ताजा समाचार

अन्तरिक्षमा डाटा सेन्टर राख्न स्पेसएक्सलाई १० लाख स्याटेलाइट प्रक्षेपणको अनुमति

अन्तरिक्षमा डाटा सेन्टर राख्न स्पेसएक्सलाई १० लाख स्याटेलाइट प्रक्षेपणको अनुमति
Global IME Bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इलन मस्कको कम्पनी स्पेसएक्सलाई अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्ने उद्देश्यले १० लाख स्याटेलाइट प्रक्षेपण गर्न अनुमति दिएको छ। अमेरिकी सङ्घीय सञ्चार आयोग (एफसीसी) ले दिएको अनुमतिअनुसार कम्पनीको स्टारमाइन्ड सञ्जालले पृथ्वीमा प्रयोगका लागि ठूलो परिमाणमा डाटा प्रशोधन गर्नेछ। अनुमति सन् २०४० सम्म कायम रहनेछ।

स्पेसएक्सले सन् २०२७ को अन्त्यतिर पहिलो स्याटेलाइट प्रक्षेपण गरी सन् २०२८ देखि विस्तार गर्ने योजना बनाएको छ। कम्पनीले अन्तरिक्षमा प्रयोग गर्न विशेष रूपमा तयार पारिएका एनभिडियाका नयाँ पुस्ताका भेरा रुबिन प्रोसेसर जडान गर्ने सम्झौता गरेको छ।

अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्ने दौडमा गुगल, जेफ बेजोसको ब्लु ओरिजिन र स्टारक्लाउड पनि छन्। तर, उच्च विकिरण, चरम तापक्रम, अन्तरिक्षका भग्नावशेष र सूक्ष्म उल्कापिण्डबाट स्याटेलाइट तथा प्रोसेसर जोगाउनु प्रमुख चुनौती रहेको विज्ञहरूले बताएका छन्।

प्रस्तावित स्याटेलाइट सञ्जालले खगोलीय अध्ययन र रातको आकाशको अवलोकनमा असर पार्न सक्ने भन्दै अमेरिकन एस्ट्रोनोमिकल सोसाइटीले एफसीसीको निर्णयप्रति असन्तुष्टि जनाएको छ। ठूलो सङ्ख्या र आकारका स्याटेलाइट रातको आकाशमा लामो समयसम्म चम्किला रूपमा देखिने संस्थाको भनाइ छ। अर्थजस्टिसका वरिष्ठ अधिवक्ता जान ह्यासेलम्यानले पनि यसको विस्तारले जनजीवन र पृथ्वीको भविष्यमा प्रत्यक्ष प्रभाव पार्ने बताएको छ।

यद्यपि, अन्तरिक्षमा रहेका स्याटेलाइटले निरन्तर सौर्य ऊर्जा प्राप्त गर्न सक्ने र पृथ्वीमा निर्माण गरिएका डाटा सेन्टरभन्दा आठ गुणासम्म प्रभावकारी रूपमा ऊर्जा सङ्कलन गर्न सक्ने यसका पक्षधरहरूको भनाइ छ। स्पेसएक्सले गत जुनमा बजार प्रवेश गर्दा करिब ८५ अर्ब ७० करोड अमेरिकी डलर पुँजी जुटाएको थियो।–रासस

Sajilo Visa
easy care