काठमाडौं ।
इन्डोस्याट, कोमडिगी, एनभिडिया र युनिभर्सिटास गजाह माडा (यूजीएम)ले इन्डोनेसियामा एआई अनुसन्धानलाई अघि बढाउने उद्देश्यले यूजीएम इन्डोस्याट एनभिडिया एआई टेक्नोलोजी सेन्टर (एनभीएआईटीसी) सञ्चालनमा ल्याएका छन्।
यो इन्डोनेसियाको विश्वविद्यालयमा आधारित पहिलो एआई प्रविधि केन्द्र भएको बताइएको छ। यसले एआई अनुसन्धान, नवप्रवर्तन र डिजिटल जनशक्ति विकासमा काम गर्नेछ। यो इन्डोनेसिया एआई सेन्टर अफ एक्सिलेन्स (एआई कोई) पहलको एक हिस्सा हो।
केन्द्रमा एनभिडियाको फुल–स्ट्याक एआई प्लेटफर्म र जीपीयू मर्डेका तथा इन्डोस्याटको सार्वभौम जीपीयू–एज–ए–सर्भिस प्लेटफर्म प्रयोग गरिनेछ। यूजीएमका अनुसन्धानकर्ता र विद्यार्थीले इन्टरप्राइजस्तरको तीव्र कम्प्युटिङ र एआई सफ्टवेयर, पूर्वप्रशिक्षित मोडल, विकास फ्रेमवर्क, प्राविधिक मार्गदर्शन, तालिम तथा उद्योगसँग सहकार्यको अवसर पाउनेछन्।
यस केन्द्रले इन्डोनेसियाका अनुसन्धानकर्तालाई विश्वभरका विशेषज्ञहरूको नेटवर्कसँग जोड्ने बताइएको छ। यसबाट अन्तर्राष्ट्रिय सहकार्य, ज्ञान आदानप्रदान र वास्तविक समस्यामा प्रयोग गर्न सकिने एआई समाधान विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यूजीएम इन्डोस्याट एनभीएआईटीसी इन्डोनेसियाका राष्ट्रिय प्राथमिकतासँग सम्बन्धित क्षेत्रमा प्रयोगात्मक एआई समाधान विकास गर्ने अनुसन्धान केन्द्रका रूपमा काम गर्नेछ।
केन्द्रले सुरुवातमा क्षयरोगविरुद्ध सहयोग गर्ने एआईमा आधारित परीक्षण प्रविधि ‘ईनोज–टीबी’, उष्णकटिबन्धीय कृषिमा उत्पादकत्व र जोखिम सामना गर्ने क्षमता बढाउन मल्टिमोडल एआई, एज कम्प्युटिङ तथा प्रिसिजन फार्मिङ प्रविधि प्रयोग गर्ने ‘स्मार्टएग्री’ र विपद्को पूर्वानुमान, तयारी तथा प्रतिकार्य क्षमतामा सहयोग गर्ने जियोस्पेसियल एआई प्लेटफर्म ‘टेक४डिजास्टर’ लगायतका परियोजनामा काम गर्नेछ।
टेलिकम्स डटकमका अनुसार इन्डोस्याट ओरेडु हचिसनका प्रेसिडेन्ट डाइरेक्टर तथा प्रमुख कार्यकारी अधिकृत विक्रम सिन्हाले एआईको युगमा कुनै पनि इन्डोनेसियाली पछाडि नछुटून् भन्ने कम्पनीको धारणा रहेको बताए।
उनले यूजीएम इन्डोस्याट एनभीएआईटीसीमार्फत विश्वस्तरीय एआई प्रविधि र विशेषज्ञता इन्डोनेसियामा ल्याउनुका साथै देशभरका अनुसन्धानकर्ता, विद्यार्थी, स्टार्टअप र नवप्रवर्तकका लागि पहुँच विस्तार गर्न खोजिएको बताए।
एनभिडियाका सोलुसन्स आर्किटेक्चर एन्ड इन्जिनियरिङका उपाध्यक्ष मार्क ह्यामिल्टनले इन्डोनेसियामा अनुसन्धानकर्ता, विकासकर्ता र नवप्रवर्तकहरूको ठूलो समुदाय रहेको बताए। स्वास्थ्य, कृषि तथा विपद् तयारीजस्ता क्षेत्रमा एआईले ठूलो परिवर्तन ल्याउन सक्ने उनले बताए।
गत वर्ष इन्डोस्याट, नोकिया र एनभिडियाले इन्डोनेसियाको सुराबायामा छुट्टै एआई–आरएएन अनुसन्धान केन्द्र पनि खोलेका थिए। उक्त केन्द्रले नोकियाको आरएएन प्रविधि, एनभिडियाको तीव्र कम्प्युटिङ प्लेटफर्म र इन्डोस्याटको नेटवर्कलाई एकीकृत गर्दै एआईमा आधारित दूरसञ्चार नेटवर्क विकासमा काम गर्दै आएको छ।
प्रकाशित: ३० श्रावण २०८३, शनिबार