छ लाख ६२ हजार रुपैयाँ बराबरका मोबाइलका सामग्री बरामद
काठमाडौं ।
रुपन्देही प्रहरीले भन्सार छली गरी ल्याइएका रु छ लाखभन्दा बढी मूल्यका मोबाइलका विभिन्न पार्टपुर्जा तथा अन्य सामग्रीसहित मोटरसाइकल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित मसिनाबाट आइतबार इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले भारतीय मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा ती सामग्री बरामद गरेको हो ।
प्रहरीले एक हजार ३१ थान मोबाइल टेम्पर्ड ग्लास, २४० थान ग्लुसहितको कभर्ड ग्लास, ४३ थान आईफोन ब्याट्री, १०० थान एयरबड्स, १४६ थान आईफोन ब्याक प्यानल, छ थान एन्ड्रोइड ब्याक प्यानल र १०३ थान एन्ड्रोइड ब्याट्री बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार बरामद मोबाइल सामग्रीको अनुमानित मूल्य रु छ लाख ६२ हजार ६७० रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए। बरामद सामग्री तथा मोटरसाइकलका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस