Google

गुगलका कार्यकारी डोनाल्ड ह्यारिसनले किन छाडे स्पेसएक्सको सञ्चालक समिति?

गुगलका कार्यकारी डोनाल्ड ह्यारिसनले किन छाडे स्पेसएक्सको सञ्चालक समिति?
Global IME Bank

गुगलका वरिष्ठ कार्यकारी डोनाल्ड ह्यारिसनले एक दशकभन्दा बढी समयपछि स्पेसएक्सको सञ्चालक समिति (बोर्ड) बाट राजीनामा दिएका छन्।

रोयटर्सका अनुसार ह्यारिसनले नोभेम्बर ४ मा स्पेसएक्सलाई राजीनामाबारे जानकारी गराएका थिए। उनको राजीनामा तत्कालै लागू भएको थियो।

एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सले ह्यारिसनको राजीनामा कम्पनीको सञ्चालन, नीति वा कार्यशैलीसँग सम्बन्धित कुनै असहमतिका कारण नभएको जनाएको छ।

रोयटर्सका अनुसार ह्यारिसन गुगलमा लामो समयदेखि कार्यरत छन्। उनी हाल गुगलको विश्वव्यापी साझेदारी तथा कर्पोरेट विकास विभागका अध्यक्ष छन्। गुगलको मातृ कम्पनी अल्फाबेट स्पेसएक्सको सबैभन्दा ठूलो एकल संस्थागत सेयरधनी रहेको एलएसईजीको तथ्यांकमा उल्लेख छ।

तर, स्पेसएक्सका प्रमुख कार्यकारी एलन मस्कले भने अल्फाबेटसँग स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) बढेका कारण ह्यारिसनले बोर्ड छाडेको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल एक्समा मस्कले ह्यारिसनलाई राम्रो बोर्ड सदस्य भन्दै कम्पनीमा पुर्‍याएको योगदानका लागि धन्यवाद दिएका थिए। उनले अल्फाबेटसँग धेरै विषयमा स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था बनेकाले ह्यारिसनले पद छाडेको बताएका हुन्।

यसैबीच, गुगलले शुक्रबार स्पेसएक्समा आफ्नो सेयर स्वामित्व केही बढेको विवरण सार्वजनिक गरेको छ। यसअघि ५५ करोड १२ लाख कित्ता रहेको सेयर संख्या बढेर करिब ५५ करोड ५० लाख कित्ता पुगेको छ।

गुगल र स्पेसएक्स दुवै एआई पूर्वाधार तथा प्रविधि विकासका क्षेत्रमा सक्रिय रहेका बेला ह्यारिसनको राजीनामालाई दुई कम्पनीबीचको संस्थागत सम्बन्धका दृष्टिले पनि चासोका साथ हेरिएको छ।

Sajilo Visa
easy care