नोकियाले पायो वन एनजेडको नेटवर्क अटोमेशनसम्बन्धी ठेक्का
काठमाडौं ।
न्युजिल्यान्डको दूरसञ्चार कम्पनी वन न्युजिल्यान्डले नेटवर्क स्वायत्तता र कृत्रिम बुद्धिमतामा आधारित सञ्चालन प्रणालीको उच्च स्तरमा पुग्न नोकियाको सहयोग लिने भएको छ।
विस्तार गरिएको नयाँ साझेदारीअन्तर्गत दूरसञ्चार कम्पनीले नोकियाको एस्योरेन्स सेन्टर र अटोनोमस नेटवर्क्स डाटा सुइट प्रयोग गर्नेछ। फिनल्यान्डको नोकियाले अनुसन्धान तथा विकासमा संयुक्त काम र परामर्श सेवा पनि उपलब्ध गराउनेछ।
नोकियाका अनुसार एस्योरेन्स सेन्टरले नेटवर्क, सेवा, ग्राहक र सुरक्षा प्रणालीलगायत विभिन्न प्रकारका तथ्यांक संकलन तथा विश्लेषण गरी स्वचालित सञ्चालन प्रक्रिया सुरु गर्छ। यसले दूरसञ्चार कम्पनीलाई सम्भावित समस्या पहिल्यै अनुमान गर्न र रोक्न सहयोग गर्छ। त्यस्तै, डाटा सुइटले नेटवर्कसम्बन्धी तथ्यांकलाई एकरूप ढाँचामा व्यवस्थित गर्छ, जसले कृत्रिम बुद्धिमतामा आधारित स्वचालन प्रणालीले ती तथ्यांक प्रयोग गर्न सहज बनाउँछ।
टेलिकम्स डटकमका अनुसार यी प्रणाली लागू भएपछि वन एनजेडले नेटवर्कको अवस्था पहिले नै अनुमान गर्न, छिटो निर्णय लिन र ग्राहकलाई असर पर्नुअघि नै आवश्यक कदम चाल्न सक्ने नोकियाले जनाएको छ।
“स्वायत्त नेटवर्कको लक्ष्य अब केवल धेरै काम स्वचालित बनाउनु मात्र होइन। बदलिँदो अवस्था पहिचान गर्न, विश्वासयोग्य निर्णय लिन र मेसिनको गतिमा काम गर्न सक्ने नेटवर्क निर्माण गर्नु हो,” नोकियाका स्वायत्त नेटवर्क प्रमुख श्कुम्बिन हामितीले भने। “वन न्युजिल्यान्डसँग मिलेर हामी नेटवर्क स्वायत्तताको उच्च स्तरतर्फ अघि बढ्ने स्पष्ट बाटो तयार गर्दैछौँ। यसका लागि नेटवर्कको कार्यसम्पादन र ग्राहक अनुभव सुधार गर्न आवश्यक पारदर्शिता तथा सञ्चालन नियन्त्रण पनि सुनिश्चित गरिनेछ।”
सन् २०२५ मा वन एनजेडले नोकियाको युनिफाइड इन्भेन्टरी एन्ड अर्केस्ट्रेसन सेन्टर प्रयोग गर्ने सम्झौता गरेको थियो। पहिलो प्रणालीले कम्पनीलाई आफ्नो नेटवर्कको अवस्थाबारे वास्तविक समयमा जानकारी राख्न सहयोग गर्छ भने दोस्रो प्रणालीले विभिन्न कम्पनीका उपकरण र प्रविधि प्रयोग भएका नेटवर्कमा सेवाको डिजाइन, वितरण तथा जीवनचक्र व्यवस्थापन स्वचालित बनाउन सक्छ।
वन एनजेडले विस्तारित साझेदारीलाई आफ्नो स्वचालन यात्राको अर्को चरण भनेको छ।
