अमेरिकी टेलिकम कम्पनीलाई चुनौती दिने यस्तो छ स्पेसएक्सको अधुरो योजना

  • Technology Khabar | २३ श्रावण २०८३, शनिबार
अमेरिकी टेलिकम कम्पनीलाई चुनौती दिने यस्तो छ स्पेसएक्सको अधुरो योजना

काठमाडौं ।

इलन मस्कको स्वामित्वमा रहेको स्पेसएक्सले एटी एन्ड टी, टी–मोबाइल र भेराइजनलाई चुनौती दिने योजना बनाएको छ।

कम्पनीले मंगलबार आफ्नो ठूलो आईपीओपछि पहिलो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गरेको थियो। त्यसपछि भएको नतिजा सार्वजनिक गर्ने कार्यक्रममा मस्कसहित प्रमुख सञ्चालन अधिकृत ग्विन शटवेलले स्टारलिंकको डाइरेक्ट–टु–डिभाइस (डीटुडी) स्याटेलाइट सेवालाई स्थलीय मोबाइल नेटवर्कमार्फत विस्तार गर्ने योजनाबारे जानकारी दिएका छन्।

शटवेलले भनिन्, “मलाई लाग्छ हामी उनीहरूका धेरै ग्राहकलाई आफ्नो सेवामा ल्याउन सक्नेछौं, किनकि हाम्रो सेवा राम्रो हुनेछ।”
उनका अनुसार स्टारलिंकले स्याटेलाइटको प्रयोग गरेर मोबाइल ‘डेड जोन’ हटाउनेछ। प्राकृतिक विपत्तिका समयमा पनि यो सेवा राम्रो हुने उनको भनाइ छ।

“त्यसैले म आगामी दिनमा स्टारलिंक मोबाइललाई लिएर निकै उत्साहित छु,” उनले भनिन्।

स्पेसएक्सले स्थलीय मोबाइल सेवा सुरु गर्ने योजना बनाएको चर्चा पहिलोपटक जुनमा सार्वजनिक भएको थियो। त्यसबेला विस्तृत जानकारी दिइएको थिएन। तर गत वर्ष स्पेसएक्सले इकोस्टारबाट खरिद गरेको ६५ मेगाहर्ज स्पेक्ट्रम प्रयोग गर्ने अनुमान गरिएको थियो।

मस्क र शटवेलले अहिले योजनाबारे थप जानकारी दिएका छन्। तर यो योजना पूर्ण रूपमा विश्वसनीय देखिँदैन।

टेलिकम्स डटकमका अनुसार डीटुडी सेवा स्पेसएक्सका भी२ स्याटेलाइटमा आधारित हुनेछ। यी स्याटेलाइट आगामी वर्ष प्रक्षेपण गर्ने तयारी छ। इकोस्टारबाट प्राप्त स्पेक्ट्रमको सहयोगमा यी स्याटेलाइटले अन्तरिक्षबाटै ५जी गतिको सेवा दिने कम्पनीको दावी छ। भी२ स्याटेलाइटमा भी१ को तुलनामा १०० गुणा बढी क्षमता हुने बताइएको छ।

यसको वास्तविक डाटा गति कति हुनेछ भन्ने स्पष्ट छैन। तर स्पेसएक्सका स्टारलिङ्क इन्जिनियरिङका वरिष्ठ उपाध्यक्ष माइकल निकोल्सले मार्चमा आदर्श अवस्थामा अधिकतम १५० एमबीपीएससम्मको गति सम्भव हुने बताएका थिए।

मस्क र शटवेलले डीटुडी कभरेज विस्तार गर्न ठूला म्याक्रो सेल साइटको सट्टा छतमा राखिने फेम्टोसेल प्रयोग गर्ने योजना रहेको बताएका छन्।

