ह्वावे मेट ९० एयर सार्वजनिक हुनुअघि नै आधिकारिक अनलाइन स्टोरमा सूचीकृत
काठमाडौं ।
चिनियाँ प्रविधि कम्पनी ह्वावेले आफ्नो नयाँ स्मार्टफोन मेट ९० एयर आगामी नोभेम्बर २४ मा सार्वजनिक गर्ने भएको छ। सार्वजनिक हुनुअघि नै यो फोन कम्पनीको आधिकारिक अनलाइन स्टोरमा सूचीकृत भएको छ।
गत वर्ष ह्वावेले ६.६ मिलिमिटर मोटाइ भएको मेट ७० एयर सार्वजनिक गरेको थियो। उक्त फोन मेट सिरिजकै सबैभन्दा हलुका मोडलका रूपमा आएको थियो। यसै महिनाको सुरुमा सार्वजनिक भएको एक रिपोर्टमा कम्पनीले आगामी महिना मेट ८० एयर सार्वजनिक गर्ने तयारी गरेको उल्लेख थियो। तर पछिल्लो विवरणअनुसार कम्पनीले मेट ८० एयरलाई छाडेर सीधै मेट ९० एयर सार्वजनिक गर्ने देखिएको छ।
ह्वावेको अनलाइन स्टोरमा राखिएको विवरणअनुसार मेट ९० एयर रोज गोल्ड, मुन सिल्भर र अब्सिडियन ब्ल्याक गरी तीन रङमा उपलब्ध हुनेछ।
जीएसएमएरिनाका अनुसार फोनको पछाडिको डिजाइन मेट ९० सिरिजका अन्य स्मार्टफोनसँग मिल्दोजुल्दो देखिन्छ। यसको पछाडिपट्टि ठूलो गोलाकार क्यामेरा मोड्युल राखिएको छ, जसमा तीनवटा क्यामेरा सेन्सर हुने अनुमान गरिएको छ।
कम्पनीको सूचीकरणले फोनमा १२ जीबी र्याम हुने पनि पुष्टि गरेको छ। त्यस्तै, आन्तरिक स्टोरेजका लागि २५६ जीबी र ५१२ जीबीका दुई विकल्प उपलब्ध हुनेछन्।