भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा

  • Technology Khabar | २६ आश्विन २०८३, सोमबार
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं ।

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंको डल्लुमा अर्को सर्भिस सेन्टर निर्माणका लागि शिलान्याससमेत गरेको छ।

बीवाईडीको एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका डेपुटी जनरल म्यानेजर झाङ जी र असिस्टेन्ट जनरल म्यानेजर तथा आफ्टर सेल्स हेड फेङ एरदोङले भक्तपुरस्थित सर्भिस सेन्टरको उदघाटन गरेका हुन।

नेपालको बढ्दो ग्राहक आधारलाई लक्षित गर्दै बीवाईडीको बिक्रीपछिको सेवा पूर्वाधार विस्तार गर्ने, सर्भिसको पहुँचलाई थप सहज बनाउने र सवारीसाधनको स्वामित्व अवधिभर ग्राहकलाई सहज तथा व्यवस्थित सेवाको अनुभव प्रदान गर्ने साइमेक्स इंकको निरन्तर प्रयासलाई थप मजबुत बनाएका छन्।

भक्तपुरमा निर्माण गरिएको नयाँ सर्भिस सेन्टर २५ हजार ७२.६० वर्गफिट क्षेत्रफलमा फैलिएको छ। यसलाई सेल्स, सर्भिस र स्पेयर पार्ट्स सम्बन्धी सुविधा एउटै स्थानमा उपलब्ध हुने ‘थ्रीएस’ सेन्टरका रूपमा विकास गरिएको छ।

उक्त सर्भिस सेन्टरमा आठवटा सर्भिस बे उपलब्ध छन्। तीमध्ये पाँचवटा हाल सञ्चालनमा आएका छन् भने बाँकी तीनवटा भविष्यमा सवारीसाधनको सर्भिससम्बन्धी आवश्यकता बढ्दै जाँदा प्रयोगमा ल्याइने छ। सो सेन्टरमा सवारीसाधन बिक्रीका लागि शोरुमसमेत चाँडै नै सञ्चालनमा आउने छ।

बीवाईडीको अन्तर्राष्ट्रिय ब्रान्ड मापदण्डलाई स्थानीय सम्पदासँग जोड्ने उद्देश्यले यसलाई ‘बीवाईडी हेरिटेज शोरुम एन्ड सर्भिस सेन्टर’ अवधारणामा विकास गरिएको हो। यस परियोजनाले स्थानीय समुदायको सांस्कृतिक पहिचानलाई सम्मान गर्दै परम्परागत सवारीसाधन बिक्री तथा सर्भिसिङको अवधारणाभन्दा फरक र विशेष अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा एउटै स्थानमा उपलब्ध हुने यस सर्भिस सेन्टरले बीवाईडीको प्राविधिक दक्षता र सर्भिस स्ट्यान्डर्ड अनुसार ग्राहकलाई सवारीसाधन खरिददेखि नियमित मर्मतसम्भारसम्म सहज र सुविधाजनक सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गइरहेको अवस्थामा ग्राहकलाई बिक्रीपछिको सेवा सहज रूपमा उपलब्ध गराउने साइमेक्सको दीर्घकालीन दृष्टिकोणलाई समेत यसले प्रतिबिम्बित गरेको छ।

भक्तपुरको सर्भिस सेन्टर उद्घाटनकै दिन काठमाडौंको डल्लुमा नयाँ बीवाईडी सर्भिस सेन्टर निर्माणका लागि शिलान्यास गरिएको छ।

प्रकाशित: २६ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...