आफ्नो इन्टरप्राइज क्याम्पस एज व्यवसाय बिक्री गर्दै नोकिया

  • Technology Khabar | २९ आश्विन २०८३, बिहीबार
आफ्नो इन्टरप्राइज क्याम्पस एज व्यवसाय बिक्री गर्दै नोकिया
फाइल तस्बिर

काठमाडौं ।

नोकियाले आफ्नो इन्टरप्राइज क्याम्पस एज (ईसीई) व्यवसाय अरेलियसलाई बिक्री गर्न अन्तिम सम्झौतामा हस्ताक्षर गरेको छ। यो व्यवसाय गत वर्षको अन्त्यतिर नोकियाले रणनीतिक समीक्षामा राखेका क्षेत्रमध्ये एक थियो।

अरेलियसको स्वामित्वमा ईसीईले स्वतन्त्र व्यवसायका रूपमा काम गर्नेछ। जारी विज्ञप्तिअनुसार, यसले थप स्वतन्त्रता र रणनीतिक प्राथमिकतामा केन्द्रित हुन पाउनेछ।

यसबाट नवप्रवर्तनलाई अघि बढाउन, ग्राहकका आवश्यकता छिटो सम्बोधन गर्न तथा औद्योगिक सञ्चालनको डिजिटल रूपान्तरणलाई तीव्र बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ईसीईले निजी वायरलेस नेटवर्क सेवा उपलब्ध गराउँदै आएको छ। यसका उत्पादन तथा सेवाहरू उत्पादन उद्योग, खानी, ढुवानी तथा भण्डारण, विमानस्थल, बन्दरगाह र विद्युत् उत्पादनजस्ता क्षेत्रमा कार्यरत करिब ९०० ग्राहकले प्रयोग गर्दै आएका छन्।

यसका उत्पादनमा औद्योगिक उपकरण, आफ्नै परिसरमा सञ्चालन गर्न सकिने अपरेसनल टेक्नोलोजी (ओटी) एज तथा माइक्रो-एज समाधान र औद्योगिक क्षेत्रमा कृत्रिम बुद्धमतामा आधारित प्रयोगका लागि सफ्टवेयर एप्लिकेसन पनि समावेश छन्।

टेलिकम्स डटकमका अनुसार यसको डिजिटलाइजेसन प्लेटफर्मले विभिन्न उपकरण तथा प्रणालीलाई जोडेर र ओटीसम्बन्धी तथ्यांकलाई आफ्नै परिसरमा प्रशोधन गरेर संस्थाहरूलाई सञ्चालन क्षमता सुधार्न, स्वचालन बढाउन तथा दिगोपन र कामदारको सुरक्षा सुधार्न सहयोग गर्ने बताइएको छ।

नोकियाका प्रमुख कर्पोरेट विकास अधिकृत कोन्स्टान्टी ओभाचारेकले भने, “यो प्रस्तावित कारोबारले नोकियाको उत्पादन तथा सेवा पोर्टफोलियोलाई थप व्यवस्थित बनाउने र दीर्घकालीन रूपमा सबैभन्दा बढी मूल्य सिर्जना गर्न सक्ने क्षेत्रमा पुँजी तथा स्रोत केन्द्रित गर्ने रणनीतिलाई सहयोग गर्छ।

यसले ईसीईलाई स्वतन्त्र व्यवसायका रूपमा विकासको अर्को चरणमा प्रवेश गर्न बलियो आधार पनि प्रदान गर्छ। यो संक्रमण अवधिमा हाम्रो प्राथमिकता व्यवसायको निरन्तर वृद्धि तथा विद्यमान ग्राहक र कर्मचारीका लागि सेवा र रोजगारीको निरन्तरता सुनिश्चित गर्नु हुनेछ।”

