माइक्रोसफ्टको सेवा अवरुद्ध हुँदा व्यवसाय र सरकारी निकायका आउटलुक र टिम्स घण्टौँसम्म प्रभावित
काठमाडौं ।
माइक्रोसफ्टका आउटलुक र टिम्सजस्ता सेवाहरू बिहीबार करिब १० घण्टासम्म अवरुद्ध भएका छन्। केही सर्भरमा देखिएका समस्या समाधान गर्न प्रविधि कम्पनी माइक्रोसफ्टले संघर्ष गर्दा विश्वभर यी लोकप्रिय प्लेटफर्म प्रयोग गर्ने व्यवसाय र सरकारी निकायहरू प्रभावित भएका छन्।
आफ्नो पछिल्लो जानकारीमा माइक्रोसफ्टले सेवा सुधार गर्ने प्रयास अपेक्षाअनुसार अघि बढ्न नसकेको जनाएको छ। कम्पनीले भनेको छ, “लामो समयदेखि कायम रहेको ट्राफिक व्यवस्थापनको असन्तुलनलाई सम्बोधन गर्दै क्षमता बढाउन सकिने वैकल्पिक उपायहरू पहिचान गरिरहेका छौँ।”
विभिन्न स्रोतबाट प्राप्त सेवाको अवस्थासम्बन्धी विवरण संकलन गरेर सेवा अवरोधको निगरानी गर्ने डाउनडिटेक्टरका अनुसार बिहीबार राति ९:३० बजे (अमेरिकी पूर्वी समय) अमेरिकामा आउटलुकमा समस्या आएको भन्दै २५ हजारभन्दा बढी रिपोर्ट प्राप्त भएका थिए। शुक्रबार बिहान स्थानीय समयअनुसार एसिया-प्रशान्त क्षेत्रका भारत, अस्ट्रेलिया र जापानलगायत देशमा पनि माइक्रोसफ्टका विभिन्न सेवामा अवरोध देखिएको थियो।
डाउनडिटेक्टरका अनुसार बिहीबार दिउँसो १ बजेतिर अमेरिकामा आउटलुकमा समस्या आएको भन्दै रिपोर्ट गर्नेको संख्या एक लाख ३० हजारभन्दा बढी पुगेको थियो।
सेवाको अवस्थासम्बन्धी सूचनामा माइक्रोसफ्टले एक्सचेन्ज अनलाइन र इमेलमा निर्भर माइक्रोसफ्ट ३६५ सेवाका सुविधाहरू प्रभावित भएको जनाएको छ। तर एक्सचेन्ज अनलाइनमा निर्भर नभएका सेवाहरू भने सञ्चालनमै रहेका थिए। एक्सचेन्ज अनलाइन कम्पनीको क्लाउडमा आधारित सन्देश आदानप्रदान गर्ने प्लेटफर्म हो, जसले इमेल, क्यालेन्डर, सम्पर्क विवरण र कार्य व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्छ।
इमेल प्रणालीमा प्रभाव
अस्ट्रेलियाका गृह मामिला तथा साइबर सुरक्षा मन्त्री टोनी बर्कले माइक्रोसफ्टले यो समस्या साइबर आक्रमणका कारण नभएको विश्वास गरेको बताएका छन्।
पत्रकार सम्मेलनमा बर्कले भने, “उनीहरूको विश्वासमा यो समस्या केही हदसम्म क्राउडस्ट्राइकमा देखिएजस्तै हो, जहाँ एउटा अपडेटमा गडबडी भएको थियो।”
मन्त्रीले थपे, “उनीहरूले सामना गरिरहेको समस्या मुख्य रूपमा इमेल प्रणालीमा केन्द्रित छ।”
शुक्रबार अस्ट्रेलियाको गुप्तचर निकाय र संघीय प्रहरीसमेत सेवा अवरोधबाट प्रभावित भएका संस्थामध्ये थिए।
रोयटर्सका अनुसार सन् २०२४ मा क्राउडस्ट्राइकमा आएको खराबी इन्टरनेट इतिहासकै सबैभन्दा ठूलो अवरोधमध्ये एक थियो। त्यसका कारण अस्पताल, बैंक र विमानस्थलका प्रविधि प्रणाली प्रभावित भएका थिए। यस घटनाले विश्वभर एकअर्कासँग जोडिएका प्रविधि प्रणाली कति जोखिमपूर्ण छन् भन्ने देखाएको थियो।
अमेरिकी प्रतिनिधिसभाले पनि सेवा अवरोधबाट आफ्ना प्रयोगकर्ताहरू प्रभावित भएको जनाएको छ। उसका इन्जिनियरहरू माइक्रोसफ्टसँग मिलेर समस्या समाधानमा काम गरिरहेका छन्।
यसअघि बिहीबार माइक्रोसफ्टले केही सर्भर अप्रत्याशित रूपमा उपलब्ध हुन नसकेको जनाएको थियो। कम्पनीले ट्राफिक बढेका कारण समस्या उत्पन्न नभएको स्पष्ट पारेको थियो।
त्यसपछि माइक्रोसफ्टले पुनः सञ्चालनमा ल्याइएका सर्भरहरू अहिलेसम्म स्थिर रहेको र सम्भव भएका स्थानमा ट्राफिकलाई वैकल्पिक मार्गतर्फ पठाइरहेको जनाएको थियो। साथै, प्रभावित बाँकी सर्भरहरू पुनः सञ्चालनमा ल्याउने प्रक्रिया पनि सरल बनाइरहेको कम्पनीले बताएको थियो।
माइक्रोसफ्टले यसअघिको विज्ञप्तिमा भनेको थियो, “सेवाको क्षमता पुनःस्थापित हुँदै जाँदा प्रयोगकर्ताका उपकरणहरू पुनः जडान हुने क्रममा सेवा क्रमशः सामान्य अवस्थामा फर्किन सक्छ।”
बिहीबार साँझ ६ बजे (अमेरिकी पूर्वी समय) माइक्रोसफ्टले प्रयोगकर्ताहरू क्रमशः पुनः जडान हुँदै गर्दा सेवामा सीमित सुधार देखिएको जनाएको थियो।
व्यवसायहरू प्रभावित
ओपनएआईले माइक्रोसफ्ट कनेक्टरमा देखिएको समस्याबारे अनुसन्धान गरिरहेको जनाएको छ। उक्त समस्याका कारण नयाँ कनेक्सनहरू अवरुद्ध हुन सक्ने र उपकरणहरूले अपेक्षाअनुसार काम नगरेको कम्पनीले बताएको छ।
एन्थ्रोपिकले पनि माइक्रोसफ्ट ३६५ कनेक्टरलाई असर गर्ने समस्या आफ्नो सेवा प्रदायकको माथिल्लो तहमा पहिचान गरेको जनाएको छ।
माइक्रोसफ्टले गत महिना पनि आफ्नो एज्योर क्लाउड प्लेटफर्ममा सेवा अवरोध भएको जानकारी दिएको थियो। त्यसबाट कम्पनीका विभिन्न उत्पादकत्वसम्बन्धी सफ्टवेयर र विश्वभरका विभिन्न उद्योग प्रभावित भएका थिए।
विद्युतीय ट्रक निर्माता वर्कहर्स ग्रुपले विश्वव्यापी माइक्रोसफ्ट सेवा अवरोधका कारण व्यवसायमा परेको असरलाई उल्लेख गर्दै नोभेम्बर १२ मा सार्वजनिक गर्ने भनिएको तेस्रो त्रैमासिक वित्तीय नतिजा नोभेम्बर १६ मा सार्वजनिक गर्ने गरी मिति सारेको छ।