काठमाडौं ।
इन्डोस्याटले ओरेडु ग्रुप, नोकिया र एनभिडियासँगको सहकार्यमा जन्कोर बाइ इन्डोस्याट सुरु गरेको छ। यसले १ गिगावाट एआई फ्याक्ट्री क्षमता विकास गर्ने लक्ष्य राखेको छ।
दक्षिणपूर्वी एसियामा एआई कम्प्युटिङको बढ्दो माग पूरा गर्ने र इन्डोनेसियालाई क्षेत्रीय एआई हबका रूपमा अघि बढाउने उद्देश्यसहित यो परियोजना अघि बढाइएको हो।
परियोजनाको लक्ष्य एनभिडिया डीएसएक्स एआई फ्याक्ट्रीको १ गिगावाट क्षमता विकास गर्नु हो। जन्कोर बाइ इन्डोस्याटले क्षेत्रकै ठूलो एआई पूर्वाधार प्लेटफर्ममध्ये एकको आधार तयार गर्ने र यसले ठूलो स्तरमा एजेन्टिक एआई तथा इन्टरप्राइज एआईको प्रयोगलाई अघि बढाउने बताइएको छ।
परियोजनामा ओरेडु ग्रुप मुख्य लगानीकर्ता रहेको छ। इन्डोस्याटले आफ्नो बजार नेतृत्व, डिजिटल पूर्वाधार र परियोजना कार्यान्वयन क्षमता उपलब्ध गराउनेछ। एनभिडियाले एक्सेलेरेटेड कम्प्युटिङ, एआई सफ्टवेयर र जीपीयू उपलब्ध गराउनेछ भने नोकियाले एआई–नेटिभ नेटवर्किङ प्रविधि उपलब्ध गराउनेछ।
“साझेदारहरूले विश्वव्यापी प्रविधि, क्षेत्रीय स्तर र स्थानीय कार्यान्वयन क्षमतालाई एकसाथ ल्याएर एसिया–प्रशान्त क्षेत्रमा एआई नवप्रवर्तनलाई तीव्र बनाउनेछन्,” कम्पनीहरूले बताएका छन्।
नोकियाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जस्टिन हटार्डले एआई भौतिक संसारमा विस्तार हुँदै जाँदा देश तथा कम्पनीहरूले सुरक्षित, विस्तार गर्न सकिने र विश्वसनीय सार्वभौम एआई क्षमता विकासमा ध्यान दिइरहेको बताए।
उनका अनुसार यसका लागि एआई फ्याक्ट्री, डाटा सेन्टर र एजमा कम्प्युटिङ, कनेक्टिभिटी र नियन्त्रणबीच बुद्धिमत्तापूर्ण समन्वय आवश्यक हुन्छ। नोकियाको एआई–नेटिभ नेटवर्किङ प्रविधिले नयाँ पुस्ताको एआई पूर्वाधारका लागि आवश्यक विश्वसनीय कनेक्टिभिटी उपलब्ध गराउने उनले बताए।
जन्कोरले सन् २०२७ को पहिलो छ महिनामा करिब २०० मेगावाट एआई क्षमता उपलब्ध गराउनेछ। यो एनभिडिया जीबी३०० एनभीएल७२ र एनभिडिया डीएसएक्स म्याक्सएलपीएसबाट सञ्चालन हुनेछ।
एनभिडिया डीएसएक्स म्याक्सएलपीएसले जीपीयूमा विद्युत् खपतलाई अनुकूलन गर्ने, प्रयोग हुन नसकेको विद्युत् क्षमता उपयोग गर्ने र कम्प्युटिङ क्षमता बढाउने बताइएको छ। यसले समान विद्युत् बजेटभित्र ४० प्रतिशतसम्म बढी कम्प्युटिङ क्षमता उपलब्ध गराउन सक्ने कम्पनीको दाबी छ।
एनभिडियाका टेलिकमसम्बन्धी वरिष्ठ उपाध्यक्ष रोनी वासिष्टाले एआई फ्याक्ट्री हरेक देश र उद्योगका लागि आवश्यक पूर्वाधार बन्ने बताए।
उनका अनुसार एनभिडियाको एक्सेलेरेटेड कम्प्युटिङ तथा खुला र सुरक्षित मोडलमा आधारित जन्कोर बाइ इन्डोसाटले दक्षिणपूर्वी एसियालाई आफ्नै दिगो एआई भविष्य निर्माण गर्न सक्षम बनाउनेछ। यसले विभिन्न उद्योगमा परिवर्तन ल्याउने र क्षेत्रभरका समुदाय तथा कम्पनीसम्म एआईको लाभ पुर्याउने उनले बताए।
इन्डोस्याट ओरेडु हचिसनका अध्यक्ष निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विक्रम सिन्हाले कम्पनीहरू एआई परीक्षणबाट महत्त्वपूर्ण व्यावसायिक प्रयोगतर्फ अघि बढिरहेको अवस्थामा उनीहरूलाई कम्प्युटिङ शक्तिभन्दा बढी एकीकृत एआई इकोसिस्टम आवश्यक पर्ने बताए।
उनका अनुसार साहाबत–एआईजस्ता मोडलदेखि एआई ग्रिड र एआई–आरएएनजस्ता बुद्धिमत्तापूर्ण नेटवर्क क्षमतासम्मको सम्पूर्ण एआई स्ट्याकलाई एकसाथ ल्याएर जन्कोर बाइ इन्डोस्याटले ठूलो स्तरमा एआई अपनाउन विश्वसनीय आधार उपलब्ध गराउनेछ।
परियोजना सञ्चालनका लागि सञ्चालक समिति पनि गठन गरिएको छ। ओरेडु ग्रुपका तर्फबाट अजिज अलुथमान फख्रु र थोमस चेभान, इन्डोसाट ओरेडु हचिसनका तर्फबाट विक्रम सिन्हा र विशाल गुप्ता तथा स्वतन्त्र सञ्चालकका रूपमा अरिजित रञ्जन सरकार रहेका छन्। उल्फ एवाल्डसन प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन्।
इन्डोस्याटले पछिल्लो समय एआईसँग सम्बन्धित ठूला कदम अघि बढाउँदै आएको छ। कम्पनीले यस वर्षको पहिलो त्रैमासिकमा हालसम्मकै उच्च त्रैमासिक आम्दानी गरेको थियो। त्यस अवधिमा कम्पनीको आम्दानी १५.२ ट्रिलियन इन्डोनेसियाली रुपिया पुगेको थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशत बढी हो।
कम्पनीले त्यतिबेला आम्दानी वृद्धिको मुख्य कारण आफ्नो एआई हाइपर–पर्सनलाइजेसन रणनीति रहेको बताएको थियो। यस रणनीतिले ग्राहकलाई अझ सान्दर्भिक, व्यक्तिगत र अर्थपूर्ण अनुभव उपलब्ध गराउने कम्पनीको भनाइ थियो।
इन्डोस्याटले यसै वर्ष साहाबत–एआई पनि सार्वजनिक गरेको थियो। यो इन्डोनेसियाली भाषा र स्थानीय सन्दर्भलाई अझ राम्रोसँग बुझ्नका लागि विकास गरिएको स्थानीय ठूलो भाषा मोडल हो।
प्रकाशित: २३ श्रावण २०८३, शनिबार