अरेलियस फन्ड ४ र ५ का प्रबन्ध निर्देशक फाबियन स्टेगरले भने, “ईसीई फरक पहिचान भएको प्रविधि, दक्ष टोली, विश्वव्यापी उपस्थिति र स्थापित ग्राहक आधार भएको बलियो व्यवसाय हो।

यसका ग्राहकमा विभिन्न उद्योगका फर्च्युन ५०० सूचीमा रहेका धेरै कम्पनी पनि छन्। स्वतन्त्र व्यवसायका रूपमा ईसीईले निजी फाइभजी र औद्योगिक एज प्रविधिमा आफ्नो अग्रणी स्थानलाई अझ बलियो बनाउने, कृत्रिम बुद्धमतामा आधारित औद्योगिक स्वचालनजस्ता उदीयमान क्षेत्रमा आफ्नो पोर्टफोलियो विस्तार गर्ने र ग्राहकलाई सञ्चालनको डिजिटल रूपान्तरण तथा स्वचालन तीव्र बनाउन सहयोग गर्ने ठूलो अवसर हामी देख्छौँ।”

कारोबार पूरा भएपछि ईसीईका कर्मचारी पनि नयाँ स्वामित्वअन्तर्गतको व्यवसायमा हस्तान्तरण हुने अपेक्षा गरिएको छ। विद्यमान ग्राहक र कर्मचारीका लागि सेवा तथा रोजगारीको निरन्तरता सुनिश्चित गर्न दुवै कम्पनीले सहकार्य गरिरहेको जनाएका छन्। आवश्यक सर्तहरू पूरा भएमा यो कारोबार सन् २०२७ को पहिलो छमाहीमा सम्पन्न हुने अपेक्षा गरिएको छ।

नोकियाले गत वर्ष नोभेम्बरमा फिक्स्ड वायरलेस एक्सेस (एफडब्लूए) ग्राहक परिसर उपकरण (सीपीई), साइट कार्यान्वयन तथा बाह्य नेटवर्क पूर्वाधार, इन्टरप्राइज क्याम्पस एज र माइक्रोवेभ रेडियो युनिटको रणनीतिक समीक्षा सुरु गरेको थियो। त्यसबेला प्रकाशित समाचारअनुसार, यी व्यवसायले अघिल्लो १२ महिनामा संयुक्त रूपमा ९० करोड युरो आम्दानी गरेका थिए भने १० करोड युरो सञ्चालन घाटा बेहोरेका थिए।

यो कदम प्रमुख कार्यकारी अधिकृत जस्टिन हटार्डको योजनाअन्तर्गत नोकियामा भइरहेको व्यापक पुनर्संरचनाको हिस्सा हो। यस योजनाले कृत्रिम बुद्धमतामा केन्द्रित हुने रणनीतिलाई प्राथमिकता दिएको देखिन्छ।

यसअन्तर्गत नोकियालाई दुई प्रमुख विभागमा विभाजन गरिएको थियो। एउटा विभाग फिक्स्ड नेटवर्किङमा र अर्को मोबाइल नेटवर्कमा केन्द्रित हुने गरी संरचना बनाइएको थियो।

क्लाउड एन्ड नेटवर्क सर्भिसेज विभाग पनि खारेज गरिएको थियो। त्यस्तै, नोकिया डिफेन्सलाई थप प्राथमिकता दिँदै कम्पनीको रक्षा प्रविधिसम्बन्धी पोर्टफोलियोका लागि बजार विस्तार र अनुसन्धान तथा विकासको केन्द्रीय इकाइका रूपमा स्थापित गरिएको थियो।

नयाँ संरचनाअन्तर्गत नोकियाले सन् २०२४ मा रहेको २ अर्ब युरोको वार्षिक सञ्चालन नाफालाई सन् २०२८ सम्ममा २ अर्ब ७० करोडदेखि ३ अर्ब २० करोड युरोसम्म पुर्‍याउने लक्ष्य राखेको थियो।

प्रकाशित: २९ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×