ओपनएआईले ३० करोड डलरमा खरिद गर्यो स्मार्टफोन क्यामरा निर्माता ग्लास इमेजिङ

  • Technology Khabar | ३१ भाद्र २०८३, बुधबार
ओपनएआईले ३० करोड डलरमा खरिद गर्यो स्मार्टफोन क्यामरा निर्माता ग्लास इमेजिङ

काठमाडौं ।

ओपनएआईले ३० करोड डलरभन्दा बढी रकममा स्मार्टफोन क्यामेरा निर्माता ग्लास इमेजिङ खरिद गरेको वाल स्ट्रिट जर्नलले जनाएको छ। सन् २०१९ मा स्थापना भएको ग्लास इमेजिङ अमेरिकाको क्यालिफोर्नियास्थित लस अल्टोसमा रहेको कम्पनी हो। कम्पनीले यसअघि लगानीकर्ताबाट करिब ३ करोड डलर लगानी जुटाएको थियो।

ग्लास इमेजिङको स्थापना एप्पलका पूर्व इन्जिनियर जिभ अत्तर र टम बिसपले गरेका हुन्। उनीहरूले यसअघि एप्पलको ‘पोर्ट्रेट मोड’ विकास गर्ने टोलीको नेतृत्व गरेका थिए।

ग्लास इमेजिङमा उनीहरूले गरिरहेको काममा यही अनुभवको प्रत्यक्ष प्रभाव देखिन्छ। कम्पनीले स्मार्टफोन क्यामेराको भौतिक आकारको सीमालाई पार गर्न कृत्रिम बुद्धिमत्ता प्रयोग गर्छ।

रोयटर्सका अनुसार फोटो खिचिसकेपछि त्यसलाई सम्पादन गर्न एआई प्रयोग गर्नुको सट्टा ग्लास इमेजिङले न्युरल नेटवर्कमार्फत विभिन्न क्यामेरा प्रणालीबारे सिकाउँछ।

यसमा विभिन्न स्मार्टफोन मोडलमा रहेका फरक–फरक क्यामेरासमेत पर्छन्। यसबाट फोटो खिच्नेबित्तिकै राम्रो तस्बिर प्राप्त गर्न सकिने कम्पनीको प्रविधि हो।

ओपनएआईले यस विषयमा टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन।

च्याटजीपीटी निर्माता ओपनएआईले स्मार्टफोन, इयरबड र एआई सहायक उपकरणजस्ता आफ्नै हार्डवेयरमा काम गरिरहेको चर्चा हुँदै आएको छ।

सन् २०२५ मा ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान र एप्पलका चर्चित डिजाइनर जोनी इभले ‘आईओ’ नामक डिभाइस स्टार्टअपमा मिलेर काम गरिरहेको सार्वजनिक गरेका थिए। त्यसै क्रममा ओपनएआईले इभको कम्पनीलाई ६ अर्ब ५० करोड डलरमा खरिद गरेको थियो।

प्रकाशित: ३१ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार