काठमाडौं ।
ओपनएआईका प्रमुख साम अल्टम्यानले डोनाल्ड ट्रम्प र सी जिन पिङ भेटवार्ताका क्रममा एआई सुरक्षाका लागि कदम चाल्ने सहमति गरेमा उनीहरुले नोबेल शान्ति पुरस्कार पाउन सक्ने बताएका छन्।
फोर्च्युनसँगको अन्तरवार्तामा ओपनएआईका प्रमुख कार्यकारी अधिकृत अल्टम्यानले यस्तो सम्झौता भएमा निकै राम्रो हुने बताएका हुन्।
अल्टम्यानले भने, ‘दुवै देशले विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गर्नु स्पष्ट रुपमा महत्वपूर्ण छ। यसले सामाजिक आर्थिक र भूराजनितिक दृष्टिकोणबाट पनि महत्व राख्दछ। तर एआईका विकास प्रक्रियामा कुनैपनि देशले निश्चित स्तरभन्दा बढी जोखिम लिन नहुने विषयमा उनीहरु सहमत हुन पर्छ।’
उनले थपे, ‘मलाई कठिन हो जस्तो लाग्दैन। यसलाई एक पृष्ठको डकुमेन्टमा समेट्न सकिन्छ।’
टेलिग्राफका अनुसार ट्रम्पले लामो समयदेखि नोबेल शान्ति पुरस्कार पाउने इच्छा व्यक्त गर्दै आएका छन्। उनले यस अघि आफू उक्त पुरस्कारको हकदार समेत भएको बताएका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले सेप्टेम्बर २४ मा सी जिन पिङलाई व्हाइट हाउसमा स्वागत गर्ने तालिका छ।
प्रकाशित: ३१ भाद्र २०८३, बुधबार