Highlight News

मोबाइल सेवाका लागि माथिल्लो ६ गिगाहर्ज स्पेक्ट्रम चरणबद्ध रूपमा वितरण गर्ने अफकमको योजना

मोबाइल सेवाका लागि माथिल्लो ६ गिगाहर्ज स्पेक्ट्रम चरणबद्ध रूपमा वितरण गर्ने अफकमको योजना
फाइल तस्बिर
Global IME Bank

बेलायतको दूरसञ्चार नियामक निकाय अफकमले माथिल्लो ६ गिगाहर्ज फ्रिक्वेन्सी मोबाइल सेवाका लागि क्षेत्रगत रूपमा वितरण गर्ने योजना अघि बढाएको छ। मोबाइल उद्योगको निरन्तर दबाबका बीच नियामकले यस्तो निर्णय गरेको हो।

अफकमले गत अप्रिलमा सार्वजनिक गरेको परामर्शपत्रमा मोबाइल सेवाको क्षमता विस्तार गर्नुपर्ने बढी जनघनत्व भएका ८८ वटा क्षेत्र पहिचान गरी ती क्षेत्रमा छुट्टाछुट्टै अनुमति दिने प्रस्ताव गरेको थियो। अहिले उक्त प्रस्तावलाई अन्तिम रूप दिइएको छ।

यसअघि अफकमले मिलिमिटर वेभ स्पेक्ट्रमको लिलामीमा पनि यस्तै प्रक्रिया अपनाएको थियो। त्यसबेला बढी जनघनत्व भएका ६८ वटा स्थानमा स्पेक्ट्रम प्रयोगको अनुमति वितरण गरिएको थियो।

माथिल्लो ६ गिगाहर्ज ब्यान्डको केही हिस्सा अहिले फिक्स्ड लिंक सेवामा प्रयोग भइरहेको छ। त्यसैले अफकमले मोबाइल सेवाका लागि तयारी गर्न बढी जनघनत्व भएका क्षेत्रमा उक्त फ्रिक्वेन्सी खाली गर्ने प्रक्रिया सुरु गर्ने भएको छ। ती क्षेत्रमा नयाँ फिक्स्ड लिंक लाइसेन्स जारी गर्न पनि रोक लगाइनेछ।

यसअघि अफकमले ६४२५ मेगाहर्जदेखि ७१२५ मेगाहर्जसम्मको माथिल्लो ६ गिगाहर्ज ब्यान्डलाई वाइफाइ र मोबाइल नेटवर्कका लागि छुट्याउने निर्णय गरेको थियो।

तल्लो ६ गिगाहर्ज ब्यान्डमा यसअघि नै पहुँच पाएको वाइफाइ उद्योगलाई माथिल्लो ब्यान्डको १६० मेगाहर्ज (६४२५–६५८५ मेगाहर्ज) छुट्याइएको छ। मोबाइल सेवाका लागि प्रयोग नभएका स्थानमा बाँकी फ्रिक्वेन्सीसमेत वाइफाइले प्रयोग गर्न पाउनेछ।

टेलिकम्स डटकमका अनुसार मोबाइल उद्योगलाई भने बाँकी ५४० मेगाहर्ज (६५८५–७१२५ मेगाहर्ज) मा प्राथमिक पहुँच दिइएको छ। मोबाइल सेवाप्रदायकले उक्त स्पेक्ट्रम प्रयोग गर्न थालेपछि वाइफाइ प्रयोगकर्ताले आफ्नो सेवा सञ्चालनका लागि वैकल्पिक फ्रिक्वेन्सी प्रयोग गर्नुपर्नेछ।

यसैबीच मोबाइल उद्योगको प्रतिनिधित्व गर्ने संस्था जीएसएमएले राष्ट्रिय नियामक निकायहरूलाई आफ्नो स्पेक्ट्रम वितरण योजनामा माथिल्लो ६ गिगाहर्ज ब्यान्डलाई समावेश गर्न पुनः आग्रह गरेको छ। तर अफकमले सन् २०३५ अघि बढी जनघनत्व भएका क्षेत्रबाहेक अन्य स्थानमा माथिल्लो ६ गिगाहर्ज स्पेक्ट्रम वितरण गर्ने अपेक्षा नरहेको स्पष्ट पारेको छ।

‘यस दृष्टिकोणले मोबाइल नेटवर्क विस्तारमा उल्लेख्य अवरोध सिर्जना गर्ने हामीलाई लाग्दैन। मोबाइल नेटवर्कको विस्तार सामान्यतया सबैभन्दा बढी ट्राफिक हुने क्षेत्रबाट सुरु हुन्छ। यी क्षेत्र नै हामीले पहिचान गरेका ६ गिगाहर्जका उच्च जनघनत्व क्षेत्र हुन्,’ अफकमले भनेको छ।

