Apple

बाल सुरक्षासम्बन्धी चिन्तापछि एप्पलले एप स्टोरबाट हटायो मिनिम्याक्सको एआई च्याटबोट

बाल सुरक्षासम्बन्धी चिन्तापछि एप्पलले एप स्टोरबाट हटायो मिनिम्याक्सको एआई च्याटबोट
फाइल तस्बिर
Global IME Bank

एप्पलले यसै साता मिनिम्याक्सको लोकप्रिय च्याटबोट एप टकीलाई विश्वभरका आफ्नो एप स्टोरबाट हटाएको छ। सञ्चारमाध्यममा प्रकाशित रिपोर्टहरूमा उक्त एपका कृत्रिम बुद्धिमताबाट तयार गरिएका पात्रहरूले नाबालिग प्रयोगकर्तालाई यौनजन्य सन्देश पठाएको आरोप लगाएपछि एप्पलले यस्तो कदम चालेको हो।

सन् २०२३ मा सार्वजनिक भएको टकीले प्रयोगकर्तालाई कुराकानी गर्न विभिन्न प्रकारका भर्चुअल साथी उपलब्ध गराउँछ। तीमध्ये धेरै पात्रसँगको कुराकानीमा प्रेमसम्बन्धी विषयवस्तु पनि समावेश हुन्छ। चीनको सांघाईमा मुख्यालय रहेको मिनिम्याक्सले यसको चिनियाँ संस्करण सिङ्ग्ये पनि सञ्चालन गर्दै आएको छ।

बुधबार एबीसी न्युज र ब्युरो अफ इन्भेस्टिगेटिभ जर्नालिज्मले प्रकाशित गरेको रिपोर्टअनुसार एपका पात्रहरूले बालबालिकालाई यौनजन्य रूपमा अनुचित र अपमानजनक सन्देश पठाएका थिए।

एप्पलको एप स्टोर र गुगल प्ले स्टोर दुवैमा यो एपलाई १८ वर्षभन्दा माथिका लागि उपयुक्त भनेर वर्गीकरण गरिएको छ। देशअनुसार एपले १४ वा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई खाता खोल्न नदिने उल्लेख गरेको छ। तर, प्रयोगकर्ताले आफ्नो उमेर आफैँ घोषणा गर्न सक्ने भएकाले उमेर प्रमाणीकरणको सुरक्षा व्यवस्था कमजोर रहेको भन्दै बाल सुरक्षा अभियन्ताहरूले आलोचना गर्दै आएका छन्।

मिनिम्याक्स र एप्पलले यस विषयमा टिप्पणी गर्न गरिएको अनुरोधको तत्काल जवाफ नदिएका रोयटर्सले जनाएको छ।

टकी विभिन्न भाषामा उपलब्ध छ। अनुसन्धान संस्था सेन्सर टावरका अनुसार यो विशेषगरी अमेरिका, फिलिपिन्स र मेक्सिकोमा लोकप्रिय छ।

च्याटजीपीटी वा जेमिनीजस्ता ठूला भाषा मोडेलमा आधारित सामान्य एआई सहायकभन्दा फरक, एआई कम्प्यानियनहरू प्रयोगकर्तासँग लामो समयसम्म भावनात्मक सम्बन्ध कायम गर्ने र मानिससँग जस्तै अन्तरक्रिया गर्ने गरी तयार गरिन्छन्। केहीमा प्रयोगकर्तालाई समेट्ने कथात्मक विषयवस्तुसमेत हुन्छन्।

टकी र सिङ्ग्ये मिनिम्याक्सका लागि आम्दानीका प्रमुख स्रोत बनेका थिए। सन् २०२४ मा यी एपबाट कम्पनीको कुल आम्दानीको ६० प्रतिशतभन्दा बढी हिस्सा प्राप्त भएको थियो। तर, कम्पनीले यस वर्षदेखि च्याटबोटसम्बन्धी आम्दानीको छुट्टै विवरण सार्वजनिक गर्न छाडेको छ।

चिनियाँ अनुसन्धान संस्था युनिकका अनुसार अक्टोबर २०२६ सम्म टकीको एप र वेबसाइटमा गरी मासिक सक्रिय प्रयोगकर्ता करिब एक करोड १० लाख थिए।

मिनिम्याक्सले आफ्नो ध्यान उद्यमस्तरका कोडिङ सेवा र मिनिम्याक्स एम१ तथा हेलुओ-०२ जस्ता बहुआयामिक एआई मोडेलतर्फ केन्द्रित गरेको छ। विशेषगरी जनवरीमा हङकङमा सेयर निष्कासन गरेपछि कम्पनीले यस्तो रणनीति अपनाएको हो।

एआई च्याटबोटमाथि बढ्दो निगरानी

विशेषगरी नाबालिगसँगको अन्तरक्रियाबाट उत्पन्न हुन सक्ने जोखिमलाई लिएर एआई च्याटबोटमाथि निगरानी बढ्दै गएको छ।

एलन मस्कको ग्रोक एआई च्याटबोटबाट महिला र बालबालिकाका यौनजन्य तस्बिर तयार गरिएको घटनापछि यस वर्ष विभिन्न देशका सरकारहरूले त्यसको आलोचना गरेका थिए। त्यस्तै, एआई कम्प्यानियन निर्माता कम्पनी क्यारेक्टर डटकमले पनि नाबालिगसँगका अनुचित अन्तरक्रियालाई लिएर अमेरिकामा विभिन्न मुद्दा खेपिरहेको छ।

जुलाईमा चीनले सिङ्ग्येसहित घरेलु एआई कम्प्यानियन एपहरूमाथि कडाइ गरेको थियो। सरकारले नाबालिगसँग घनिष्ठ सम्बन्ध स्थापित गर्न प्रतिबन्ध लगाउनुका साथै भावनात्मक निर्भरता र लतको जोखिम नियन्त्रण गर्न कडा सुरक्षा व्यवस्था लागू गर्न प्लेटफर्महरूलाई निर्देशन दिएको थियो।

नयाँ नियमको प्रतिक्रियास्वरूप बाइटडान्स र अलिबाबाले पनि आफ्ना एपमा मानिसजस्तै देखिने अन्तरक्रियात्मक एजेन्ट र आफूअनुकूल बनाउन मिल्ने एजेन्टसम्बन्धी सुविधा बन्द गरेका छन्।

नियामक निकाय र कम्पनीहरूले चालेका यी कदमपछि भर्चुअल पात्रसँग भावनात्मक सम्बन्ध गाँसेका चिनियाँ प्रयोगकर्ताहरूबाट व्यापक असन्तुष्टि व्यक्त भएको छ।

Sajilo Visa
easy care