रियल टाइम बिलिङ प्रणालीका लागि नेपाल टेलिकमले खुलायो नयाँ टेण्डर

  • Technology Khabar | ७ आश्विन २०८३, बुधबार
रियल टाइम बिलिङ प्रणालीका लागि नेपाल टेलिकमले खुलायो नयाँ टेण्डर

काठमाडौं ।

नेपाल टेलिकमले भर्चुअलाइज्ड प्लेटफर्ममा कन्भर्जेन्ट रियल टाइम बिलिङ (सीआरटीबी) र ग्राहक समर्थन (सीएस) प्रणालीको आपूर्ति, डेलिभरी, स्थापना र कमिसनिङका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ।

टेलिकमले आज एक सूचना प्रकाशित गर्दै भर्चुअलाइज्ड प्लेटफर्ममा कन्भर्जेन्ट रियल टाइम बिलिङ (सीआरटीबी) र ग्राहक समर्थन (सीएस) प्रणालीको आपूर्ति, डेलिभरी, स्थापना र कमिसनिङ (Supply, Delivery, Installation and Commissioning of Convergent Real Time Billing (CRTB) and Customer Support (CS) System on Virtualized Platform)  का लागि बोलपत्र आह्वान गरेको हो। सार्वजनिक खरिद अनुगमन कार्यालयले २०८३/०५/११ मा जारी गरेको परिपत्रअनुसार विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) सञ्चालन स्थगित रहेकाले यसपटक हार्डकपीमार्फत सिलबन्दी बोलपत्र माग गरिएको छ।

सरकारी टेन्डर प्रकाशित गर्ने ईजीपी प्रणाली ह्याक भएपछि सरकारले साइबर सुरक्षा गर्ने भन्दै प्रणाली बन्द गरेसँगै टेलिकमले हार्डकपीमार्फत टेन्डर खुलाएको हो।

बोलपत्र प्रक्रिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (आईसीबी) अन्तर्गत सिंगल स्टेज, टु–इन्भेलप प्रक्रियाबाट हुनेछ।

बोलपत्र कागजातका लागि १ लाख रुपैयाँ (६६० अमेरिकी डलर वा ५७० यूरो) तोकिएको छ। त्यस्तै कुरियर सेवाका लागि २३ हजार रुपैयाँ (१५० अमेरिकी डलर वा १३५ यूरो) शुल्क तोकिएको छ। यस्तै बोलपत्र सुरक्षा रकमका रुपमा ९ करोड २ लाख ७६ हजार रुपैयाँ (५ लाख ८८ हजार अमेरिकी डलर वा ५ लाख १२ हजार यूरो) आवश्यक पर्नेछ।

यसै सम्बन्धमा बुझ्दा टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले टेक्नोलोजीखबरलाई भने, ‘विभिन्न कारणले यकिन रकम खुलाउन त मिल्दैन तर सुरक्षण रकम जम्मा रकमको २ देखि ३ प्रतिशत आसपास रहेको छ।’

बोलपत्रबारेको विस्तृत विवरण तत्काल कतै उपलब्ध छैन। टेन्डरको प्रारम्भिक डकुमेन्टहरु कहाँबाट हेर्न सकिन्छ भन्ने प्रश्नमा प्रवक्ता लामिछानेले तत्काल यो कतै नराखिएको र सम्बन्धित विभागलाई तयार पार्न लगाएर उपलब्ध गराउने जानकारी दिए।

अन्तरराष्ट्रिय संस्था संलग्न हुने भएकाले त्यस्ता संस्थाका लागि योग्यता तोक्दा यसपटिक गार्टनरको सूची/सिफारिसमा रहेको हुनुपर्ने प्रावधान राखिएको छ कि छैन भन्ने प्रश्नमा उनले राष्ट्रको सञ्चार भएकाले हालसम्मका सबै अनुभव र भोगाईहरुलाई मध्यनजर गरेर सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकेअनुसारको मापदण्ड राखेर बोलपत्र आह्वान गरेको बताए।

बोलपत्र बुझाउने अन्तिम म्याद अक्टोबर ३० अर्थात् आगामी असोज १४ गते दिउँसो १२ बजेसम्म रहेको छ भने सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ।

यसअघिको बिलिङ सिस्टमको टेन्डर नेपाल टेलिकमले क्यान्सिल गरेको थियो।

टेलिकमले टेन्डर प्रकृया शुरु गरेर करिब-करिब अन्तिममा पुगेको समयमा ९ महिनापछि २०८२ माघ ४ गते सार्वजनिक सूचनामार्फत बिलिङ सफ्टवेयर किन्ने प्रकृयानै रद्द गरेको थियो।

उक्त बिलिङ सिस्टम खरिद प्रकृया शुरुवात देखिनै विवादित रहेको थियो।

सफ्टवेयर खरिद प्रकृयामा एक मात्र योग्य कम्पनीमा चीनको ह्वावे टेक्नोलोजीज लिमिटेड छनोट भएको थियो। यसअघि प्राविधिक मूल्याङ्कन पछि चीनको ह्वावे टेक्नोलोजिज कम्पनी लिमिटेड मात्रै योग्य देखिएको र सो कम्पनीले पेश गरेको मूल्य प्रस्ताव खोलिने बताएसँगै बिलिङको टेन्डर थप विवादमा परेको थियो।

