एनभिडियाका सीईओ जेन्सेन हुआङलाई हटाउने तयारी
काठमाडौं ।
अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङलाई पदबाट हटाउने विषयमा सञ्चालक समितिले छलफल गर्न लागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
उनीमाथि विवाहेतर सम्बन्ध र विदेशी गुप्तचरीसँग जोडिएका आरोप सार्वजनिक भएपछि कम्पनीले अनुसन्धानसमेत थालेको छ।
वाल स्ट्रिट जर्नलका अनुसार, हुआङको भविष्यबारे छलफल गर्न सञ्चालक समितिले बुधबार आकस्मिक बैठक बोलाउने तयारी गरेको थियो । न्युयोर्क टाइम्सले उनको कम्पनीकै उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि विवाहेतर सम्बन्ध रहेको दाबी गरेको छ। यसअघि सिङ्गापुरस्थित डेटा सेन्टर कम्पनीकी वरिष्ठ अधिकारी एलिस हुआङसँगको सम्बन्ध सार्वजनिक भएको थियो ।
हुआङले एनभिडियाका कर्मचारीलाई पठाएको सन्देशमा एलिससँगको सम्बन्ध स्वीकार गर्दै पत्नीप्रति बेइमानी गरेको बताएका थिए। अमेरिकी गुप्तचर निकायले एलिस चीनको राज्य सुरक्षा मन्त्रालयसँग आबद्ध रहेको आरोप लगाएको विवरण पनि सार्वजनिक भएको छ।
एनभिडियाको सञ्चालक समितिले हुआङ विदेशी गुप्तचरको निशानामा परेको रिपोर्टबारे स्वतन्त्र अनुसन्धान सुरु गरेको जनाएको छ। उनले अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन्। यसैबीच, अमेरिकी कङ्ग्रेसले पनि एलिससँगको सम्बन्धबारे उनीसँग बन्द कोठामा जानकारी मागेको न्युयोर्क टाइम्सले जनाएको छ ।
व्यक्तिगत सम्बन्धसम्बन्धी विवरण सार्वजनिक भएपछि एनभिडियाको सेयरमा गिरावट आएको छ । कम्पनी र हुआङविरुद्ध लगानीकर्तासँगको सम्बन्धबारे आवश्यक जानकारी नदिएको आरोपमा सेयरधनीहरूले सामूहिक मुद्दासमेत दायर गरेका छन् । कृत्रिम बौद्धिकता (एआई) प्रविधिका लागि चिप उत्पादन गर्ने एनभिडिया विश्वकै प्रभावशाली प्रविधि कम्पनीमध्ये एक हो ।