जलवायु निगरानीका लागि दुई भूउपग्रह प्रक्षेपण

  • Technology Khabar | ३१ भाद्र २०८३, बुधबार
जलवायु निगरानीका लागि दुई भूउपग्रह प्रक्षेपण

काठमाडौं ।

जलवायु परिवर्तनका कारण बढिरहेका चरम मौसमी घटनाको प्रभाव र पृथ्वीको वातावरणीय अवस्था निगरानी गर्न युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले दुई पृथ्वी अवलोकन भूउपग्रह सफलतापूर्वक कक्षमा पठाएको छ।

फ्रान्सेली गुयानास्थित कौरौ अन्तरिक्ष केन्द्रबाट सोमबार राति ‘वेगा–सी’ रकेटमार्फत ‘फ्लेक्स’ र ‘सेन्टिनेल–३ सी’ भूउपग्रह प्रक्षेपण गरिएको हो। प्रक्षेपणको करिब दुई घण्टापछि दुवै स्याटेलाइटलाई सूर्यसँग समकालिक कक्षमा स्थापित गरिएको एएफपीले जनाएको छ।

‘फ्लेक्स’ उपग्रहले उष्ण लहरलगायत जलवायु परिवर्तनका कारण वनस्पतिमा पर्ने असरबारे तथ्याङ्क सङ्कलन गर्नेछ। यसले प्रकाश संश्लेषणका क्रममा वनस्पतिले उत्सर्जन गर्ने रातो प्रकाशको सूक्ष्म चमकको निगरानी गरी वनस्पतिमा देखिने तनाव र वातावरणीय परिवर्तनबीचको सम्बन्ध अध्ययन गर्नेछ।

युरोपेली सङ्घ (इयु) को कोपर्निकस पृथ्वी अवलोकन कार्यक्रमअन्तर्गतको ‘सेन्टिनेल–३ सी’ ले समुद्रको तापक्रम, छालको उचाइ र समुद्री धाराका साथै जमिनको प्रयोग तथा भू–आवरणसम्बन्धी तथ्याङ्क सङ्कलन गर्नेछ। प्राप्त तथ्याङ्कले समुद्री वातावरणमा भइरहेका परिवर्तन बुझ्न र कृषि उत्पादन अनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

इएसएको पृथ्वी अवलोकन कार्यक्रमकी निर्देशक सिमोनेटा चेलीले जलवायु परिवर्तनको चुनौती सामना गर्न यस्ता अन्तरिक्ष अभियान आवश्यक रहेको बताइन। उनका अनुसार भूउपग्रहबाट प्राप्त तथ्याङ्कले पृथ्वीमा भइरहेका वातावरणीय परिवर्तनको निरन्तर निगरानीमा महत्वपूर्ण सहयोग पुर्याउनेछ। रासस/एएफपी

प्रकाशित: ३१ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...