एप्पलको होमभ्यु मंगलबार सार्वजनिक हुँदै, थप विवरण बाहिरिए

  • Technology Khabar | २६ आश्विन २०८३, सोमबार
एप्पलको होमभ्यु मंगलबार सार्वजनिक हुँदै, थप विवरण बाहिरिए
तस्बिर: जीएसएमएरिना

काठमाडौं ।

एप्पलले स्मार्ट होमसम्बन्धी उत्पादन सार्वजनिक गर्ने कार्यक्रम आयोजना गर्न अब एक दिन मात्र बाँकी छ। ब्लुमबर्गका मार्क गर्मनको पछिल्लो ‘पावरअन’ न्युजलेटरले कार्यक्रममा सार्वजनिक हुने अपेक्षा गरिएका उत्पादनबारे थप जानकारी दिएको छ।

एप्पलले लामो समयदेखि तयारी गरिरहेको स्मार्ट होम नियन्त्रण हबको नाम होमभ्यु हुने बताइएको छ। यो दुई डिजाइनमा उपलब्ध हुनेछ। सामान्य ‘काउन्टरटप’ मोडलमा धातुको स्पिकर बेस हुनेछ।

यो स्पेस ग्रे, सिल्भर, स्टारलाइट र पिंक गरी चार रङमा उपलब्ध हुने बताइएको छ। एप्पलले भित्तामा जडान गर्न मिल्ने संस्करण पनि ल्याउनेछ, जुन स्पेस ग्रे र सिल्भर रङमा उपलब्ध हुनेछ।

जीएसएसएरिनाका अनुसार होमभ्युका दुवै मोडलमा एप्पल ए१८ चिप प्रयोग हुनेछ। यही चिप आईफोन १६, आईफोन १६ प्लस र आईफोन १६ईमा पनि प्रयोग गरिएको छ। यसअघि सार्वजनिक भएका विवरणअनुसार होमभ्युमा ६ इन्चको टचस्क्रिन डिस्प्ले हुनेछ।

यसमा एप्पलकै केही सीमित एप उपलब्ध हुनेछन् भने थप एप डाउनलोड गर्न एप स्टोर उपलब्ध नहुने बताइएको छ। एप्पलले होमभ्यु नोभेम्बरको मध्यदेखि बिक्रीका लागि उपलब्ध गराउने अपेक्षा गरिएको छ।

होमभ्युसँगै एप्पलले एस१० चिपसहितको नयाँ होमपड मिनी पनि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। यही चिप एप्पल वाच सिरिज १०, सिरिज ११, वाच एसई ३ र वाच अल्ट्रा ३ मा प्रयोग गरिएको छ। नयाँ होमपड मिनी पिंक, सेतो, हरियो, नीलो र मिडनाइट रङमा उपलब्ध हुने बताइएको छ।

एप्पलले ए१९ चिपसहितको अद्यावधिक एप्पल टीभी स्ट्रिमिङ बक्स पनि सार्वजनिक गर्नेछ। यसमा भित्रै स्पिकर जडान गरिएको नयाँ रिमोट हुनेछ। नयाँ होमपड मिनी र एप्पल टीभी बक्स अक्टोबर ३० देखि बिक्रीका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २६ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार