काठमाडौं ।
केही दिन अघि केही रिपोर्टहरूले एप्पलले चाङजिन मेमोरी टेक्नोलोजीज (सीएक्सएमटी) र याङ्त्जे मेमोरी टेक्नोलोजीज (वाईएमटीसी) बाट चिनियाँ र्याम प्रयोग गर्ने विचार गरिरहेको दावी गरेका थिए।
एउटा नयाँ रिपोर्टले कम्पनीले पहिले नै सीएक्सएमटीको डीर्याम चिपहरू परीक्षण गरिरहेको दावी गरेको छ। तर एप्पलले चीनमा बिक्री गरिने डिभाइसहरूको लागि मात्र चिनियाँ निर्मित र्याम प्रयोग गर्ने जीएसएमएरिनाले रिपोट गरेको छ।
यो कदम ट्रम्प प्रशासनबाट हुन सक्ने प्रतिक्रियालाई कम गर्ने तरिका हुन सक्ने बताइएको छ। अमेरिकी सरकारले चिनियाँ सेनासँग सम्बन्ध भएका कम्पनीहरूलाई पहिचान गर्ने आफ्नो इन्टिटी लिस्टमा सीएक्सएमटी र वाईएमटीसी दुवैलाई थप गरेको छ।
यी कम्पनीहरूसँग व्यापार गर्नु गैरकानूनी नभए तापनि यो एप्पलको लागि राम्रो नहुने उल्लेख गरिएको छ। एप्पलले केवल चीनमा बिक्री गरिने डिभाइसहरूको लागि चिनियाँ र्याम किन्ने हो भने सायद डोनाल्ड ट्रम्प बढी उदार हुन सक्ने उल्लेख गरिएको छ।
एआई डाटा सेन्टरहरूले गैर–चिनियाँ निर्माताहरूबाट उपलब्ध सबै आपूर्तिलाई खपत गरिरहेको कारणले गर्दा र्याम संकट खडा भएको उल्लेख गरिएको छ। यद्यपि, एप्पलले २०२२ देखि नै वाईएमटीसीबाट एनएएनडी चिपहरूको मूल्याङ्कन गरिरहेको रिपोर्ट गरिएको छ। त्यसैले क्युपर्टिनो कम्पनीले धेरै वर्षदेखि चिनियाँ मेमोरी बजारमा निश्चित रूपमा नजर राखेको छ।
प्रकाशित: २६ असार २०८३, शुक्रबार