काठमाडौं ।
सशस्त्र प्रहरी बल नेपालको टोलीले गौर नगरपालिका–४ टिकुलियाबाट ५० लाखभन्दा बढी मूल्यका मोबाइलसँग सम्बन्धित सामग्री बरामद गरेको छ।
सशस्त्र प्रहरी र गौर भन्सार कार्यालयका प्रतिनिधि सम्मिलित विशेष टोलीले मङ्गलबार राति स्थानीय भोला साहको घरमा छापा मारी ती सामान बरामद गरेको हो।
विशेष सूचनाका आधारमा गएको सो टोलीले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको अवस्थामा मोबाइलसँग सम्बन्धित विभिन्न सामग्री बरामद गरिएको रौतहट जिल्ला सशस्त्र प्रहरी प्रमुख चेतराज जोशीले जानकारी दिए।
उनका अनुसार बरामद सामग्रीको अनुमानित मूल्य ५० लाख १४ हजार ५०० रहेको। यसैगरी, घटनास्थलबाट दुई थान मोटरसाइकल समेत बरामद गरिएको छ।
प्रहरीले बरामद गरिएका सामान तथा मोटरसाइकल गौर भन्सार कार्यालय, रौतहटमा बुझाएको र बरामद सामग्रीको स्रोत तथा यस प्रकरणमा संलग्न अन्य व्यक्तिका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।–रासस
प्रकाशित: ७ आश्विन २०८३, बुधबार