काठमाडौं ।
चिनियाँ एआई मोडल डीपसिकले महँगा पश्चिमा प्रतिस्पर्धीको तुलनामा निकै सस्तो एआई सेवा उपलब्ध गराउँदै आफ्नो पहिचान बनाएकोमा अब भने यसको सस्तो सेवा अन्त्य हुने देखिएको छ।
कम्पनीले आफ्नो नयाँ मोडल सार्वजनिक भएसँगै ग्राहकलाई ठूलो मूल्यवृद्धिका लागि तयार रहन भनेको छ। डीपसिक भी४ प्रो सार्वजनिक गर्ने घोषणा गर्दै कम्पनीले आफ्नो एपीआईको मूल्य चार गुणासम्म बढाउने जनाएको छ।
कम्पनीका अनुसार स्रोतसाधनलाई “थप उचित रूपमा व्यवस्थापन गर्न” पिक र अफ-पीक समयअनुसार फरक मूल्य निर्धारण गर्न लागिएको हो।
अगस्ट १६ देखि डीपसिक भी४ प्रोका लागि पिक समयमा १० लाख आउटपुट टोकनको मूल्य ३.९६ डलर पर्नेछ। हाल यसको मूल्य ०.८७ डलर छ। अफ-पीक समयमा भने यसको मूल्य १.९८ डलर हुने इन्ग्याजेटले उल्लेख गरेको छ।
त्यस्तै, डीपसिक भी४ फ्ल्यासको मूल्य पिक समयमा १० लाख आउटपुट टोकनका लागि १.३२ डलर हुनेछ। यसको हालको मूल्य ०.२८ डलर छ। अफ-पीक समयमा भने यसको मूल्य ०.६६ डलर हुनेछ।
हालको एपीआई मूल्य वास्तवमा मे ३१ मा समाप्त हुने प्रवर्द्धनात्मक मूल्यका रूपमा तय गरिएको थियो। डीपसिकले त्यसै महिना छुट मूल्यलाई स्थायी बनाउने घोषणा गरेको थियो। तर अन्ततः कम्पनीले मूल्य बढाउने निर्णय गरेको हो।
डीपसिक अब चार गुणासम्म महँगो भए पनि उसका भी४ मोडलहरू अझै धेरै प्रतिस्पर्धी एआई मोडलको तुलनामा सस्ता छन्। चिनियाँ कम्पनी मुनसटको मोडल किमी के३ को १० लाख आउटपुट टोकनको मूल्य १५ डलर पर्छ।
ओपनएआईको सबैभन्दा उन्नत मोडल जीपीटी–५.६ सोलको १० लाख आउटपुट टोकनको मूल्य ३० डलर छ। तर ओपनएआईको सस्तो मोडल जीपीटी–५.६ लुनाको मूल्य १.२० डलर छ, जुन पिक समयमा डीपसिक भी४ फ्ल्यासको मूल्यभन्दा पनि कम हो।
प्रकाशित: ३० श्रावण २०८३, शनिबार