जेम्स वेब स्पेस टेलिस्कोपले पत्ता लगायो ‘लुकेका ताराहरू’: ब्रह्माण्डका पहिलो आकाशगंगा सोचिएभन्दा धेरै ठूलो रहेको खुलासा

  • Technology Khabar | ६ भाद्र २०८३, शनिबार
जेम्स वेब स्पेस टेलिस्कोपले पत्ता लगायो ‘लुकेका ताराहरू’: ब्रह्माण्डका पहिलो आकाशगंगा सोचिएभन्दा धेरै ठूलो रहेको खुलासा
फाइल तस्बिर

काठमाडौं ।

जेम्स वेब स्पेस टेलिस्कोपले ‘लुकेका ताराहरू’ पत्ता लगाएपछि यी ब्रह्माण्डका पहिलो आकाशगंगा सोचिएभन्दा धेरै ठूलो रहेको खुलासा भएको छ।

पृथ्वीको कुनै विशाल सहरलाई धेरै टाढाबाट हेर्दा त्यहाँका सबैभन्दा ठूला र स्पष्ट देखिने गगनचुम्बी भवन मात्र देखिन सक्छन्। तर नजिक गएर वा अझ शक्तिशाली उपकरणबाट हेर्दा ती ठूला भवनबीच रहेका साना भवन पनि देखिन थाल्छन्।

अहिले जेम्स वेब स्पेस टेलिस्कोपले प्रारम्भिक आकाशगंगाको अवस्था पनि यस्तै रहेको देखाएको छ।

खगोलविद्हरूले माथिको उदाहरणमा ‘गगनचुम्बी भवन’ जस्तै देखिने चम्किला ताराबीच साना भवनजस्तै निकै कम चम्किला ताराहरू रहेको पत्ता लगाएका छन्। यसको अर्थ प्रारम्भिक आकाशगंगामा हामीले अनुमान गरेभन्दा धेरै बढी पिण्ड रहेको हुन सक्छ।

स्पेस डटकमका अनुसार अनुसन्धान टोलीले तीव्र तारानिर्माणको चरण पार गरिसकेका नौवटा प्रारम्भिक आकाशगंगाको अध्ययन गर्न जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लूएसटी) प्रयोग गरेर यो निष्कर्ष निकालेको हो। उनीहरूले पृथ्वीमा रहेको भेरी लार्ज टेलिस्कोप(भीएलटी) बाट प्राप्त अवलोकनसँग यी तथ्यांक जोडेर पहिलोपटक ती आकाशगंगामा रहेका साना र कम चम्किला ताराको संख्या मापन गरे।

अनुसन्धानमा यी आकाशगंगामा रहेका साना ताराको अनुपात आधुनिक आकाशगंगा, जस्तै मिल्की वेमा भन्दा धेरै रहेको पाइएको छ। वैज्ञानिकहरूले यी ताराको अनुपात समान हुने अनुमान गर्दै आएका थिए। त्यसैले यो खोज उनीहरूका लागि केही आश्चर्यजनक बनेको छ।

“यसको अर्थ अघिल्ला अनुमानले देखाएभन्दा समग्र आकाशगंगा धेरै ठूलो पिण्ढड भएको हुन्छ,” नेदरल्यान्ड्सको लेइडन विश्वविद्यालयकी अनुसन्धान टोलीकी सदस्य कोले चेङले बताइन्।

पहिला ब्रह्माण्डका ‘सहर’ गगनचुम्बी भवनले भरिएका थिएनन्, केवल त्यस्तै देखिन्थ्यो

खगोलविद्हरूले आकाशगंगाबाट आउने कुल प्रकाश वा स्पेक्ट्रमको अध्ययन गरेर आकाशगंगा र त्यहाँ रहेका ताराको जनसंख्या मापन गर्छन्। समस्या के हो भने ताराको पिण्ड जति धेरै हुन्छ, त्यो त्यति नै बढी चम्किलो हुन्छ। त्यसैले आकाशगंगाको समग्र स्पेक्ट्रममा सबैभन्दा ठूलो द्रव्यमान भएका ताराको प्रभाव बढी हुन्छ र साना ताराको प्रकाश दबिन्छ।

जेडब्लूएसटीको संवेदनशीलताले खगोलविद्हरूलाई अन्ततः यी साना ताराको प्रकाश पहिचान गर्ने अवसर दिएको छ। यसले काँच र स्टिलले बनेका विशाल भवनले भरिएको सहरमा रहेको कुनै विशेष वास्तुकला पहिचान गरेजस्तै साना तारालाई देख्न सम्भव बनाएको हो।

“हालसम्म यस प्रकारको मापन सम्भव थिएन,” लेइडन विश्वविद्यालयकी अनुसन्धान टोलीकी सदस्य मार्ट्जे स्लबले भनिन्, “हामीलाई पर्याप्त प्रकाश संकलन गर्ने टेलिस्कोप मात्र होइन, असाधारण गुणस्तरका स्पेक्ट्रम र साना ताराका सूक्ष्म विशेषता विश्वसनीय रूपमा छुट्याउन नयाँ विश्लेषण प्रविधि पनि आवश्यक थियो।”

टोलीको यो खोजले प्रारम्भिक ब्रह्माण्डमा रहेका युवा आकाशगंगाबारे हाम्रो बुझाइमा प्रभाव पार्नेछ। यसको कारण वैज्ञानिकहरूले ब्रह्माण्डको इतिहासभर विभिन्न द्रव्यमान भएका ताराहरू समान अनुपातमा जन्मिएका हुन्छन् भन्ने अनुमान गर्दै आएका थिए। अब त्यो अनुमान सही नहुन सक्ने देखिएको छ।

विशेषगरी यस अध्ययनमा परीक्षण गरिएको एउटा उल्लेखनीय आकाशगंगा अन्य प्रारम्भिक आकाशगंगाजस्तै भएको खण्डमा यसको प्रभाव अझ ठूलो हुनेछ। बिग ब्याङपछि १ अर्ब ५० करोड वर्षभन्दा कम समयमै बनेको उक्त आकाशगंगामा ठूलो संख्यामा साना तारा रहेकाले यसअघि अनुमान गरिएको भन्दा चार गुणासम्म बढी द्रव्यमान रहेको पाइएको छ।

यसका कारण आकाशगंगा निर्माणसम्बन्धी हाम्रा मोडलमा निकट भविष्यमा ठूलो संशोधन आवश्यक पर्न सक्छ।

“यस नतिजाले पहिले सोचिएभन्दा धेरै द्रव्यमान साना तारामा लुकेको देखाउँछ,” अनुसन्धान टोलीकी प्रमुख तथा लेइडन विश्वविद्यालयककी मरिस्का क्रिएकले भनिन्। “यसले खगोल विज्ञानका विभिन्न क्षेत्रमा प्रभाव पार्छ। धेरै ग्रहहरू साना ताराको वरिपरि परिक्रमा गर्ने भएकाले प्रारम्भिक ब्रह्माण्डमा हामीले पहिले अनुमान गरेभन्दा धेरै ग्रह बनेका हुन सक्ने पनि यसको अर्थ हुन सक्छ।”

अब टोलीले यो विधि ब्रह्माण्डका अझ धेरै प्रारम्भिक आकाशगंगामा प्रयोग गर्ने योजना बनाएको छ। यसमार्फत उनीहरूले अनुसन्धानलाई ब्रह्माण्डका पहिलो तारासम्म पुर्‍याउने प्रयास गर्नेछन्।

टोलीको अनुसन्धान बुधबार (अगस्ट १८) नेचर एस्ट्रोनोमी  जर्नलमा प्रकाशित भएको थियो।

प्रकाशित: ६ भाद्र २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार