अमेजन, गुगल र मेटाको विरोधका बाबजुद चिनियाँ डाटा सेन्टर उपकरणमा प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको तयारी
काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चिनियाँ डेटा सेन्टर उपकरणको आयात रोक्ने योजना अघि बढाउने भएको छ। अमेजन, गुगल, मेटालगायत अमेरिकी प्रविधि कम्पनीहरूले विरोध जनाए पनि प्रशासनले प्रतिबन्धको प्रक्रिया अगाडि बढाउन लागेको रोयटर्सले जनाएको छ।
अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चिनियाँ कम्पनीले उत्पादन गरेका नयाँ मोडेलका अप्टिकल ट्रान्ससिभर आयातमा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको थियो। डेटा सेन्टरभित्र फाइबर अप्टिक केबलमार्फत तीव्र गतिमा सूचना आदानप्रदान गर्न यस्तो उपकरण प्रयोग हुन्छ।
यस प्रस्तावप्रति माइक्रोसफ्टसँगै अमेजन, गुगल, मेटा, कोरविभ र सिस्कोले पनि असन्तुष्टि जनाएका छन्। यी कम्पनीका प्रतिनिधिहरूले यसअघि ह्वाइट हाउसका अधिकारीहरूसँगको बैठकमा प्रस्तावित प्रतिबन्ध कार्यान्वयन गर्न अमेरिकी कम्पनीहरूलाई १० वर्षसम्म लाग्न सक्ने बताएका थिए।
रोयटर्सका अनुसार कम्पनीहरूको लबिङका कारण प्रतिबन्ध कार्यान्वयन हुनेमा अन्योल देखिए पनि प्रशासनले प्रक्रिया अघि बढाइरहेको विषयमा जानकार तीन स्रोतले रोयटर्सलाई बताएका छन्। यद्यपि, प्रशासनभित्रको धारणा परिवर्तन भएमा योजना रोक्न सकिने उनीहरूको भनाइ छ।
समाचार सार्वजनिक भएपछि अमेरिकी अप्टिकल ट्रान्ससिभर उत्पादक कम्पनी कोहेरन्टको सेयर मूल्य २.२ प्रतिशत र लुमेन्टमको १.५ प्रतिशतले बढेको थियो।
यसैबीच, अमेरिकी प्रविधि कम्पनीहरूले प्रतिबन्धबारे तत्काल टिप्पणी गरेका छैनन्। ह्वाइट हाउसका एक अधिकारीले भने विदेशी प्रविधिमाथि लगाइएका प्रतिबन्धले अमेरिकामा उत्पादन क्षेत्रमा अर्बौँ डलर लगानी र हजारौँ रोजगारी सिर्जना गरेको दाबी गरेका छन्।
चिनियाँ दूतावासले भने राष्ट्रिय सुरक्षाको अवधारणालाई विस्तार गरेर चिनियाँ कम्पनीमाथि दबाब दिन खोजिएको भन्दै विरोध जनाएको छ। चीनले आफ्ना कम्पनीको वैध अधिकार र हितको रक्षा गर्ने जनाएको छ।