काठमाडौं ।
डेभलपर र साइबर सुरक्षासम्बन्धी प्रविधिको पछिल्लो अभ्यासबारे छलफल तथा सिकाइका लागि हेटौँडामा ‘सेक्योर डेभलपर कन्फरेन्स २०८३’ आयोजना हुने भएको छ। डेभ कम्युनिटी नेपालले आयोजना गर्ने दुईदिने सम्मेलन आगामी अगस्ट ३१ र सेप्टेम्बर १ (भदौ १५ र १६) मा हेटौँडास्थित होटल ड्रागन एन्ड ब्याङ्क्वेटमा हुनेछ।
सम्मेलनको पहिलो दिन ‘गिटहब कन्फरेन्स डे’ का रूपमा आयोजना हुनेछ। यस दिन सफ्टवेयर विकास तथा डेभलपरले प्रयोग गर्ने प्रविधि र अभ्यासमा केन्द्रित सत्रहरू सञ्चालन हुनेछन्।
गिट तथा गिटहब, ओपन सोर्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डेभअप्स, क्लाउड कम्प्युटिङ, सीआई/सीडी तथा डेभलपर उत्पादकत्वलगायत विषयमा छलफल र व्यावहारिक सत्र राखिने आयोजकले जनाएको छ।
सम्मेलनको दोस्रो दिन ‘साइबर सेक्युरिटी कन्फरेन्स डे’ हुनेछ। यस दिन एथिकल ह्याकिङ, सुरक्षित कोडिङ, साइबर डिफेन्स, एआई/एमएल, प्रोम्प्ट इन्जिनियरिङ, फुल–स्ट्याक डेभलपमेन्ट, अब्जरभेबिलिटी र ओपन सोर्स प्रविधिलगायत विषय समेटिनेछन्।
त्यसैगरी साइबर सुरक्षामा करियर बनाउन चाहनेहरूका लागि करियर पाथवे, आवश्यक सीप तथा अवसरबारे समेत छलफल हुने आयोजकले जनाएको छ।
आयोजकका अनुसार सम्मेलनले सफ्टवेयर विकास र साइबर सुरक्षालाई छुट्टाछुट्टै विषयका रूपमा नभई आधुनिक प्रविधि क्षेत्रमा एकअर्कासँग जोडिएका विषयका रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
सम्मेलनमा सहभागी हुन कुनै शुल्क लाग्ने छैन। यद्यपि स्थलको क्षमता सीमित रहेकाले इच्छुक सहभागीले अनलाइनमार्फत दर्ता गर्नुपर्नेछ।छनोट भएका सहभागीलाई मात्र सहभागिताका लागि पुष्टि गरिने जनाइएको छ।
सम्मेलनमा व्यावहारिक सत्र तथा कार्यशालासँगै मेन्टरसिप, करियर गाइडेन्स र नेटवर्किङका अवसरसमेत उपलब्ध हुनेछन्।
सम्मेलनमा हेटौँडा, चितवन, वीरगञ्ज तथा आसपासका क्षेत्रबाट उल्लेख्य सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ। साथै देशका अन्य भागबाट समेत प्रविधि क्षेत्रमा रुचि राख्नेहरू सहभागी हुनेछन्।
आयोजकका अनुसार सम्मेलनले विद्यार्थी तथा नयाँ डेभलपरलाई आफ्नो नियमित अध्ययन वा काममा नसमेटिएका प्रविधि र उद्योग अभ्यासबारे जान्ने अवसर प्रदान गर्नेछ। विभिन्न शैक्षिक तथा व्यावसायिक पृष्ठभूमिका व्यक्तिसँग प्रत्यक्ष भेटघाट र नेटवर्क विस्तार गर्ने अवसरसमेत सम्मेलनको उद्देश्यमा रहेको छ।
काठमाडौँबाहिर आयोजना हुन लागेको सम्मेलनले नेपालका विभिन्न सहरमा विकसित हुँदै गएका प्रविधि समुदायलाई राष्ट्रिय स्तरको नेटवर्कसँग जोड्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।
डेभ कम्युनिटी नेपालका अनुसार संस्थाले प्रविधि शिक्षा, सीप विकास तथा सहकार्यका लागि तालिम, कार्यशाला, सेमिनार, सम्मेलन र व्यावहारिक परियोजना सञ्चालन गर्दै आएको छ। संस्थाले हालसम्म १५० भन्दा बढी सत्र, तालिम तथा कार्यशाला, ६ वटा टेक मिटअप, एक ह्याकाथन, १०० भन्दा बढी राष्ट्रिय सहकार्य, २५ भन्दा बढी सचेतना अभियान तथा एक बुटक्याम्प सञ्चालन गरेको जनाएको छ।
प्रकाशित: ६ भाद्र २०८३, शनिबार