ताजा समाचार

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री
Global IME Bank

एक पाकिस्तानी अन्तरिक्ष यात्री चीनको ‘शेन्झोउ–२४’ अन्तरिक्ष यानको चालक दलमा सहभागी हुने भएका छन्। यससँगै उनी चीनको अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी नागरिक बन्नेछन्।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, चाइना म्यान्ड स्पेस एजेन्सीले ती पाकिस्तानी अन्तरिक्ष यात्रीले अन्तरिक्ष कक्षमा छोटो अवधिको उडान पूरा गर्ने जनाएको छ। त्यसपछि उनी ‘शेन्झोउ–२३’ अन्तरिक्ष यानमार्फत पृथ्वीमा फर्कनेछन्। यद्यपि, उडानको मिति भने सार्वजनिक गरिएको छैन।

यो मिसन चीनको मानवसहितको अन्तरिक्ष कार्यक्रमको इतिहासमा चिनियाँ र विदेशी अन्तरिक्ष यात्री सहभागी हुने पहिलो संयुक्त उडान हुनेछ ।

यसअघि यसै वर्ष सिन्ह्वाले जनाएअनुसार, दुई पाकिस्तानी अन्तरिक्ष यात्रीका उम्मेदवार मुहम्मद जीशान अली र खुर्रम दाउदले चिनियाँ समकक्षीसँगै तालिम सुरु गरेका थिए। उनीहरूमध्ये एक जनालाई छोटो अवधिको अन्तरिक्ष मिसनका लागि पेलोड विशेषज्ञका रूपमा छनोट गर्ने योजना रहेको बताइएको थियो ।

उक्त तालिममा अन्तरिक्ष यान सञ्चालनसम्बन्धी व्यावहारिक सीपका साथै चिनियाँ भाषाको गहन प्रशिक्षण पनि समावेश गरिएको थियो ।

यो उडान सन् २०२५ को फेब्रुअरीमा चीन र पाकिस्तानबीच भएको अन्तरिक्ष सहकार्यसम्बन्धी सम्झौताको हिस्सा हो ।

चीनले सन् २०३० सम्ममा चन्द्रमामा पहिलो पटक मानवसहितको अवतरण गराउने लक्ष्य राखेको छ । अन्तरिक्ष अन्वेषणमा चीनको प्रमुख प्रतिस्पर्धी अमेरिकालाई मानिन्छ। अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् २०२८ मा चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री अवतरण गराउने लक्ष्य राखेको छ। रासस/एपी

Sajilo Visa
easy care