टेस्लाले ‘फुल सेल्फ ड्राइभिङ’ को नाम परिवर्तन गरेर किन ‘असिस्टेड ड्राइभिङ’ राख्यो?

  • Technology Khabar | २७ आश्विन २०८३, मंगलवार
टेस्लाले ‘फुल सेल्फ ड्राइभिङ’ को नाम परिवर्तन गरेर किन ‘असिस्टेड ड्राइभिङ’ राख्यो?
फाइल तस्बिर

काठमाडौं ।

विद्युतीय सवारी निर्माता टेस्लाले यूरोपेली वेबसाइटहरूमा आफ्नो ‘फुल सेल्फ ड्राइभिङ’ सुविधालाई ‘टेस्ला असिस्टेड ड्राइभिङ’ भन्न थालेको छ।

नियामक निकायहरूले भ्रामक भनेको नाम हटाउँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले उक्त सफ्टवेयरलाई यूरोपेली संघभरि प्रयोगको अनुमति दिलाउन प्रयास गरिरहेका छन्।

जर्मनीले मंगलबार टेस्लाले नयाँ नाम अपनाउन प्रस्ताव गरेको बताएपछि यो नाम परिवर्तन गरिएको हो। मस्कले स्वचालित रूपमा सवारी चलाउने यो प्रविधिलाई कम्पनीको भविष्यको वृद्धिका लागि महत्त्वपूर्ण बताएका छन्।

रोयटर्सका अनुसार स्लोभाकियाका लागि टेस्लाको ‘एफएसडी’ पेज अहिले ‘टेस्ला असिस्टेड ड्राइभिङ’ पेजमा रिडाइरेक्ट हुन थालेको छ। जर्मनी, स्पेन र नेदरल्यान्ड्सलगायत अन्य युरोपेली देशका वेबसाइटमा पनि यही परिवर्तन गरिएको छ। तर, अमेरिकाको वेबसाइटमा भने अझै पनि ‘फुल सेल्फ ड्राइभिङ (सुपरभाइज्ड)’ नाम नै प्रयोग गरिएको छ।

यसै साता प्रकाशित रोयटर्सको समाचारअनुसार, टेस्लाले यूरोपमा एफएसडीको प्रयोग अनुमति पाउन अभियान चलाएको छ। यसअन्तर्गत कम्पनीले आफ्ना सवारीधनी र समर्थकहरूलाई अनुमति प्रक्रिया छिटो अघि बढाउन राष्ट्रिय नियामक निकायहरूलाई आग्रह गर्न प्रोत्साहित गरेको छ।

सेप्टेम्बरमा एक नर्वेली टेस्ला सवारीधनीले एफएसडीको नाम परिवर्तनले त्यसप्रति उठेका चिन्ता सम्बोधन गर्छ कि गर्दैन भनेर नर्वेको सार्वजनिक सडक प्रशासनलाई सोधेका थिए।

सूचनाको हकसम्बन्धी अनुरोधमार्फत रोयटर्सले प्राप्त गरेको कागजातअनुसार ती सवारीधनीले भनेका थिए, “कृपया ‘हामी युरोपेली संघको प्रतीक्षामा छौँ’ भनेर मात्र फेरि नभन्नुहोस्। त्यसबीच टेस्ला वा नर्वेले के गर्नुपर्छ भन्ने कुरा पनि स्पष्ट पार्नुहोस्।”

धेरै नियामक निकायले पुरानो नामलाई भ्रामक भनेका छन्। उनीहरूका अनुसार यो प्रणाली प्रयोग गर्दा चालकले निरन्तर निगरानी गर्नुपर्छ र कानुनी रूपमा चालक नै जिम्मेवार रहन्छन्।

स्विडेनमा उपभोक्ता संरक्षणसम्बन्धी अधिकारीहरूले यसअघि एफएसडीको विज्ञापनले ग्राहकहरूलाई उक्त प्रणाली पूर्ण रूपमा स्वचालित रूपमा सवारी चलाउन सक्षम रहेको गलत धारणा दिन सक्छ कि सक्दैन भन्ने विषयमा मूल्याङ्कन गर्न स्विडिस यातायात निकायलाई आग्रह गरेका थिए।

इटालीमा सरकारी अधिकारीहरूबीच भएको आन्तरिक पत्राचारमा ‘फुल सेल्फ ड्राइभिङ’ नाम र टेस्लाको प्रचार सामग्रीले प्रयोगकर्ताहरूलाई सवारीमा चालकको निगरानीबिना चल्ने स्वचालित प्रणाली रहेको विश्वास दिलाउन सक्ने उल्लेख गरिएको थियो।

सूचनाको हकसम्बन्धी अनुरोधमार्फत प्राप्त गरेको उक्त पत्राचारमा विशेषगरी एसएई लेभल ३ जस्ता उच्च तहको स्वचालन क्षमता रहेको गलत धारणा उत्पन्न हुन सक्ने बताइएको थियो।

युरोपेली संघका आठ देशले यस प्रणालीलाई प्रयोग गर्न अनुमति दिइसकेका छन्। स्लोभाकिया केही दिनभित्रै अनुमति दिने नवौँ देश बन्ने अपेक्षा गरिएको छ।

यूरोपेली संघभरि अनुमति दिने विषयमा हुने मतदान अक्टोबरबाट सारेर कम्तीमा डिसेम्बरसम्म पुर्‍याइएको छ। फ्रान्सजस्ता देशले थप परीक्षण गरिरहेका छन्।

प्रकाशित: २७ आश्विन २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार