काठमाडौं ।
विभिन्न कम्पनीका ल्यापटप/कम्प्युटरको आधिकारिक आयातकर्ता तथा वितरक म्याक्स इन्टरनेशनले भन्सार छली गरेको तथा ग्राहक ठगी गरेको गंभिर आरोप लागेको छ।
म्याक्स इन्टरनेशनको सो कार्यका विरुद्ध हेलो सरकार र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा उजुरीसमेत परेको छ।
उक्त कम्पनीले डेलको कम्प्युटर आयात गर्दा भन्सारमा र उपभोक्ताला२ बिक्री गर्ने क्रममा फरक विवरण अर्थात् स्पेसिफिकेशन लेखेर ठगी गरेको भन्दै गत भदौ ५ गते गुनासो दर्ता भएको देखिन्छ।
उजुरीकर्ताले उजुरीमा म्याक्स इन्टरनेशनलले चीनमा बनेको सामान ‘१४ जेनको आईथ्री प्रोसेसर भएको कम्प्युटर आयात गरेको र एमआरपी अर्थात् अधिकतम खुद्रा मूल्यको लेबलमा १२ जेनको आई५ प्रोसेसर प्रिन्ट गरेर उपभोक्तासँग धोखाधडी गरेको अवस्था हो। नेपालको भन्सारको मिलेमतोमा यो सबै सम्भव भएको हो’ भन्ने उल्लेख गरेका छन्।
छानबिन गरियोस् भन्दै परेको उक्त उजुरीलाई हेलो सरकारले गत भदौ १५ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा पठाइसकेको छ। हेलो सरकारको पोर्टलमा भने उक्त उजुरी कारबाहीको ‘प्रक्रियामा’ रहेको देखिन्छ।
यो उजुरीबारेको प्रक्रिया कहाँ पुग्यो भन्ने टेक्नोलोजीखबरको जिज्ञासामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका गुनासो सुन्ने अधिकारी अर्जुन खड्काले उजुरी दर्ता भएपछि अनुगमनका लागि टोली पठाएको तर ठेगाना स्पस्ट नभएकाले फेला पार्न नसकिएको बताए।
उनले भने, ‘हेलो सरकारबाट गुनासो यता पठाएपछि प्रारम्भिक अध्ययन गरी अनुगमनका लागि टोली पठायौं। तर ठेगाना स्पस्ट नभएकाले फेला पार्न सकिएन।’
कुन पसल वा स्टोरबाट उक्त सामान किनबेच भएको भन्ने प्रस्ट नभएकोले अनुगमनको काम सम्पन्न हुन नसकेको उनको भनाई थियो। तर उजुरीकर्ताले उजुरीका साथमा संलग्न गरेको फोटोमा सम्बन्धित आयातकर्ताले बिक्री गर्दाको एमआरपी लेबलमा सम्बन्धित सामग्रीको स्पेसिफिकेशनसहित कम्पनीको नाम ठेगाना र फोन नम्बर र एक्जिम कोड स्पस्ट रहेको स्टिकर नै राखिदिएका छन्।
ती स्टिकरमध्ये दुबईबाट पठाइएको र भन्सारबाट छुटाईएकोमा उत्पादनको विवरणमा Dell Tower ECT 1250 Intel Ci3-14100/8GB/512GB छ भने बिक्रीका लागि राखिएको अर्को स्टिकरमा आयतकर्ताको पूर्ण विवरण र अधिकतम खुद्रा मूल्य लेखिएको स्टिकरमा सामग्रीको विवरण Desktop Dell ECT 1250 i5 12TH उल्लेख गरिएको छ।
यसरी हेर्दा कम्पनीले दुई तरिकाले गलत गरेको देखिन्छ। पहिलो Dell Tower ECT 1250 Intel Ci3-14100/8GB/512GB ब्राण्डेड डेस्कटप ल्याएर त्यसलाई बेच्नुअघि यसलाई आई फाइभ (Intel i5) मा अपग्रेड गरेको हो भने उक्त कम्प्युटर अब ब्राण्डेडबाट एसेम्बल्ड कम्प्युटर हुनपुग्यो। ब्राण्डेड मेशिनमा छेडखानी गरेर अर्कै रुपमा बेच्नु आफैंमा पनि ठगी हो।
यसले ब्राण्डेड सामग्री र उक्त ब्राण्डको साखमा पनि असर पुर्याउन सक्छ।
दोस्रो यदि कम्पनीले साँच्चै नै ब्राण्डेड आई फाइभ (i5) १२ जेनको कम्प्युटर ल्याएको र स्टिकरमा भने इन्टेल आई थ्री (Intel i3) लेखेको हो भने यो सोझै न्यून बीजकीकरणको कसुर हुन जान्छ। र यसमा कर छलीको मुद्दा लाग्न सक्छ।
अर्को कुरा सामान भन्सारमा राम्ररी जाँच गरेर मात्र त्यसको मूल्यअनुरुप लाग्ने कर निर्धारण र असूलीपश्चात मात्र बिलबीजकसहित सामान छोडिन्छ। भन्सार जाँचपासका क्रममा मिलेमतो नभई सामन्यतया: यस्तो सम्भावना हुँदैन।
यस विषयमा जानकार स्रोतकाअनुसार कम्पनीले लामो समयदेखि यसैगरी सामानहरु आयात र बिक्री गर्दै आएको छ। यसमा भन्सारका अधिकारीहरुको समेत मिलेमतो रहेको आशंका गरिएको छ।
“कि त कम्पनीले ग्राहकहरुलाई ब्राण्डेड कम्प्युटरको नाममा एसेम्बल गरेका सामानहरु महंगो मूल्यमा भिडाएर उपभोक्तालाई ठगी गरिरहेको हो। कि त भन्सारमा मिलेमतो गरेर न्यून बीजकीकरणको कार्य गरिरहेको हो,” स्रोतले भन्यो, “यी दुबैनै गैरकानुनी कार्यहरु हुन्।”
स्रोतकाअनुसार, म्याक्स इन्टरनेशनले सरकारी कार्यालयहरुमा समेत आफ्ना सामानहरु ठेक्कामार्फत उपलब्ध गराउँदै आएको अवस्थामा यस्तो कार्यलाई गंभिर मानेर छानबिन गरिनुपर्छ।
प्रकाशित: ७ आश्विन २०८३, बुधबार