गुगलको डाटा सेन्टरलाई लिएर अस्ट्रियामा विरोध प्रदर्शन

  • Technology Khabar | ७ आश्विन २०८३, बुधबार
गुगलको डाटा सेन्टरलाई लिएर अस्ट्रियामा विरोध प्रदर्शन

काठमाडौं ।

अस्ट्रियाको क्रोनस्टोर्फ सहरमा प्रस्तावित गुगलको डाटा सेन्टरले लगानी, रोजगारी र डिजिटल नक्सामा स्थान दिलाउने वाचा त गरेको छ, तर त्यहाँका बासिन्दाहरू भने यसप्रति विश्वस्त छैनन्।

उनीहरूले ५० हेक्टर (१२३ एकड) मा फैलिने उक्त परियोजनाको विरोधमा प्रदर्शन गरेका छन्। यो घटना ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को तीव्र विस्तारसँगै जोडिएका वातावरणीय तथा सामाजिक मूल्यबारे विश्वभर चलिरहेको बहसको एउटा प्रतिनिधि उदाहरण बनेको छ।

लिन्ज स्थित क्षेत्रीय सरकारको मुख्यालयबाहिर करिब ४०० मानिसहरू भेला भएको बेला, प्रदर्शनकी आयोजक क्रिस्टिना ग्रुबरले एएफपीलाई भनिन्, “मलाई लाग्छ, यो अनियन्त्रित वृद्धि र विस्तारका विषयमा हामीले पुनर्विचार गर्न आवश्यक छ।”

अपर अस्ट्रिया प्रान्तको क्रोनस्टोर्फ नजिकैको एमस्टेटेनमा बसोबास गर्ने ३८ वर्षीया स्वतन्त्र कलाकार तथा जल-पारिस्थितिकविद् ग्रुबर, जलवायु परिवर्तनमा एआईको प्रभाव र डाटा सेन्टरहरूलाई चिसो बनाउन प्रयोग हुने पानीको मात्रालाई लिएर चिन्तित छिन्।

उनले यस परियोजनामा ​​”पारदर्शिताको अभाव” रहेको भन्दै आलोचना गरिन् र स्थानीय बासिन्दाहरूलाई “उनीहरू यी विशाल डाटा सेन्टरहरूका लागि आफ्ना जलस्रोतहरू त्याग गर्न चाहन्छन्?” भनेर नसोधिएको गुनासो गरिन्। क्रोनस्टोर्फको जनसंख्या करिब ३,५०० छ।

डाटा सेन्टर क्षमताको मामिलामा युरोप संयुक्त राज्य अमेरिकाभन्दा निकै पछाडि भए पनि, यस महादेशभरि पहिले नै सयौं डाटा सेन्टरहरू सञ्चालनमा छन्। साथै, एआई र क्लाउड पूर्वाधारलाई सुदृढ पार्ने प्रयास स्वरूप थप धेरै डाटा सेन्टरहरू निर्माण गर्ने योजना पनि बनाइएको छ।

तर एआईको विस्तारसँगै यसमा विरोधका स्वरहरू पनि बढ्दै गएका छन्। यसै क्रममा स्पेनको आरागोन क्षेत्रका बासिन्दाहरूले समेत अमेजनद्वारा निर्माण गर्न लागिएको विशाल डाटा सेन्टरविरुद्ध कानुनी कारबाही अघि बढाएका छन्।

डच सहर एम्स्टर्डमले स्थान र विद्युतसम्बन्धी चिन्ताका कारण नयाँ डाटा सेन्टर निर्माणमा रोक लगाएको छ भने डेनमार्कले आफ्नो विद्युत ग्रिडमा पर्ने चापबारे चेतावनी दिँदै ग्रिड जडानका लागि डाटा सेन्टरहरूलाई प्राथमिकता सूचीको अन्तिम स्थानमा राखेको छ।

राजनीतिज्ञ र कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा शिलान्यास समारोह सम्पन्न भएपछि, अप्रिल महिनामा अस्ट्रियामा गुगलको पहिलो डाटा सेन्टरको निर्माण कार्य सुरु भएको थियो।

यो केन्द्र करिब ७० ओटा फुटबल मैदान बराबरको क्षेत्रफलमा निर्माण भइरहेको छ र यसको पहिलो चरण सन् २०२७ मा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

गुगलले यस परियोजनाको लागत खुलाएको छैन; उसले यसलाई केवल “महत्त्वपूर्ण लगानी” भनेर मात्र वर्णन गरेको छ।

अमेरिकी टेक कम्पनीका अनुसार, यो केन्द्रले क्लाउड र एआई सेवाहरूको बढ्दो मागलाई सम्बोधन गर्नेछ, करिब १०० प्रत्यक्ष तथा हजारौं अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ, र अस्ट्रियाको डिजिटल पूर्वाधार सुदृढ पार्न मद्दत गर्नेछ र स्थानीय दिगोपनसम्बन्धी पहलहरूमा योगदान पुर्याउनेछ।

गुगलका अनुसार उसका डेटा सेन्टरहरू विश्वमै सबैभन्दा बढी ऊर्जा-दक्ष मध्ये पर्दछन्; तर आलोचकहरूको तर्क छ कि उच्च दक्षता भएका केन्द्रहरूले पनि ठूलो परिमाणमा बिजुली र पानी खपत गर्न सक्छन्।

सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार, क्रोनस्टोर्फमा पहिलो चरणमै वार्षिक १.३१ टेरावाट-आवरसम्म बिजुली खपत हुन सक्छ, जुन करिब ३ लाख ७५ हजार घरपरिवारको वार्षिक खपत बराबर हो।

प्रकाशित: ७ आश्विन २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार