फोन नम्बर पहिचानभन्दा बाहिर सेवा विस्तार गर्दै ट्रुकलर: स्क्याम चेकर एण्ड्रोइड सेवा शुरु

  • Technology Khabar | १३ आश्विन २०८३, मंगलवार
फोन नम्बर पहिचानभन्दा बाहिर सेवा विस्तार गर्दै ट्रुकलर: स्क्याम चेकर एण्ड्रोइड सेवा शुरु
तस्बिर: टेलिग्राफ

काठमाडौं ।

फोन नम्बर पहिचान गर्ने व्यवसायमार्फत ५० करोडभन्दा बढी प्रयोगकर्तालाई सेवा दिँदै आएको ट्रुकलरले अब आफ्नो ठगी पहिचानसम्बन्धी जानकारी खुला इन्टरनेटमा उपलब्ध गराउने भएको छ।

यसका लागि प्रयोगकर्ताले कुनै एप डाउनलोड गर्न वा साइन इन गर्नु नपर्ने कम्पनीलाई उद्धृत गर्दै टेकक्रञ्चले उल्लेख गरेको छ।

स्विडेनको यो कम्पनीले आइतबार ‘स्क्याम चेकर’ नामक नयाँ वेब तथा एन्ड्रोइड सेवा सुरु गरेको छ। यसबाट प्रयोगकर्ताले शंकास्पद फोन नम्बर, लिंक वा सन्देश राखेर त्यो ठगीसँग सम्बन्धित छ वा छैन भनेर जाँच गर्न सक्नेछन्।

यो सेवा सञ्चालनका लागि ट्रुकलरको प्रयोगकर्ता समुदायले उपलब्ध गराएका ठगीसम्बन्धी विवरणहरू प्रयोग गरिनेछ। यद्यपि, फोन नम्बरसँग सम्बन्धित नामसहितका विस्तृत जानकारी भने साइन इन गर्नुपर्ने ट्रुकलरको विद्यमान सेवाबाट मात्र उपलब्ध हुनेछन्।

कम्पनीका अनुसार यो निःशुल्क सेवा सुरुमा भारतमा उपलब्ध हुनेछ। त्यसपछि ल्याटिन अमेरिका, मध्यपूर्व तथा अफ्रिका र दक्षिणपूर्वी एसियामा विस्तार गर्ने योजना छ।

यो सेवाले प्रयोगकर्तालाई आफ्नो एपतर्फ आकर्षित गर्नुका साथै कुनै समयमा फैलिरहेका ठगीका गतिविधिबारे ट्रुकलरलाई थप जानकारी पनि उपलब्ध गराउन सक्छ।

टेकक्रञ्चका अनुसार यसले ट्रुकलर फर बिजनेसअन्तर्गत व्यावसायिक संस्थाहरूलाई बिक्री गरिने ठगी तथा जोखिम पहिचानसम्बन्धी सेवामा पनि सहयोग पुग्न सक्छ। यद्यपि, कम्पनीका प्रमुख कार्यकारी अधिकृत रिशित झुनझुनवालाका अनुसार स्क्याम चेकर विशेषगरी सर्वसाधारण प्रयोगकर्ताका लागि लक्षित छ।

ट्रुकलरको स्क्याम चेकरले प्रयोगकर्ताले उपलब्ध गराएको लिंक जाँच गर्छ। यसले छोट्याइएका यूआरएललाई विस्तार गर्नुका साथै विभिन्न रिडाइरेक्ट हुँदै अन्तिम गन्तव्यसम्म पुगेर लिंकको परीक्षण गर्छ।

त्यसपछि कम्पनीको आफ्नै जोखिमसम्बन्धी तथ्यांक र अन्य ठगीका संकेतसँग तुलना गरेर नतिजा दिन्छ। प्रयोगकर्ताले शंकास्पद सन्देश पनि राख्न सक्नेछन्। यस्तो अवस्थामा सेवाले सन्देशबाट फोन नम्बर वा लिंक पहिचान गरेर ट्रुकलरको समुदायमा उपलब्ध सम्बन्धित विवरण देखाउनेछ।

फोन कलमा मात्र सीमित नरही ठगीका घटना टेक्स्ट म्यासेज, मेसेजिङ एप र वेब लिंकमार्फत पनि हुन थालेका बेला कम्पनीले यो सेवा सुरु गरेको हो। सन् २०२५ मा भारतका वयस्कहरूबीच गरिएको जीएसएमएको सर्वेक्षणअनुसार ठगीमा परेको बताउनेमध्ये ४६ प्रतिशतले मेसेजिङ एपमार्फत, ३७ प्रतिशतले एसएमएसमार्फत र ३२ प्रतिशतले भ्वाइस कलमार्फत ठगीको प्रयास भएको बताएका थिए।

