‘खराब’ एनिमेसन भएको एनिमेटेड फिल्मले चीनमा तहल्का

  • Technology Khabar | ६ भाद्र २०८३, शनिबार
‘खराब’ एनिमेसन भएको एनिमेटेड फिल्मले चीनमा तहल्का

काठमाडौं ।

कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक बनेको कम बजेटको चिनियाँ एनिमेटेड फिल्म ‘नियु लाइ’ अहिले त्यही कारण अप्रत्याशित हिट बनेको छ। फिल्म कति ‘खराब’ छ भनेर हेर्न दर्शक सिनेमाघर पुग्न थालेपछि यसको व्यापार बढेको हो।

टिकट प्लेटफर्म माओयानका अनुसार अगस्ट ५ मा प्रदर्शनमा आएको फिल्मले पहिलो साता करिब सात हजार युआन कमाएको थियो। तर सामाजिक सञ्जालमा चर्चा बढेपछि यसको कुल कमाइ तीन करोड ३० लाख ६० हजार युआन अर्थात् करिब ४९ लाख २० हजार अमेरिकी डलर पुगेको छ।

आमा–छोराले निर्माण गरेको फिल्म बाछो ‘नियु लाइ’ को यात्रामा आधारित छ। यसलाई बनाउन पाँच वर्ष लागेको र दुवैले मौलिक सङ्गीतसमेत तयार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

चीनमा कार्यरत अमेरिकी सङ्गीतकार केलान मोरियार्टीले फिल्मलाई ‘यति खराब कि त्यति नै राम्रो’ भने। उनका अनुसार फिल्म पूर्ण नभए पनि त्यसमा मानवीय भावना र मेहनत देखिन्छ। “एआईले यस्तो फिल्म केही सेकेन्डमै बनाउन सक्थ्यो, तर उनीहरूले एआई प्रयोग नगरी समय लगाएका छन्”, उनले भने।

कठोर देखिने थ्रीडी पात्र र अस्वाभाविक संवाद रहेको फिल्मले बाछो र उसकी आमाबीचको सम्बन्ध देखाउँछ। यसको अपरिष्कृत शैली सामाजिक सञ्जालमा भाइरल भएपछि दर्शकले कमजोरीलाई नै मनोरञ्जनको हिस्सा बनाउन थालेका छन्।

बेइजिङकी विद्यार्थी स्टेला जिङले सामाजिक सञ्जालमा देखिएका मीमपछि आफू फिल्म हेर्न पुगेको बताइन। उनका अनुसार प्रस्तुति केही असहज भए पनि बाछोको हिँडाइ जस्ता विवरण रमाइला छन्।

फिल्म चर्चित भएपछि ताओबाओलगायत अनलाइन बजारमा पहेँलो गाईका टी–सर्ट, मूर्ति र अन्य सामग्री बिक्री हुन थालेका छन्। बेइजिङका सिनेमाघरमा पनि फिल्मका हातले बनाइएका ब्यानर देखिन थालेका छन् ।

अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यु साउथ वेल्सका एसोसिएट प्रोफेसर पान वाङले फिल्मको खस्रोपन र अपूर्णता नै यसको आकर्षण बनेको बताए।

चीनमा एनिमेसनको लोकप्रियता बढिरहेको बेला गत वर्ष ‘ने झा २’ ले ‘इनसाइड आउट २’ लाई उछिन्दै सर्वाधिक कमाउने एनिमेटेड फिल्मको कीर्तिमान बनाएको थियो। ‘नियु लाइ’ को सफलता भने उच्च बजेटभन्दा मानवीय मेहनत र सामाजिक सञ्जालको प्रभावले पनि दर्शक तान्न सक्ने उदाहरण बनेको छ।

प्रकाशित: ६ भाद्र २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार