काठमाडौं ।
भारतमा सरकारी कार्यालयमा बम विस्फोटको झूटो धम्की पठाउन ५ लाखभन्दा बढी नक्कली जीमेल खाता बनाएर सञ्चालन गर्ने आपराधिक सञ्जाललाई ध्वस्त पारेपछि भारतीय प्रहरीले सुरक्षा व्यवस्थामा रहेको कमजोरीबारे गुगलसँग सोधपुछ गर्ने भएको छ। प्रहरी अधिकारीले मंगलबार रोयटर्सलाई यस्तो जानकारी दिएका हुन्।
प्रयोगकर्ताको संख्याका आधारमा भारत गुगलको सबैभन्दा ठूलो बजारमध्ये एक हो। यसअघि पनि आर्थिक ठगीका लागि अपराधीहरूले गुगलको वेब डेभलपमेन्ट प्लेटफर्म फायरबेसको दुरुपयोग गरेको पत्ता लागेपछि अमेरिकी प्रविधि कम्पनी गुगल सरकारी निगरानीमा परेको थियो।
पश्चिमी राज्य गुजरातको प्रहरीले यसै साता एउटा इमेल सञ्जाल ध्वस्त पारेको थियो। प्रहरीले उक्त सञ्जालले “अन्तरराज्यीय” बम विस्फोटको धम्की पठाउने गरेको जनाएको छ। घटनामा दुई जनालाई पक्राउ गरिएको छ। अनुसन्धानका क्रममा सन् २०२२ देखि प्रयोग हुँदै आएका ५ लाख १३ हजार ८४७ वटा जीमेल आईडी र पासवर्ड फेला परेका छन्।
नक्कली जीमेल खाताको यति ठूलो संख्या प्रयोग भएको घटना अभूतपूर्व रहेको गुजरात प्रहरीका वरिष्ठ साइबर अपराध अधिकारी विवेक भेडाले रोयटर्सलाई बताए। यस अनुसन्धानमा गुगल स्वयं जोडिएकोबारे रोयटर्सले पहिलोपटक रिपोर्ट गरेको हो।
“हामी गुगललाई पत्र लेख्नेछौँ र सुरक्षा व्यवस्था छल्न नसकिने गरी केही नीतिगत परिवर्तन गर्न आग्रह गर्नेछौँ,” भेडाले भने। उनले प्रहरीले चाँडै नै गुगललाई औपचारिक रूपमा अनुसन्धानको विषय बनाउने पनि बताए।
रोयटर्सका अनुसार अल्फाबेट इंकको स्वामित्वमा रहेको गुगलले टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया दिएन। गुगलले कानुनी कारबाही वा जरिवाना भोग्नुपर्ने हो कि होइन भन्ने पनि तत्काल स्पष्ट भएको छैन।
ब्रिक्स शिखर सम्मेलनलाई लक्षित गर्दै बमको धम्की
भारतमा बढ्दो साइबर अपराधका कारण आर्थिक ठगीबाट मात्रै हरेक वर्ष २ अर्ब डलरभन्दा बढीको क्षति हुने गरेको छ। यस्ता अपराधमा प्रविधि प्लेटफर्मको दुरुपयोग भएको देखिएपछि भारतीय कानून कार्यान्वयन निकायहरूले त्यस्ता प्लेटफर्ममाथि निगरानी र कारबाही बढाउँदै आएका छन्।
गुजरात प्रहरीको अनुसन्धान सेप्टेम्बर १० मा राज्य सरकारलाई प्राप्त भएको एउटा बम विस्फोटको धम्कीपूर्ण इमेलपछि सुरु भएको थियो। उक्त इमेल नयाँ दिल्लीमा भएको ब्रिक्स समूहको हालैको शिखर सम्मेलनभन्दा केही दिनअघि पठाइएको थियो।
प्रहरीका अनुसार उक्त धम्कीमा सम्मेलनका क्रममा भारतसँग सहकार्य गर्ने देशहरूलाई समेत निशाना बनाइएको थियो।
धम्की झुटो भएको भेडाले बताए। पक्राउ परेका व्यक्तिमध्ये एक जना बंगलादेशका एक खरिदकर्तासँग सम्पर्कमा रहेको र ती खरिदकर्ताले खाताका समूहहरू खरिद गरेर झुटा इमेल पठाउन प्रयोग गरेको प्रहरीले जनाएको छ। खाताको भुक्तानीको केही हिस्सा क्रिप्टोकरेन्सीमार्फत गरिएको थियो।
प्रहरीका लागि अर्को चिन्ताको विषय प्रत्येक नक्कली खातामा दुई–कारक प्रमाणीकरण प्रयोग गरिएको तथ्य पनि रहेको भेडाले बताए। खाता सुरक्षित राख्न गुगलले उपलब्ध गराउने यो अतिरिक्त सुरक्षा व्यवस्था हो।
यति ठूलो संख्यामा खातामा आपराधिक सञ्जालले दुई–कारक प्रमाणीकरण कसरी प्रयोग गर्न सफल भयो भन्ने विषय पनि अनुसन्धानको अर्को पाटो रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ३१ भाद्र २०८३, बुधबार