ईयूद्वारा मेटा प्लेटफर्ममाथि ८४ करोड डलर जरिबाना

Technology Khabar १ मंसिर २०८१, शनिबार

काठमाडौं ।

युरोपेली आयोगले बिहीबार मेटा प्लेटफर्मलाई ७९७.७२ मिलियन यूरो अर्थात् ८४०.२४ मिलियन डलर जरिवाना गरेको छ। यो जरिवाना फेसबुक मार्केटप्लेसलाई फाइदा पुर्‍याउने गलत व्यावसायिक अभ्यासका कारण गरिएको बताइएको छ। यसबारे आयोगले दिएको विज्ञप्तिमा पुष्टि गरिएको हो।

युरोपेली आयोगले भनेको छ, “मेटालाई ईयू को प्रतिस्पर्धा नियम उल्लङ्घन गरेकोमा जरिवाना गरिएको हो। मेटाले आफ्नो अनलाइन विज्ञापन सेवा फेसबुक मार्केटप्लेसलाई व्यक्तिगत सामाजिक सञ्जाल फेसबुकसँग जबरजस्ती जोडेको र अन्य अनलाइन विज्ञापन सेवाप्रदायकहरूलाई अनुचित व्यापारिक सर्तहरू लगाएको कारण यो कारबाही गरिएको हो।”

रोयटर्सका अनुसार फेसबुकले सन् २०१६ मा मार्केटप्लेस सुरू गरेको थियो र एक वर्षपछि यो सेवा विभिन्न युरोपेली देशहरूमा विस्तार गरिएको थियो।

आयोगको निर्णयमा भनिएको छ कि मेटा ले फेसबुक प्रयोगकर्ताहरूलाई गैरकानूनी रूपमा फेसबुक मार्केटप्लेस प्रयोग गर्न बाध्य बनाएको छ। तर मेटाका अनुसार यो दावी सही होइन किनकि फेसबुक प्रयोगकर्ताहरूले चाहेमा मार्केटप्लेसको प्रयोग गर्न सक्छन् र धेरैले त्यसो गर्दैनन्।

मेटाका अनुसार आयोगले मार्केटप्लेसले युरोपेली संघमा अन्य ठूला अनलाइन बजारहरूको विकासमा अवरोध पुर्‍याउन सक्ने सम्भावना रहेको दावी गरेको थियो तर प्रतिस्पर्धीहरूलाई क्षति पुगेको कुनै प्रमाण नभेटेको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: १ मंसिर २०८१, शनिबार

तपाइको प्रतिक्रिया