त्यसअघि १८ मार्च २०२५ मा ठेक्का आह्वान गरिएको थियो। उक्त आह्वानमा चिनियाँ कम्पनी ह्वावे र एचएल क्लाउड नामक दुई कम्पनीको मात्र प्रस्ताव पेस भएको थियो। सोही आवेदनमा कम्पनीले एचएल क्लाउडलाई अयोग्य र ह्वावेलाई योग्य भएको देखाएको थियो।

त्यसअघि पनि नेपाल टेलिकमले एउटा मात्र कम्पनी बिलिङ्गको टेण्डरमा आएको भन्दै टेन्डरनै रद्द गरेको थियो। त्यसबेला टेन्डरमा एक मात्र अमेरिकी कम्पनी सीएसजी इन्टरप्राइजेजको आवेदन परेको थियो। त्यसबेला पनि उक्त टेन्डर रद्द गरिएको थियो।

टेलिकमले कन्भरजेन्स रियल टाइम बिलिङ्ग एण्ड कस्टमर सपोर्ट सिस्टम नाममा निकालेको टेन्डर करिब ५ अर्ब रुपैयाँ बराबरको रहेको बताईएको छ।

सरकारले नेपाल टेलिकमलाई बिलिङ प्रणालीको ठेक्का टुक्र्याएर गर्न दबाब दिएको थियो। तर कम्पनीले भने यसअघिको जस्तै पूर्ण सिस्टमका लागि टेन्डर गरेको छ।

यसअघिको टेन्डरमा नेपाल टेलिकमले गार्टनरको सूचीमा रहेको हुनुपर्ने शर्तसहित आफ्नो सम्पूर्ण सेवाहरुको लागि बिलिङ प्रणाली खरिदको ठेक्का आव्हान गरेको थियो।

पुरानो टेन्डर डकुमेन्टकाअनुसार गार्टनरको सीएसपी रेभिन्यू म्यानेजमेन्ट एण्ड मनिटाइजेसन (आरएम एण्ड एम) सोलुसन्स् र सीएसपी कस्टमर म्यानेजमेन्ट एण्ड एक्सपेरियन्स (सीएम एण्ड एक्स) मार्केट गाइडमा सन् २०२१ यता कम्तीमा दुईपटक सूचीकृत भएको हुनुपर्ने अनिवार्य शर्त तोकिएको थियो।

गार्टनरको सूचीमा डिजिटल राउट, नेटक्र्याकर र ओराकल, म्याट्रिक्स सफ्टवेयर, सिङ्गल भ्यू, कमभिभा, एरिक्सन, माइन्ड, पोर्टावन, जियस, ह्वावे, कोमार्च, एमडक्स, सीएसजी, एरिया सिस्टम्स्, टेक्नोट्री, नोकिया, लाइफसाइकल, एसएपी, एशिया इन्फो लगायतका कम्पनीहरु सूचीकृत छन्।

सम्बन्धित समाचार-

नेपाल टेलिकमको बिलिङ सिस्टमको नयाँ ठेक्कामा प्रतिस्पर्धा गर्न गार्टनरको सूचीमा हुनुपर्ने शर्त

हाल खुलाईएको टेन्डरमा अमेरिकी डलरको मूल्य कति तोकिएको छ भन्ने विषयमा टेलिकमका एक अधिकारीले टेन्डर खुलाएको दिनको वा सम्झौता हुने दिनको डलर दरमा आधारित हुने दाबी गरे। यसको अर्थ कम्पनीले अहिलेको बिलिङ्ग सिस्टमको टेन्डर आजको अमेरिकी परिवर्त्य मूल्य करिब १५३ रुपैयाँ ८ पैसाको दरमा खुलाएको देखिन्छ।

तर कम्पनीले तोकेको टेन्डर सुरक्षण रकमको नेपाली र अमेरिकी डलरको तुलना गर्दा १५३ रुपैयाँ ५३ पैसाको आधारमा डलर रेट राखेको देखिन्छ।

यसअघिको टेन्डरको पुरानो कागजातमा डलरको मूल्य चार वर्षअघिको दर अर्थात ११७ रुपैयाँ तोकिएको थियो। जसले गर्दा त्यसबेला एक मात्र कम्पनी उक्त ठेक्कामा सहभागी भएको थियो।

बिलिङ प्रणालीको ठेक्का विवादित रहँदा र अत्यधिक चलखेल हुँदा करिब ३ वर्षदेखि कम्पनीलाई अत्यावश्यक भईसकेको सिस्टम खरिदनै हुन सकेको छैन्।

यसले गर्दा कम्पनीले वार्षिकरुपमा करोडौं रुपैयाँ घाटा बेहोरेको छ भने ग्राहकहरुले बेलाबेलामा प्राविधिक समस्याहरु भोग्दै आएका छन्।

नयाँ बिलिङ सिस्टम नआउँदा कम्पनीले दशकौं पुरानो बिलिङ सिस्टम मर्मतका लागि वार्षिकरुपमा चिनियाँ कम्पनी एसिया इन्फोलाई एएमसीको नाममा करोडौं रुपैयाँ तिर्दै आएको छ, जुन विवादित रहँदै आएको छ।

प्रकाशित: ७ आश्विन २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार