एम्बेसडर्स क्लब नेपालले युवा आविष्कारकहरूलाई सम्मान

  • Technology Khabar | ६ भाद्र २०८३, शनिबार
एम्बेसडर्स क्लब नेपालले युवा आविष्कारकहरूलाई सम्मान

काठमाडौं ।

एम्बेसडर्स क्लब नेपालले ‘युवा आविष्कारकहरूको सम्मान’ कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रमले नेपालको विकासमा नवप्रवर्तन, प्रविधि, सिर्जनशीलता र युवा नेतृत्वको महत्त्वलाई प्रकाश पार्दै, नयाँ विचारहरूको खोजी गर्ने र वास्तविक–विश्वका चुनौतीहरूमा समाधान खोजी गर्ने युवाहरूलाई सम्मान गर्ने मञ्च प्रदान गरेको थियो।

एम्बेसडर्स क्लब नेपालकी अध्यक्ष राजदूत डा. शर्मिला पराजुली ढकालले यो कार्यक्रम युवा आविष्कारकहरूको सम्मानका लागि मात्र नभई उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा जोडिन, विचार आदानप्रदान गर्न र सहकार्य गर्न कूटनीतिले कसरी अवसरहरू सिर्जना गर्न सक्छ भन्ने देखाउन तयार पारिएको बताइन।

उनले भनिन्, ‘उत्कृष्ट विचारहरू कुनै विशेष देश, उमेर वा पृष्ठभूमिका हुँदैनन्। जब युवाहरूले जोडिने, सहकार्य गर्ने र आविष्कार गर्ने अवसर पाउँछन्, तब उनीहरूले यस्ता समाधानहरू सिर्जना गर्न सक्छन् जसले यथार्थमा भिन्नता ल्याउँछ।’

राजदूत डा. ढकालले कूटनीतिको भूमिका परम्परागत सरकार–देखि–सरकारको सम्बन्धभन्दा माथि उठ्दै विकसित भइरहेको पक्षमा जोड दिइन। उनका अनुसार विद्यार्थी, अनुसन्धानकर्ता, आविष्कारक र उद्यमीहरू देश र समुदायहरूबीचको महत्त्वपूर्ण कडी बन्दै गइरहेका छन्।

उनले युवा आविष्कारकहरूलाई जिज्ञासु र क्रियाशील रहन प्रोत्साहित गर्दै भनिन्, ‘सानोबाट सुरु गर्न नडराउनुहोस्। हरेक महान् आविष्कार एउटा प्रश्न, अवलोकन वा साधारण विचारबाट सुरु हुन्छ। सिक्दै जानुहोस्, प्रयोग गर्दै जानुहोस् र सुधार गर्दै जानुहोस्।’

राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक सञ्जय झाले युवाहरूलाई सिक्न, व्यावहारिक अनुभव प्राप्त गर्न, इन्टर्नशिप गर्न र नवप्रवर्तनमा योगदान पु¥याउने अवसर प्रदान गर्नुको महत्त्वमा जोड दिए।

क्लबले नेपालको भावी विकास र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता प्रविधि, सिर्जनशीलता, उद्यमशीलता र नवप्रवर्तनलाई पोषण गर्ने क्षमतामा निर्भर हुने मान्यता राखेको छ।

कूटनीतिक समुदाय, युवा आविष्कारक, विद्यार्थी र राष्ट्रिय आविष्कार केन्द्रजस्ता संस्थाहरूलाई एकै ठाउँमा ल्याएर क्लबले ज्ञान आदानप्रदान, मेन्टरशिप, अन्तर्राष्ट्रिय एक्सपोजर र सहकार्यका लागि ठूला अवसरहरू सिर्जना गर्न मद्दत गर्ने लक्ष्य कम्पनीले राखेको छ।

प्रकाशित: ६ भाद्र २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार