नान (बर्डबाथ) प्रस्तुत गरेको छ।
प्रकाशित: २२ पुष २०८१, सोमबार