आर्टिफिसियल इन्टेलिजेन्स

एलिस हुआङले सन् २०२५ अगस्टमै कम्पनी छाडेको मेगास्पिडको भनाइ

एलिस हुआङले सन् २०२५ अगस्टमै कम्पनी छाडेको मेगास्पिडको भनाइ
Global IME Bank

एनभिडियाका प्रमुख जेन्सन हुआङसँगको सम्बन्ध र अमेरिकी राष्ट्रिय सुरक्षा चासोका कारण चर्चामा रहेकी चिनियाँ व्यवसायी एलिस हुआङले सन् २०२५ अगस्टमै मेगास्पिड कम्पनी छाडेको कम्पनीले जनाएको छ।

सिंगापुरमा मुख्यालय रहेको क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिडले आइतबार वक्तव्य जारी गर्दै एलिस हुआङले सन् २०२५ अगस्ट ३० मा औपचारिक रूपमा कम्पनी छाडेको र अहिले कम्पनीमा उनको कुनै भूमिका नरहेको स्पष्ट पारेको हो।

मेगास्पिड एसिया–प्रशान्त क्षेत्रमा एनभिडियाको व्यावसायिक साझेदार हो। पछिल्लो समय एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङ र पूर्वमेगास्पिड कार्यकारी एलिस हुआङबीच व्यक्तिगत सम्बन्ध रहेको भन्ने समाचार सार्वजनिक भएपछि कम्पनी चर्चामा आएको छ। अमेरिकी अधिकारीहरूले एलिसलाई चिनियाँ जासुस भएको आशंका गरेको विवरणसमेत सार्वजनिक भएका छन्।

मेगास्पिडले एलिस हुआङको व्यक्तिगत तथा निजी मामिलाबारे टिप्पणी नगर्ने जनाएको छ।

रोयटर्सका अनुसार यसअघि सन् २०२५ अक्टोबरमा न्युयोर्क टाइम्सले मेगास्पिडमाथि अमेरिकी अधिकारीहरूले अनुसन्धान गरिरहेको समाचार प्रकाशित गरेको थियो। अमेरिकी निर्यात नियन्त्रणमा रहेका एनभिडियाका कम्प्युटर चिप चिनियाँ ग्राहकसम्म पुर्‍याउन कम्पनीले सहयोग गरेको थियो वा थिएन भन्ने विषयमा अनुसन्धान भइरहेको समाचारमा उल्लेख थियो।

तर, मेगास्पिडले अमेरिकी निर्यात नियन्त्रणसम्बन्धी नियम उल्लंघन गरेको पुष्टि भएको छैन। चीनले पनि उक्त आरोप अस्वीकार गर्दै आएको छ।

आइतबारको वक्तव्यमा मेगास्पिडले आफ्नो व्यवसाय, आपूर्ति शृङ्खला र विश्वव्यापी सञ्चालनबारे पछिल्लो समय आएका केही सञ्चारमाध्यमका दाबी पुष्टि गर्न सकिने प्रमाणमा आधारित नरहेको जनाएको छ।

कम्पनीले आफूले वैध र कानुनसम्मत व्यवसाय सञ्चालन गर्दै आएको दाबी गरेको छ। साथै, आफ्नो व्यवसाय र आपूर्ति शृङ्खलासम्बन्धी नियन्त्रण प्रणाली अमेरिकी निर्यात नियन्त्रणसहित लागू कानुन तथा नियम पालना गर्ने गरी बनाइएको जनाएको छ।

मेगास्पिडले यस विषयमा विस्तृत आन्तरिक अनुसन्धान गर्न बाह्य कानुनी परामर्शदाता पनि नियुक्त गरेको जनाएको छ।

वासिङ्टनस्थित अनुसन्धान संस्था सीफोरएडिएसले कर्पोरेट अभिलेख अध्ययन गर्दा एलिस हुआङ सन् २०२३ मार्चमा मेगास्पिडको नियन्त्रणकारी सेयरधनी बनेको पाइएको जनाएको थियो।

मेगास्पिडको पछिल्लो वक्तव्यबारे अमेरिकी सरकार र एनभिडियाले रोयटर्सको टिप्पणी मागसम्बन्धी अनुरोधमा तत्काल प्रतिक्रिया दिएका थिएनन्।

Sajilo Visa
easy care