काठमाडौं ।
भर्जिन मिडिया ओ२ (भीएमओ२)ले पुराना प्रविधि पुनः प्रयोग गरेर ५,२६२ टन कार्बन डाइअक्साइड समतुल्य (सीओ₂ई) उत्सर्जन घटाएको छ। यो एक वर्षमा १,१०० भन्दा बढी कार सडकबाट हटाउँदा घट्ने उत्सर्जन बराबर हो।
सर्कुलर इकोनोमी प्रविधि कम्पनी टीएक्सओले भर्जिन मिडिया ओ२लाई नेटवर्क उपकरण पुनःप्राप्ति, मर्मत तथा पुनःप्रयोग, पुनःबिक्री र जिम्मेवार रूपमा रिसाइकल गर्ने कार्यक्रममा सहयोग गर्दै आएको छ। यसबाट बहुमूल्य धातुजस्ता स्रोतको पुनःप्रयोग गर्न सकिएको कम्पनीहरूले बताएका छन्।
दुवै कम्पनीका अनुसार १० वर्षको अवधिमा संकलन गरिएको तथ्यांकले सबैभन्दा बढी उत्सर्जन कटौती नेटवर्कका स्विच, राउटर र लाइन कार्डजस्ता उपकरण पुनःप्रयोग गरी दूरसञ्चार बजारमा फर्काउँदा भएको देखाएको छ। यसबाट ४,५७५ टन सीओ₂ई उत्सर्जन घटेको थियो।
बाँकी ६८७ टन उत्सर्जन भने नयाँ उपकरण किन्नुको सट्टा भीएमओ२ले सेकेन्ड ह्यान्ड प्रतिस्थापन उपकरण प्रयोग गरेपछि घटेको हो।
यस क्रममा करिब ६९० टन उपकरण ल्यान्डफिलमा जानबाट रोकिएको पनि कम्पनीहरूले बताएका छन्। यो करिब ५० वटा डबल डेकर बसको तौल बराबर हो। ल्यान्डफिलमा जानबाट रोकिएका उपकरणमा केबल, पावर प्याक, राउटर, स्विच र प्रोसेसर बोर्डलगायत छन्। पुनःप्रयोगका लागि निकालिएको स्टिल, आल्मुनियम र तामाले कुल रिसाइकल गरिएको तौलको करिब ६० प्रतिशत हिस्सा ओगटेको टेलिकम्स डटकमले उल्लेख गरेको छ।
टीएक्सओले यी प्रभावको मापन कार्बन क्याल्कुलेटरमार्फत गर्छ। कम्पनीका अनुसार यो क्याल्कुलेटर जलवायु परामर्श संस्था कार्बन ट्रस्टसँगको सहकार्यमा विकास गरिएको हो। यसले उपकरण खरिद, सम्पत्ति पुनःप्राप्ति, उपकरण हटाउने प्रक्रिया र जीवनचक्र व्यवस्थापनमा सर्कुलर इकोनोमीसम्बन्धी निर्णयको कार्बन तथा व्यावसायिक मूल्य मापन गर्छ।
यसको अर्को फाइदा उपकरणलाई घरेलु अर्थतन्त्रभित्रै राख्नु भएको कम्पनीहरूले बताएका छन्। टीएक्सओले बेलायतमै उपकरण पुनःप्राप्ति र प्रशोधन गर्छ, जसमा साउथ वेल्सस्थित यसको केन्द्र पनि समावेश छ। यो कार्यक्रम प्रविधिको आयु बढाउने र ईएसजी रणनीतिअन्तर्गत सन् २०४० को अन्त्यसम्म नेट जिरो कार्बन उत्सर्जन हासिल गर्ने भीएमओ२को प्रयासको हिस्सा हो।
भर्जिन मिडिया ओ२का रिभर्स लजिस्टिक्स प्रमुख पल फ्रेनीले नेटवर्क उपकरणको आयु बढाएर पुनःप्रयोग, दोस्रो जीवन वा दिगो रूपमा व्यवस्थापन गर्न आफूहरूले चाहेको बताए। उनले नेटवर्क उपकरणको परीक्षण, मर्मत र पुनःप्रयोगमार्फत आपूर्ति शृंखलाको रणनीति कार्यान्वयनमा टीएक्सओसँगको लामो समयदेखिको सहकार्य महत्वपूर्ण रहेको बताए।
टीएक्सओका प्रमुख उत्पादन तथा सम्पत्ति पुनःप्राप्ति अधिकृत डेभिड इभान्सले प्रविधि क्षेत्रले उपकरण किन्ने, प्रयोग गर्ने र फेर्ने परम्परागत प्रक्रियाभन्दा अगाडि बढ्नुपर्ने बताए। उनले सर्कुलर मोडलले कार्बन उत्सर्जन घटाउने, फोहोर कम गर्ने, बहुमूल्य सामग्री पुनःप्राप्त गर्ने र व्यावसायिक लाभ सिर्जना गर्ने बताए।
कार्बन ट्रस्टका आईसीटी निर्देशक तथा ग्लोबल प्रमुख एलेन स्मिथ–गिलेस्पीले उत्पादनको आयु बढाउने, रिसाइकल सामग्री प्रयोग गर्ने तथा पुनःप्रयोग, मर्मत र पुनःप्रशोधन आईसीटी तथा दूरसञ्चार कम्पनीका लागि कार्बन उत्सर्जन घटाउने महत्वपूर्ण उपाय भएको बताए। उनका अनुसार कार्बन क्याल्कुलेटरले उत्सर्जन कटौती मापन गर्न र सबैभन्दा बढी प्रभाव पार्ने क्षेत्रमा प्रयास विस्तार गर्न सहयोग गर्छ।
प्रकाशित: ३० श्रावण २०८३, शनिबार