ओपनएआईले ल्यायो च्याटजीपीटी वालेट, अब एआई एजेन्टले प्रयोगकर्ताका लागि सामान खरिद गर्न सक्ने
काठमाडौं ।
ओपनएआईले च्याटजीपीटी वालेट सार्वजनिक गरेको छ। यो सुविधामार्फत च्याटजीपीटीका डट्स एआई एजेन्टले प्रयोगकर्ताको तर्फबाट अनलाइन खरिद प्रक्रिया पूरा गर्न सक्नेछन्।
अमेरिकन एक्सप्रेस, मास्टरकार्ड र भिसासँगको सहकार्यमा तयार गरिएको यो सुविधा प्रारम्भिक चरणमा अमेरिकाका च्याटजीपीटी प्रो सदस्यका लागि मात्र उपलब्ध हुनेछ।
यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताले एकपटक आफ्नो भुक्तानी कार्ड वालेटमा थप्नुपर्नेछ। त्यसपछि प्रयोगकर्ताले आफ्नो डट्स एआई एजेन्टलाई नयाँ स्वेटर वा आगामी यात्राका लागि होटलजस्ता सामान तथा सेवा खोज्न अनुरोध गर्न सक्छन्।
जीएसएमएरिनाका अनुसार खरिद प्रक्रिया पूरा गर्ने समयमा प्रयोगकर्तालाई सामान वा सेवा उपलब्ध गराउने व्यवसाय, खरिद गर्न लागिएका सामग्री, कुल रकम र प्रयोग हुने कार्डको विवरण देखाइनेछ। त्यसपछि फेस आईडी वा औँठाछापजस्ता बायोमेट्रिक प्रमाणीकरणमार्फत प्रयोगकर्ताले कारोबार स्वीकृत गर्नुपर्नेछ। प्रत्येक स्वीकृत कारोबारको अभिलेख पनि राखिनेछ।
प्रयोगकर्ताको वास्तविक कार्ड विवरण एआई एजेन्ट वा सामान बिक्री गर्ने व्यवसायसँग साझा गरिने छैन। यसको सट्टा प्रयोगकर्ताले खरिद स्वीकृत गरेपछि भुक्तानी नेटवर्कले छुट्टै कार्ड नम्बर, सुरक्षा कोड र म्याद समाप्त हुने मितिसहितको टोकन तयार गर्छ। त्यसैमार्फत प्रयोगकर्ताको कार्डबाट रकम भुक्तानी हुन्छ।
ओपनएआईका अनुसार प्रयोगकर्ताले आफ्नो कार्डमा उपलब्ध विद्यमान पुरस्कार सुविधा र योग्य कारोबारसम्बन्धी विवादमा प्राप्त हुने सुरक्षासमेत निरन्तर पाउनेछन्। उदाहरणका लागि, खरिद गरिएको सामान बिग्रिएको अवस्थामा उपलब्ध हुने सुरक्षामा यसले असर पार्ने छैन।
भविष्यमा प्रयोगकर्ताले खर्चको सीमा, खरिद गर्न मिल्ने सामग्रीको प्रकार वा निश्चित समयावधि तोकेर एआई एजेन्टलाई पूर्ण रूपमा खरिदको जिम्मेवारी दिन सक्ने सुविधा ल्याउने कम्पनीको योजना छ। यसका लागि प्रयोगकर्ताले पहिले नै खरिदसम्बन्धी अनुमति दिन सक्नेछन्। तर, यो सुविधा तत्काल उपलब्ध छैन।
यद्यपि, यो प्रणाली प्रभावकारी रूपमा सञ्चालन हुन अनलाइन वेबसाइटहरूले एआई एजेन्टलाई खरिद प्रक्रिया पूरा गर्न अनुमति दिनुपर्ने हुन्छ। केही वेबसाइटले अहिले पनि एआई एजेन्टलाई रोक्ने गरेका छन्।
यस समस्यालाई सम्बोधन गर्न ओपनएआईले व्यवसायहरूका लागि ‘कमर्स पार्टनर प्लेबुक’ पनि सार्वजनिक गर्दैछ। यसमा एआई एजेन्टमार्फत हुने वैध खरिद प्रक्रियालाई वेबसाइट र भुक्तानी प्रणालीले गल्तीले अवरुद्ध नगरून् भन्ने सुनिश्चित गर्ने उपायबारे जानकारी दिइएको छ।
च्याटजीपीटी वालेट आजदेखि डट्समा उपलब्ध गराउन थालिएको छ। यो सुविधा अमेरिकामा रहेका १८ वर्ष वा सोभन्दा माथिका च्याटजीपीटी प्रो सदस्यले प्रयोग गर्न सक्नेछन्। यसका लागि अमेरिकामा जारी गरिएको योग्य अमेरिकन एक्सप्रेस, चेज, मास्टरकार्ड वा भिसा कार्ड आवश्यक पर्नेछ।
यसअघि ओपनएआईले च्याटजीपीटी फाइनान्स सार्वजनिक गरेको थियो, जसबाट प्रयोगकर्ताले आफ्नो बैंक खाता च्याटबटसँग जोड्न सक्ने सुविधा पाएका थिए। त्यस्तै, एक वर्षभन्दा अघि सार्वजनिक गरिएको च्याटजीपीटी एजेन्टले प्रयोगकर्ताको तर्फबाट विभिन्न काम गर्न सक्ने क्षमता दिएको थियो।