उसका अनुसार सन् २०३५ अघि उच्च क्षमताको मोबाइल सेवाका लागि थप पहुँच नदिँदा नेटवर्क विस्तारमा केही ढिलाइ हुन सक्ने भए पनि त्यसको प्रभाव तुलनात्मक रूपमा कम रहनेछ।

अफकमले उच्च जनघनत्व भएका क्षेत्रबाहिर यो स्पेक्ट्रमको मोबाइल सेवामा कति माग हुन्छ भन्ने विषयमा अझै अनिश्चितता रहेको जनाएको छ। वाइफाइको प्रयोगको अवस्था, मोबाइल उपकरणमा माथिल्लो ६ गिगाहर्ज ब्यान्डको उपलब्धता तथा मोबाइल ट्राफिक, नेटवर्कमा हुने चाप र विस्तारसम्बन्धी नयाँ पूर्वानुमान प्राप्त भएपछि मात्र थप निर्णय लिनु उपयुक्त हुने उसको भनाइ छ।

अफकमको यो योजनाले वाइफाइ र मोबाइल दुवै उद्योगलाई पूर्ण रूपमा सन्तुष्ट पार्ने देखिँदैन। कम जनघनत्व भएका क्षेत्रमा पनि माथिल्लो ६ गिगाहर्ज ब्यान्ड विस्तार हुँदा वाइफाइ सेवाले मोबाइल सेवाका लागि ठाउँ छोड्नुपर्ने हुन सक्छ। अर्कोतर्फ, मोबाइल उद्योगका केही पक्षले पनि यो फ्रिक्वेन्सी पूर्ण रूपमा मोबाइल सेवाका लागि उपलब्ध हुनुपर्ने माग गर्दै आएका छन्।

यद्यपि अहिलेको नयाँ निर्णय मुख्यतः मोबाइल सेवाका लागि छुट्याइएको ५४० मेगाहर्ज स्पेक्ट्रम कसरी र कहिले वितरण गर्ने भन्ने व्यावहारिक प्रक्रिया निर्धारण गर्न केन्द्रित छ।

अफकमका अनुसार सम्बन्धित फिक्स्ड लिंकहरू हटाउने काम पूरा भएपछि सन् २०३२ फेब्रुअरीदेखि सबै उच्च जनघनत्व भएका क्षेत्रमा मोबाइल नेटवर्क विस्तार गर्न सम्भव हुनेछ। फिक्स्ड लिंक हटाउन आवश्यक नपर्ने क्षेत्रमा भने सन् २०२९ वा २०३० मा हुने स्पेक्ट्रम वितरणपछि नै नेटवर्क विस्तार गर्न सकिनेछ।

यद्यपि प्रारम्भिक रूपमा मोबाइल नेटवर्क विस्तार सन् २०३० जनवरी १ भन्दा अगाडि सुरु हुने छैन। स्पेक्ट्रम वितरणको समयतालिकाअनुसार यो मिति थप पछाडि पनि सर्न सक्ने अफकमले जनाएको छ।

बेलायतका अन्य क्षेत्रमा भने माथिल्लो ६ गिगाहर्ज ब्यान्डको अवस्था यथावत् रहनेछ। त्यहाँ फिक्स्ड लिंक सेवाका लागि नयाँ लाइसेन्स आवेदनसमेत खुला रहने अफकमले जनाएको छ।

यस विषयमा जीएसएमएले मोबाइल उद्योगका लागि थप स्पेक्ट्रम उपलब्ध गराउन निरन्तर पैरवी गर्दै आएको छ। गत सेप्टेम्बरमा पनि उसले मोबाइल उद्योग माथिल्लो ६ गिगाहर्ज फ्रिक्वेन्सी प्रयोग गर्न तयार रहेको जनाएको थियो।

जीएसएमएका अनुसार ६० भन्दा बढी मोबाइल सेवा सञ्चालक, उपकरण निर्माता, नेटवर्क विक्रेता, चिपसेट निर्माता र अन्य कम्पनीले यो फ्रिक्वेन्सी प्रयोग गर्न सक्ने विभिन्न उत्पादन तथा समाधान उपलब्ध गराइसकेका छन्। विश्वको ८० प्रतिशतभन्दा बढी जनसंख्या प्रतिनिधित्व गर्ने देशहरूले पनि ६४२५ देखि ७१२५ मेगाहर्जसम्मको फ्रिक्वेन्सी मोबाइल सेवामा प्रयोग गर्न समर्थन जनाइसकेको जीएसएमएको दाबी छ।

Sajilo Visa
easy care