अमेजन प्राइम भिडियोले छोटा समाचार क्लिपमार्फत टिकटकलाई चुनौती दिने

  • Technology Khabar | ३१ भाद्र २०८३, बुधबार
अमेजन प्राइम भिडियोले छोटा समाचार क्लिपमार्फत टिकटकलाई चुनौती दिने

काठमाडौं ।

अमेजन प्राइम भिडियोले छोटो भिडियोका समाचार क्लिप थप्दै टिकटकसँग प्रतिस्पर्धा गर्ने भएको छ। कम्पनीले अमेरिकी बजारमा सोमबारदेखि स्थानीय र राष्ट्रिय दुवै समाचार समेटिएका मागअनुसार हेर्न सकिने छोटा समाचार क्लिप उपलब्ध गराउने जनाएको छ।

यी क्लिप टिभी तथा अन्य लिभिङ रुम डिभाइसमा उपलब्ध हुनेछन् भने छिट्टै वेब र प्राइम भिडियोका मोबाइल एपमा पनि ल्याइने कम्पनीले जनाएको छ।

यी क्लिप प्राइम भिडियो एपको ‘न्युज’ खण्डमा ‘ट्रेन्डिङ टपिक्स’ र ‘लोकल न्युज’ क्यारोसेलमा उपलब्ध हुनेछन्। यससँगै प्राइम भिडियोमा विभिन्न ठूला समाचार प्रदायकबाट उपलब्ध स्थानीय, राष्ट्रिय र विश्व समाचार पनि रहनेछन्। अमेरिकामा प्राइम सदस्यता नलिएका प्रयोगकर्ताले समेत यी समाचार सेवा प्रयोग गर्न सक्नेछन्।

मोबाइलमा उपलब्ध हुने क्लिप ठाडो भिडियोका रूपमा हुने वा नहुने विषयमा भने अमेजनले अहिलेसम्म पुष्टि गरेको छैन। कम्पनीले आईओएस र एन्ड्रोइडमा यी सामग्रीलाई छोटो भिडियोका रूपमा उपलब्ध गराइने मात्र जनाएको छ।

टेकक्रञ्चका अनुसार टिकटक मनोरञ्जनका लागि बढी परिचित भए पनि इन्स्टाग्रामसँगै यो युवा पुस्ताले समाचार प्राप्त गर्ने माध्यमका रूपमा पनि बढ्दो रूपमा प्रयोग गर्न थालेका छन्। विशेषगरी जेनेरेसन जेडका प्रयोगकर्ताले टिकटकजस्ता छोटो भिडियो एपमा समाचार निर्माता र प्रभावशाली व्यक्तिहरूका सामग्री हेर्ने गरेका छन्।

यूट्युब सर्ट्स पनि यसमा पर्छ। आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म नभएको अमेजनले जेनेरेसन जेडको ध्यान आकर्षित गर्न प्राइम भिडियोमै छोटो भिडियो थप्न लागेको हो।

तर जेनेरेसन जेडका दर्शक छोटो भिडियोको अवधिका कारण मात्र यस्ता सामाजिक एपतर्फ आकर्षित भएका होइनन्। सूचना प्रस्तुत गर्ने शैलीले पनि उनीहरूलाई आकर्षित गर्छ। प्यु रिसर्चका निष्कर्षअनुसार युवा समाचार उपभोक्ताले “धेरै उत्पादन गरिएको जस्तो नभई स्वाभाविक लाग्ने” छोटो समाचार सामग्री चाहन्छन्।

प्राइम भिडियो छोटा क्लिप थप्ने पहिलो स्ट्रिमिङ सेवा भने होइन। पिककले मार्चमा छोटो भिडियो क्लिपको सुविधा थपेको थियो। त्यसपछि जुलाईमा एचबीओ म्याक्स र नेटफ्लिक्स तथा अगस्टमा डिज्नी प्लसले पनि छोटो भिडियो सामग्री थपेका थिए।

यी सबै परिवर्तनले दर्शकलाई उनीहरूले खोजिरहेको स्थानमै सामग्री उपलब्ध गराउने स्ट्रिमिङ उद्योगको प्रयासलाई देखाउँछन्। अहिले दर्शकले लामो समयसम्म हेर्नुपर्ने सामग्रीको सट्टा छोटो समय वा केही मिनेटमै हेर्न सकिने मनोरञ्जन र सामग्री बढी खोज्न थालेका छन्।

प्रकाशित: ३१ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार