काठमाडौं ।
गुगलले जीमेल, डक्स र किपका एआई भ्वाइस सुविधालाई बिटा चरणबाट बाहिर ल्याउँदै सःशुल्क गुगल एआई सब्सक्राइबरका लागि सामान्य रूपमा उपलब्ध गराएको छ।
जीमेल लाइभ मार्फत प्रयोगकर्ताले प्राकृतिक भाषामा इमेलभित्रका आवश्यक जानकारी खोज्नुका साथै थप प्रश्न समेत सोध्न सक्नेछन्। यसले इमेलमा उपलब्ध जानकारीका आधारमा प्रयोगकर्ताका प्रश्नको जवाफ दिनेछ।
जीमेल लाइभमा कुराकानी गरिरहँदा प्रयोगकर्ताले एआईलाई रोक्न, विषय परिवर्तन गर्न वा नयाँ प्रश्न सोध्न सक्नेछन्। कुराकानीको ट्रान्सक्रिप्ट स्क्रिनमा देखिनुका साथै एआईले प्रयोग गरेको सम्बन्धित इमेलको स्रोतसमेत हेर्न सकिनेछ। यो सुविधा हाल एन्ड्रोइड र आइओएस मा गुगल एआई प्लस, प्रो र अल्ट्रा सब्सक्राइबरका लागि उपलब्ध छ।
त्यस्तै, गुगल डक्स लाइभले प्रयोगकर्ताले बोलेर दिएको जानकारीलाई व्यवस्थित गर्दै डकुमेन्टको ड्राफ्ट तयार गर्नेछ । अनुमति दिएमा यसले जिमेल, गुगल ड्राइभ, च्याट र वेबबाट आवश्यक जानकारीसमेत प्रयोग गर्न सक्नेछ । डक्स लाइभ सुविधा एन्ड्रोइड र आईओएसमा गुगल एआई प्लस, प्रो र अल्ट्रा प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ।
किप लाइभले प्रयोगकर्ताले बोलेर दिएको जानकारी बुझेर आफैं नोट तथा लिस्ट तयार गर्नेछ। प्रयोगकर्ताले स्पष्ट निर्देशन नदिए पनि यसले आवश्यकताअनुसार सामाग्रीलाई व्यवस्थित गर्न सक्नेछ। हाल किप लाइभ सुविधा एन्ड्रोइडमा गुगल एआई प्लस, प्रो र अल्ट्रा प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ।
प्रकाशित: २४ भाद्र २०८३, बुधबार