ट्रुकलरले आफ्ना विद्यमान प्रमाणीकरण सेवामा हुने खोजी र ट्राफिकको विश्लेषणका आधारमा मानिसहरूले शंकास्पद लिंक र फोन नम्बर जाँच गर्न प्रत्येक महिना करिब एक करोड ४० लाख पटक वेबमा खोजी गर्ने अनुमान गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत झुनझुनवालाले यही व्यवहारले स्क्याम चेकरको विकासमा भूमिका खेलेको टेकक्रन्चलाई बताएका छन्।

झुनझुनवालाले भने, “तपाईंलाई यसको आवश्यकता पर्दा प्रायः तपाईं अन्यत्रै हुनुहुन्छ। ह्वाट्सएपमा कुनै लिंक आउँछ। तपाईंकी आमालाई ट्राफिक जरिवानासम्बन्धी सन्देश आउँछ। कुनै साथीले स्क्रिनसट पठाएर ‘के यो वास्तविक हो?’ भनेर सोध्छ। यस्तो अवस्थामा मानिसहरूले गर्ने भनेको खोजी नै हो।”

ठगी पहिचान गर्ने प्रयासमा ट्रुकलरको प्रयोगकर्ता समुदाय महत्त्वपूर्ण बन्दै गएको छ। कम्पनीले टेकक्रन्चलाई दिएको जानकारीअनुसार भारतमा यसको क्राउडसोर्सिङ फिड ‘स्क्यामफिड’ मा हाल करिब २० हजार ठगीसम्बन्धी विवरण उपलब्ध छन्। प्रयोगकर्ताले यसमा ठगीका घटनाबारे जानकारी राख्न र छलफल गर्न सक्छन्। प्रत्येक हप्ता यसमा करिब एक हजार ३०० नयाँ विवरण थपिने गरेका छन्।

कम्पनीका अनुसार सेप्टेम्बर १४ देखि २० सम्म विश्वभरका १२ अर्ब ९० करोड सन्देशको मूल्यांकन गर्दा दुई करोड तीन लाख सन्देशलाई ठगीपूर्ण भनेर पहिचान गरिएको थियो।

निकट भविष्यमा स्क्याम चेकरले पहिचान गर्न सक्ने ठगीका प्रकार विस्तार गर्ने र थप विश्लेषणका लागि स्क्रिनसट अपलोड गर्न सकिने सुविधा थप्ने योजना रहेको कम्पनीले जनाएको छ।

ट्रुकलरले फोन नम्बर पहिचान सेवाभन्दा बाहिर विस्तार गर्ने योजना बनाइरहेका बेला भारतमा यसको मुख्य व्यवसायले नयाँ चुनौती सामना गरिरहेको छ। भारत कम्पनीको सबैभन्दा ठूलो बजार हो, जहाँ यसका ३५ करोडभन्दा बढी प्रयोगकर्ता छन्।

दूरसञ्चार कम्पनीहरूले केन्द्र सरकारको समर्थनमा कलिङ नेम प्रेजेन्टेसन सेवा विस्तार गरिरहेका छन्। यसैगरी एप्पल र गुगलले पनि आफ्ना फोनमा कलर पहिचान र स्पाम सुरक्षा सुविधाहरू थपेका छन्।

गत साता भारतको दूरसञ्चार नियामकले फोन नम्बर पहिचान गर्ने एपहरूलाई प्रयोगकर्ताले पठाएका स्पामसम्बन्धी विवरण दूरसञ्चार सेवा प्रदायकहरूसँग साझा गर्न आदेश दिएको थियो। ट्रुकलरले भने यसलाई ‘एकतर्फी आदानप्रदान’ भन्दै आलोचना गरेको थियो।

यससँगै ट्रुकलरको ध्यान फोन नम्बर पहिचान सेवाभन्दा बाहिर विस्तार हुँदै गएको छ।

झुनझुनवालाले भने, “कलर आईडी हाम्रो पहिलो समाधान थियो र अझै पनि धेरैजसो मानिसले हामीलाई यही सेवाका कारण चिन्छन्। तर ठगी गर्नेहरूले लिंक र सन्देशमार्फत विभिन्न माध्यम प्रयोग गर्न थालेका छन्। अहिले उनीहरूले भ्वाइस र भिडियोको पनि प्रयोग गर्न थालेका छन्। त्यसैले हाम्रो सुरक्षा प्रणाली पनि ठगी गर्नेहरूको तरिकाअनुसार अघि बढ्नुपर्छ।”

प्रकाशित: १३ आश्विन २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार