काठमाडौं ।
हिमालय मोट्रोक्स प्रालिले १६ सिट क्षमताको विद्युतीय मिनिबस ‘म्याक्सस ईडेलिभर ५’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
हिमालय अर्गनाइजेसनअन्तर्गत नेपालका लागि म्याक्ससको आधिकारिक वितरक हिमालय मोट्रोक्स प्रालिले सार्वजनिक गरेको हो।
सार्वजनिक गरेको उक्त मिनिबसको मूल्य ६९ लाख ५० हजार रुपैयाँ तोकिएको छ।
कम्पनीका अनुसार, होटल, रिसोर्ट, पर्यटन तथा व्यावसायिक यातायात क्षेत्रमा प्रयोग गर्न उपयुक्त हुने गरी निर्माण गरिएको यस मिनिबसमा आधुनिक सुविधा, यात्रुको आराम र सुरक्षालाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ। विद्युतीय कारमा पाइने सुविधासमेत उपलब्ध गराइएको यस मिनिबसमा आधुनिक बनावट, सुविधासम्पन्न भित्री संरचना र उन्नत सुरक्षा प्रविधि समावेश रहेका छन्।
म्याक्सस ईडेलिभर ५ मा १२.३ इन्चको स्पर्श पर्दा जडित मनोरञ्जन प्रणाली राखिएको छ। यसले ब्लुटुथ, युएसबी, ताररहित एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा समर्थन गर्छ।
त्यस्तै, चार तहमा मिलाउन सकिने स्टेरिङ, आधुनिक चालक कक्ष, स्टेरिङमै जडित नियन्त्रण स्विचलगायत सुविधा उपलब्ध छन् । यी सुविधाले चालकलाई सहज रूपमा सवारी सञ्चालन गर्न र यात्रुलाई आरामदायी यात्रा अनुभव प्रदान गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ।
मिनिबसमा ६४ किलोवाट आवर क्षमताको सीएटीएल कम्पनीले उत्पादन गरेको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार एनईडीसी परीक्षण मापदण्डअनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ४०० किलोमिटरसम्म यात्रा गर्न सक्छ।
यसले अधिकतम १२० किलोवाट शक्ति र २४० एनएम टर्क उत्पादन गर्छ। मिनिबसमा ७० किलोवाट क्षमतासम्मको द्रुत चार्जिङ सुविधा छ। उक्त सुविधामार्फत ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३६ मिनेट लाग्ने कम्पनीले जनाएको छ।
मिनिबसमा ३६० डिग्री दृश्य दिने क्यामेरा, स्वचालित आपत्कालीन ब्रेक प्रणाली, अगाडिको सम्भावित ठक्करबारे चेतावनी दिने प्रणाली, अनुकूल गतिनियन्त्रण प्रणाली र लेनबाट बाहिरिँदा चेतावनी दिने प्रविधि राखिएको छ।
त्यसैगरी, लेनमै सवारी कायम राख्ने सहायता प्रणाली, आपत्कालीन लेन नियन्त्रण र चालकको अवस्थाको निगरानी गर्ने प्रविधि पनि उपलब्ध छन्। चालक र अगाडिको यात्रुका लागि एयरब्याग, विद्युतीय स्थिरता नियन्त्रण प्रणाली तथा टायरको हावाको चाप निगरानी गर्ने प्रणालीसमेत समावेश गरिएको छ।
मिनिबसको ग्राउन्ड क्लियरेन्स अर्थात् जमिनबाट गाडीको तल्लो भागसम्मको उचाइ २०० मिलिमिटर रहेको छ। यसमा सबै चक्कामा एलोय ह्विल जडान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार मिनिबसको ब्याट्रीमा आठ वर्ष र मोटरमा पाँच वर्षको वारेन्टी उपलब्ध छ। यसले विद्युतीय व्यावसायिक सवारीसाधन प्रयोग गर्न चाहने व्यवसायीलाई आकर्षित गर्ने कम्पनीको अपेक्षा छ।
प्रकाशित: २७ आश्विन २०८३, मंगलवार