एन्ड्रोइडका लागि ह्वाट्सएपमा निलो टिक नदेखाई म्यासेज पढ्न मिल्ने नयाँ फिचर परीक्षण हुँदै
काठमाडौं ।
ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ फिचर परीक्षण गरिरहेको छ। यसले प्रयोगकर्तालाई म्यासेज पढेको जानकारी नपठाई म्यासेज हेर्न सुविधा दिनेछ। यसको अर्थ म्यासेज पठाउने व्यक्तिले आफूले पठाएको म्यासेज खोलिएको जानकारी दुईवटा निलो टिकमार्फत पाउने छैनन्।
एन्ड्रोइड अथोरिटी पोर्टलका अनुसार ह्वाट्सएपको एन्ड्रोइड बिटा संस्करण २.२६.४४.१२ मा यो नयाँ फिचर फेला परेको हो। अहिले यो विकासकै चरणमा रहेको छ।
यो फिचर म्यासेज सूचीमा रहेको कुनै कुराकानीलाई केही समय थिचेर राख्दा खुल्ने प्रिभ्यु विन्डोमार्फत काम गर्नेछ। यसरी प्रयोगकर्ताले सम्बन्धित कुराकानीभित्रै प्रवेश नगरी पछिल्ला म्यासेजहरू हेर्न सक्नेछन्।
यसको अर्को रोचक सुविधा भनेको प्रयोगकर्ताले रिड रिसिप्ट अर्थात् म्यासेज पढेको जानकारी पठाउने सुविधा सक्रिय नगरी यही विन्डोभित्र पुराना म्यासेजहरू पनि हेर्न सक्नेछन्।
यसका साथै नयाँ विन्डोमा कुराकानी व्यवस्थापन गर्न केही छिटो प्रयोग गर्न मिल्ने विकल्प पनि उपलब्ध हुनेछन्। यसमा कुराकानी आर्काइभ गर्ने, नोटिफिकेसन बन्द गर्ने, कुराकानीलाई म्यासेज सूचीको सबैभन्दा माथि राख्ने र मेटाउने विकल्प समावेश छन्।
टेलिग्राफका अनुसार यो फिचर आईफोनमा उपलब्ध म्यासेज प्रिभ्यु सुविधासँग मिल्दोजुल्दो छ। तर एन्ड्रोइड संस्करणमा भने अझ बढी सुविधा र लचकता हुने अपेक्षा गरिएको छ।
यद्यपि, यो फिचर अहिलेसम्म सबै बिटा परीक्षकका लागि उपलब्ध भएको छैन। ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताका लागि यो फिचर आधिकारिक रूपमा कहिले सार्वजनिक गर्ने भन्ने जानकारी पनि दिएको छैन।
यदि यो फिचरले परीक्षण चरण सफलतापूर्वक पार गरेमा प्रयोगकर्ताले आफ्नो गोपनीयता र ह्वाट्सएपमा कुराकानी गर्ने तरिकामाथि अझ बढी नियन्त्रण पाउन सक्नेछन्।