“पहिलेदेखि लागू भएका क्षमतामा आधारित भएर हामी पूर्वानुमानमा आधारित तथ्यांकमुखी सञ्चालनका लागि अझ बलियो आधार तयार गर्दैछौँ। साथै, नेटवर्कको कार्यसम्पादन र ग्राहकलाई उपलब्ध गराउने सेवाको अनुभव सुधार्न कृत्रिम बुद्धिमता तथा स्वचालनको प्रयोग क्रमशः विस्तार गर्दैछौँ,” वन एनजेडकी प्रमुख प्रविधि अधिकृत शारिना निशाले भनिन्।
नोकिया र एरिक्सन दुवै कम्पनी अहिले स्वचालनको नयाँ युगमा दूरसञ्चार उद्योगलाई नेतृत्व गर्ने आपूर्तिकर्ताका रूपमा आफ्नो पहिचान स्थापित गर्ने प्रतिस्पर्धामा छन्।
हालैका गतिविधिमध्ये नोकियाले कृत्रिम बुद्धिमता मोडेलले प्रयोग गर्न सक्ने गरी दूरसञ्चार नेटवर्कका तथ्यांक संकलन, सफाइ र भण्डारणलाई सहज बनाउन माइक्रोसफ्टसँग साझेदारी गरेको छ। सेप्टेम्बरमा नोकियाले साउदी अरब सरकारसँग रियादमा नयाँ अनुसन्धान तथा विकास केन्द्र स्थापना गर्ने सम्झौता गरेको थियो। उक्त केन्द्रले स्वचालनसम्बन्धी अनुसन्धानलाई प्राथमिकता दिनेछ।
गृष्म ऋतुमा नोकियाले आफ्नो स्वायत्त नेटवर्किङ प्रणालीमा गुगल जेमिनाइका कृत्रिम बुद्धिमता एजेन्ट समावेश गरेको थियो। साथै, जापानको एनटीटी डोकोमोलाई क्लाउडमा आधारित तथा उद्देश्यअनुसार काम गर्ने नेटवर्किङ समाधान उपलब्ध गराउने सम्झौता पनि पाएको थियो।
एरिक्सन पनि पछिल्लो समय यस क्षेत्रमा सक्रिय छ। यसै महिनाको सुरुवातमा उसले अमेरिकी दूरसञ्चार कम्पनी भेरिजोनसँगको साझेदारी विस्तार गरेको थियो। यसले देशभर विभिन्न रेडियो एक्सेस नेटवर्क (आरएएन) स्वचालन एप्लिकेसन (आरएप्स) लागू गर्ने बाटो खुला गरेको छ। कम्पनीले क्लाउडमा आधारित कोर नेटवर्कका लागि गिटअप्समा आधारित घोषणात्मक जीवनचक्र तथा कन्फिगरेसन व्यवस्थापन प्रणाली पनि सार्वजनिक गरेको छ। यसले ठूलो स्तरमा स्वायत्त नेटवर्किङ समाधान लागू गर्न सहज बनाउने उद्देश्य राखेको छ।
गत महिना एरिक्सन र टेल्स्ट्राले स्वायत्त नेटवर्किङका लागि साझा दृष्टिकोण विकास गर्न भइरहेको कामबारे जानकारी दिएका थिए। अगस्टमा एरिक्सनलाई एसके टेलिकमको ‘हाइपर–एआई’ नामक समूहका लागि एकमात्र दूरसञ्चार उपकरण आपूर्तिकर्ताका रूपमा छनोट गरिएको थियो। उक्त समूहको प्राथमिकतामा पनि नेटवर्क स्वचालन रहेको छ।
दूरसञ्चार कम्पनीहरूबीच नेटवर्कको गुणस्तरका आधारमा प्रतिस्पर्धा बढिरहेको अवस्थामा न्यूनतम मानवीय हस्तक्षेपमा रेडियो स्पेक्ट्रमको अधिकतम उपयोग गर्न र बदलिँदो अवस्थाअनुसार वास्तविक समयमा आफूलाई अनुकूल बनाउन सक्ने कम्पनीलाई स्पष्ट लाभ हुनेछ। यस्तो लक्ष्य हासिल गर्न सबैभन्दा उपयुक्त समाधान आफूसँग रहेको प्रमाणित गर्ने जिम्मेवारी अब नोकिया र एरिक्सनको हुनेछ।