Apple

व्यापारिक गोप्य सूचना चोरेको आरोप लगाउँदै ओपनएआईले एप्पलमाथि हाल्यो मुद्दा

व्यापारिक गोप्य सूचना चोरेको आरोप लगाउँदै ओपनएआईले एप्पलमाथि हाल्यो मुद्दा
फाइल तस्बिर
Global IME Bank

च्याटजीपीटी निर्माता ओपनएआईले प्रविधि कम्पनी एप्पलमाथि व्यापारिक गोप्य सूचना चोरेको र आफ्ना आगामी उपकरण निर्माणमा सहकार्य गर्न हार्डवेयर आपूर्तिकर्तालाई निरुत्साहित गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको छ।

एप्पलले आफ्ना कर्मचारीलाई प्रविधिसम्बन्धी गोप्य सूचना प्राप्त गर्ने उद्देश्यले ओपनएआईमा लगेको आरोप लगाउँदै मुद्दा दायर गरेपछि ओपनएआईले शुक्रबार अमेरिकाको क्यालिफोर्नियास्थित संघीय अदालतमा प्रतिउजुरी दिएको हो।

ओपनएआईले अदालतमा पेस गरेको उजुरीमा एप्पलको कर्मचारी व्यवस्थापन नीतिले कर्मचारीलाई आफ्नै कम्पनीमा बाँधेर राख्ने र प्रतिस्पर्धी कम्पनीका प्रविधिमा काम गर्नबाट रोक्ने उद्देश्य राखेको दाबी गरेको छ।

ओपनएआईले एआई सुविधासहितका व्यक्तिगत विद्युतीय उपकरण विकास गरिरहेको छ। यस्ता उपकरणले एप्पललाई आफ्नै बजारमा प्रतिस्पर्धामा पछि पार्न सक्ने कम्पनीको दाबी छ।

ओपनएआईका अनुसार एप्पलले आफ्ना एक पूर्वकर्मचारीलाई पुनः नियुक्त गरेर गोप्य सूचना प्राप्त गरेको हो। ती कर्मचारी ओपनएआईमा ६ महिना काम गरेका थिए। त्यस अवधिमा उनले कम्पनीको नयाँ उपकरण र भविष्यमा उत्पादन गर्ने हार्डवेयरसम्बन्धी योजनाबारे विस्तृत जानकारीमा पहुँच पाएका थिए।

ओपनएआईले अदालतमा पेस गरेको उजुरीमा भनेको छ, ‘घटनाको समयलाई हेर्दा ती कर्मचारी ओपनएआईमा प्रवेश गर्नुको उद्देश्य नै ती दस्तावेज चोर्नु थियो कि भन्ने अहिले देखिएको छ।’

एप्पलले भने पुनः नियुक्त गरिएका कर्मचारीमार्फत ओपनएआईको गोप्य सूचना प्राप्त गरेको आरोप अस्वीकार गरेको छ। एआई उपकरण निर्माणमा प्रतिस्पर्धा रोक्ने प्रयास गरेको आरोप पनि कम्पनीले खण्डन गरेको छ।

एप्पलले शुक्रबार जारी गरेको प्रतिक्रियामा ओपनएआईको प्रतिउजुरीलाई आफ्नो मुद्दाको वास्तविक विषयबाट ध्यान हटाउने प्रयास भनेको छ।

एआई उत्पादन विकास गर्ने प्रतिस्पर्धा तीव्र बन्दै जाँदा यी दुई प्रविधि कम्पनीबीच कर्मचारी र बौद्धिक सम्पत्तिको विषयलाई लिएर विवाद बढेको रोयटर्सले उल्लेख गरेको छ।

एप्पलले यसअघि गत जुलाईमा ओपनएआई तथा आफ्ना पूर्वकर्मचारी ट्याङ ट्यान र चाङ लिउविरुद्ध मुद्दा दायर गरेको थियो। कम्पनीले आफ्ना व्यापारिक गोप्य सूचना दुरुपयोग गरी ओपनएआईलाई उपभोक्ताका लागि हार्डवेयर उत्पादन विकास गर्न सहयोग पुर्‍याएको आरोप लगाएको थियो।

एप्पलमा २४ वर्ष काम गरेका ट्यान आईफोन र एप्पल वाचको उत्पादन डिजाइनसम्बन्धी उपाध्यक्ष थिए। उनी एआई उपकरण विकास गर्ने स्टार्टअप कम्पनी आईओ प्रोडक्ट्स स्थापना गर्ने टोलीमा सहभागी थिए। उक्त कम्पनीलाई सन् २०२५ मा ओपनएआईले अधिग्रहण गरेको थियो।

ओपनएआई र ती पूर्वकर्मचारीहरूले एप्पलका आरोप अस्वीकार गर्दै आएका छन्। उनीहरूका अनुसार एप्पलले लिउले कम्पनी छाडेपछि उनका व्यक्तिगत सन्देश अनधिकृत रूपमा निगरानी गरेर मुद्दा अघि बढाएको हो।

शुक्रबारको प्रतिउजुरीमा ओपनएआईले एप्पलले कर्मचारीलाई व्यक्तिगत एप्पल उपकरण र खाताबाट कार्यालयको काम गर्न प्रोत्साहित गर्ने तर जागिर छाड्दा व्यक्तिगत र व्यावसायिक खाता अलग गर्न सहज प्रक्रिया उपलब्ध नगराउने गरेको आरोप पनि लगाएको छ।

कम्पनी छाडेपछि पनि एप्पलले पूर्वकर्मचारीका व्यक्तिगत उपकरण र खातामा पहुँच कायम राख्ने गरेको ओपनएआईको दाबी छ। यसबाट प्रतिस्पर्धी कम्पनीमा जाने कर्मचारीको गतिविधि निगरानी गर्न र उनीहरूलाई समस्यामा पार्न एप्पललाई सहज भएको ओपनएआईले जनाएको छ।

ओपनएआईका अनुसार अहिलेसम्म एप्पलका ४०० कर्मचारी ओपनएआईमा प्रवेश गरिसकेका छन्। अन्य कर्मचारीलाई पनि एप्पल छाडेर प्रविधि क्षेत्रका प्रतिस्पर्धी कम्पनीमा जानबाट रोक्न एप्पलले डर देखाउने प्रयास गरिरहेको ओपनएआईको आरोप छ।

Sajilo Visa
easy care