काठमाडौं ।
बेलायतको प्रतिस्पर्धा तथा बजार नियामक (सीएमए) ले गुगल को नियन्त्रण बढी रहेको एण्ड्रोइड स्मार्टफोन र क्रोम ब्राउजरमा प्रयोगकर्तालाई थप सर्च इन्जिन छनोटको सुविधा दिने प्रयास गरिरहेको छ।
नियामकले प्रयोगकर्तालाई यी प्लेटफर्ममा आफ्नो रोजाइको सर्च सेवा छनोट गर्न दिने प्रस्ताव गरेको छ, जसले गर्दा गुगल को आफ्नै सर्च इन्जिन स्वतः प्रयोग नहोस्। सीएमए ले कृत्रिम बुद्धिमता सहायकसम्बन्धी नियम परिवर्तन गर्न र सर्चमा प्रकाशकको सामग्री प्रयोग गर्दा स्रोत स्पष्ट रूपमा उल्लेख गर्न पनि सर्च प्रदायकलाई बाध्य पार्न चाहेको छ। नयाँ प्रस्ताव २०२६ को सुरुवातमा सिफारिस गरिएका उपायपछि आएको हो।
सीएमएको पछिल्लो प्रस्तावमा तीन मुख्य सिफारिस छन्। पहिलो, गुगल र एण्ड्रोइड स्मार्टफोन निर्माता कम्पनीलाई प्रयोगकर्ताले पहिलो पटक फोन प्रयोग गर्दा वा क्रोम खोल्दा सर्च प्लेटफर्म छनोट गर्ने सुविधा दिन बाध्य पार्ने। त्यसपछि हरेक वर्ष पुनः सर्च इन्जिन छनोट गर्न सम्झाउने व्यवस्था गरिनेछ।
दोस्रो, निश्चित प्राविधिक र सुरक्षा मापदण्ड पूरा गर्ने कृत्रिम बुद्धिमता सहायकमध्ये प्रयोगकर्तालाई छनोटको सुविधा दिने प्रस्ताव छ। तेस्रो, सबै सर्च प्रदायकले सर्च परिणाम देखाउँदा प्रकाशकको सामग्रीको स्रोत उल्लेख गर्नुपर्ने सीएमए को प्रस्ताव छ, ताकि प्रयोगकर्ताले ती स्रोत सजिलै पहिचान गरी पहुँच गर्न सकून्।
इन्ग्याजेटका अनुसार बेलायतका प्रयोगकर्ताले अहिले पनि एण्ड्रोइड र क्रोम दुवैमा आफ्नो सर्च प्रदायक छनोट गर्न सक्छन्। त्यसैले नयाँ प्रस्तावले अहिलेको व्यवस्थालाई औपचारिक नियममा समेट्न खोजेको हुन सक्छ। तर यी प्लेटफर्ममा हरेक वर्ष सर्च इन्जिन छनोट गर्न सम्झाउने व्यवस्था भने नयाँ हुनेछ।
सीएमए की प्रमुख कार्यकारी अधिकृत सारा कार्डेलले भनिन्, “मानिसहरूले अनलाइन सूचना खोज्ने तरिका परिवर्तन भइरहेको छ र नयाँ सेवाले नवप्रवर्तन तथा प्रतिस्पर्धाका नयाँ अवसर सिर्जना गरिरहेका छन्। हामीले प्रतिक्रियालाई ध्यानपूर्वक सुनेका छौँ र कृत्रिम बुद्धिमता सहायकको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै छिटो प्रतिक्रिया दिइरहेका छौँ। मानिसहरूले यस्ता सहायकलाई आफ्नो सर्च सेवाका रूपमा बढ्दो रूपमा प्रयोग गरिरहेका छन्, तर गुगल का छनोट स्क्रिनमा यी समावेश छैनन्। बेलायतका मानिसले बजारमा नयाँ सर्च सेवा आएपछि आफूले चाहेको सेवा छनोट गर्न सकून् भन्ने सुनिश्चित गर्नु यसको उद्देश्य हो।”
नयाँ प्रस्ताव जुन ३ मा लागू गरिएको नयाँ नियमपछि आएको हो। उक्त नियमले प्रकाशकलाई कृत्रिम बुद्धिमताबाट तयार हुने सर्च परिणाममा आफ्नो सामग्री प्रयोग गर्न नदिने विकल्प दिएको छ। सीएमए ले जुन १७ मा गुगल को सर्च र्याङ्किङलाई निष्पक्ष बनाउन र डेटा अर्को सेवामा सार्न सकिने व्यवस्थासम्बन्धी आवश्यकता पनि लागू गरेको थियो।
यूरोपसहित धेरै क्षेत्रमा स्मार्टफोन निर्माता कम्पनीलाई प्रयोगकर्ताले पहिलो पटक फोन प्रयोग गर्दा सर्च इन्जिन र ब्राउजर छनोट गर्ने सुविधा दिन यसअघि नै अनिवार्य गरिएको छ।
कृत्रिम बुद्धिमता सहायकका हकमा गुगल को जेमिनी अझै गुगल सर्चसँग नजिकबाट जोडिएको छ, त्यसैले यसलाई परिवर्तन गर्ने सुविधा छैन। यसैबीच एप्पलले म्याकओएस २७ र आईओएस २७ मा तेस्रो पक्षका क्लोड जस्ता मोडललाई सिरी एआईको सर्भरको स्थानमा प्रयोग गर्न मिल्ने आन्तरिक सुविधा ल्याएको रिपोर्ट आएको छ। यो कृत्रिम बुद्धिमता सहायकसम्बन्धी नयाँ नियमको सम्भावित तयारीका रूपमा हेरिएको छ।
प्रकाशित: ८ आश्विन २०८३, बिहीबार