ताजा समाचार

सञ्चारमन्त्री डा तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी : विभिन्न देशका समकक्षीसँग भेटवार्ता

सञ्चारमन्त्री डा तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी : विभिन्न देशका समकक्षीसँग भेटवार्ता
Global IME Bank

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) महासम्मेलन २०२६ (आइटियु पिपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाएका छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहामा रहेका सञ्चारमन्त्री डा तिमिल्सिनाले सोमबार दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डिइसीसी)मा आयोजित सम्मेलनको उद्घाटन समारोहमा सहभागिता जनाएका हुन्।
उनले सम्मेलनका सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरूको औपचारिक बैठकमा समेत भाग लिए। सो अवसरमा उनले मित्रराष्ट्रका समकक्षीहरूसँग अन्तरक्रिया गरेको नेपाली दूतावास, दोहाद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
सम्मेलनका क्रममा आइटियूको रेडियोकम्युनिकेसन ब्युरोको निर्देशक पदका फ्रान्सेली उम्मेदवार एरिक फोर्नियरले सञ्चारमन्त्री डा तिमिल्सिनासँग शिष्टाचार भेट गरेका थिए। फोर्नियरले नेपालका लागि स्पेक्ट्रम तथा भूउपग्रह कक्ष व्यवस्थापनसम्बन्धी विषयमा छलफल गरेका थिए। उनले उक्त पदका लागि आफ्नो दृष्टिकोण तथा योजनाबारे पनि सञ्चारमन्त्री डा तिमिल्सिनालाई जानकारी गराए।
त्यसैगरी, सञ्चारमन्त्री डा तिमिल्सिनाले इरानका सूचना तथा सञ्चार प्रविधिमन्त्री सत्तार हाशेमी र तान्जानियाका सञ्चार तथा सूचना प्रविधिमन्त्री एन्जेलाह जस्मिन कैरुकीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। उक्त भेटवार्तामा दुवै पक्षबीच आपसी हित र चासोका विषयमा छलफल भएको विज्ञप्ति जनाइएको छ।
यसैबीच, मन्त्री डा तिमिल्सिनाले साँझ कतार सरकारद्वारा आइटियु पीपी–२६ मा सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका लागि आयोजित रात्रिभोजमा सहभागिता जनाएका थिए।
अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घको महासम्मेलन दूरसञ्चार तथा सूचना प्रविधिको विश्वव्यापी नीति, नियमन र सहकार्यका विषयमा छलफल हुने महत्वपूर्ण अन्तरराष्ट्रिय मञ्च हो। रासस
Sajilo Visa
easy care