मस्कले भने, “धेरै महँगा र स्थापना गर्न कठिन ठूला सेलुलर बेस स्टेसन बनाउनुपर्ने सट्टा हामी ठूलो संख्यामा साना स्टेसन स्थापना गर्न सक्छौं भन्नेमा हामी विश्वस्त छौं। यी मूलतः मोबाइल स्पेक्ट्रम ब्यान्डमा पनि कनेक्टिभिटी दिने स्टारलिंक डिशजस्तै हुनेछन् र विभिन्न स्थानमा राखिनेछन्।”

उनका अनुसार घर तथा व्यवसायका छतमा रहेका स्टारलिंक एन्टेनाले जमिनमा रहेका मोबाइल फोनलाई सीधै कनेक्टिभिटी दिन सक्छन्। यसबाट हालका मोबाइल सेवा प्रदायकको तुलनामा राम्रो र उच्च ब्यान्डविथको कनेक्टिभिटी उपलब्ध हुन सक्ने उनको दाबी छ।

तर यो योजना केही हदसम्म अव्यावहारिक देखिन्छ।

फेम्टोसेलको प्रयोग अहिलेसम्म ठूलो सफलता भएको छैन। म्याक्रो सेल साइटले गर्ने कामको विकल्पका रूपमा फेम्टोसेल प्रयोग गरिएको पनि छैन।

फेम्टोसेलले एकैपटक सीमित संख्यामा मात्र उपकरणलाई सेवा दिन सक्छ। यसको ट्राफिक सामान्यतया छुट्टै समर्पित लिंकको सट्टा ब्रोडब्यान्ड नेटवर्कमार्फत पठाइन्छ। कम शक्तिका कारण यसको कभरेज क्षेत्र पनि सानो हुन्छ। त्यसैले प्रभावकारी रूपमा प्रयोग गर्न फेम्टोसेलको स्थापना निकै योजनाबद्ध तरिकाले गर्नुपर्ने हुन्छ, जसले थप जटिलता र लागत बढाउँछ।

फेम्टोसेल मुख्यतः अतिरिक्त कभरेजका लागि प्रयोग हुने भएकाले अधिकांश भार भी२ स्याटेलाइटले नै धान्नुपर्ने देखिन्छ।

त्यसपछि स्पेक्ट्रमको प्रश्न आउँछ। मस्क र शटवेलले इकोस्टारबाट प्राप्त स्पेक्ट्रमलाई महत्त्व दिएका छन्। तर स्पेसएक्स वास्तवमै अमेरिकी ठूला तीन मोबाइल कम्पनीलाई चुनौती दिन गम्भीर छ भने थप स्पेक्ट्रम आवश्यक पर्ने सम्भावना छ।

६५ मेगाहर्जको मिड-ब्यान्ड स्पेक्ट्रम मूल्यवान सम्पत्ति हो। तर एटी एन्ड टी, टी–मोबाइल र भेरिजोनसँग रहेको स्पेक्ट्रमको तुलनामा यो निकै कम हो।

पोलिसीट्र्याकरको स्पेक्ट्रम डेटाबेसअनुसार टी–मोबाइलसँग ३७५ मेगाहर्ज स्पेक्ट्रम छ। एटी एन्ड टीसँग ३१४ मेगाहर्ज र भेरिजोनसँग २७९ मेगाहर्ज छ।

रुटमेट्रिक्सको पछिल्लो अमेरिकी मोबाइल बजार प्रतिवेदनअनुसार सन् २०२६ को पहिलो ६ महिनामा टी–मोबाइलको मध्य डाउनलोड गति ३९२ एमबीपीएस थियो। भेरिजोनको ३०२ एमबीपीएस र एटी एन्ड टीको २२८.७ एमबीपीएस थियो।

यी तीन कम्पनीबाट बजार हिस्सा लिन स्पेसएक्सले निकै स्थिर सेवा आकर्षक मूल्यमा उपलब्ध गराउनुपर्नेछ।

तर अहिले स्पेसएक्सले आफ्नो एआई व्यवसायको बढ्दो खर्च पनि व्यवस्थापन गर्नुपर्ने भएकाले सस्तो मोबाइल सेवा दिनु चुनौतीपूर्ण हुन सक्छ।

जुन ३० मा सकिएको तीन महिनाको अवधिमा स्पेसएक्सको आम्दानी ७.८ अर्ब डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो ४.१ अर्ब डलर थियो। यसमा सबैभन्दा ठूलो योगदान कनेक्टिभिटी अर्थात् स्टारलिंकको रहेको छ। स्टारलिंकको आम्दानी २.६ अर्ब डलरबाट बढेर ४.३ अर्ब डलर पुगेको छ।

एआईबाट भएको आम्दानी ७३ करोड ७० लाख डलरबाट बढेर २.६ अर्ब डलर पुगेको छ। नयाँ क्लाउड सेवा सम्झौताले पनि यसमा योगदान गरेको छ। ती सम्झौताबाट त्रैमासिक अवधिमा १.६ अर्ब डलर आम्दानी भएको थियो।

रकेट व्यवसायबाट भएको आम्दानी ७४ करोड ६० लाख डलरबाट बढेर ९६ करोड २० लाख डलर पुगेको छ।

समायोजित ईबीआईटीडीए १.२ अर्ब डलरबाट बढेर ३.५ अर्ब डलर पुगेको छ। यसको मुख्य कारण एआई र कनेक्टिभिटी व्यवसाय रहेको छ।

तर स्पेसएक्सको पुँजीगत खर्च भने एआई व्यवसायका कारण निकै बढेको छ। गत वर्षको दोस्रो त्रैमासिकमा कम्पनीको पुँजीगत खर्च २.८ अर्ब डलर थियो। यसपटक यो बढेर १८.४ अर्ब डलर पुगेको छ। त्यसमध्ये १५.८ अर्ब डलर एआईमा खर्च भएको थियो।

स्पेसएक्सको हालको नगद अवस्थालाई हेर्दा यो खर्चलाई बेवास्ता गर्न सजिलो हुन सक्छ। कम्पनीसँग जुनको अन्त्यमा ९४ अर्ब डलरभन्दा बढी नगद थियो। अघिल्लो वर्ष यो १५.१ अर्ब डलर थियो। तर त्यसको करिब ८५ अर्ब डलर आईपीओबाट आएको अनुमान गरिएको छ। सञ्चालन गतिविधिबाट आएको रकम भने ३.५ अर्ब डलर मात्रै थियो।

त्यसैगरी लगानी गतिविधिबाट भएको नगद बहिर्गमन, जसमा पुँजीगत खर्च पनि समावेश हुन्छ, ६ अर्ब डलरबाट बढेर ३४.५ अर्ब डलर पुगेको छ।

स्पेसएक्सले तत्काल थप सेयर जारी गर्ने योजना बनाएको छैन। एआई पूर्वाधार, स्याटेलाइट, रकेट र अब स्थलीय मोबाइल नेटवर्कमा ठूलो पुँजी आवश्यक पर्ने भएकाले खर्च उच्च रहनेछ। आम्दानीले यी खर्च धान्न नसक्ने अवस्थामा कम्पनीको नगद रकम तीव्र गतिमा घट्ने सम्भावना छ।

कनेक्टिभिटी स्पेसएक्सको सबैभन्दा व्यवहारिक व्यवसायका रूपमा देखिएको अवस्थामा मस्कले एटी एन्ड टी, टी–मोबाइल र भेरिजोनलाई चुनौती दिन खोज्नु स्वाभाविक देखिन्छ। तर राम्रो डीटुडी सेवा र त्यसमा फेम्टोसेल थपेर यी कम्पनीलाई चुनौती दिने योजना सही उपाय हो कि होइन भन्नेमा प्रश्न उठेको छ।

प्रकाशित: २३ श्रावण २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार